राष्ट्रपतिलाई चिठी

सम्माननीय राष्ट्रपति बिद्या भण्डारीज्यू, 

सर्बप्रथम नेपालको इतिहासमा गणतान्त्रिक नेपालको पहिलो महिला राष्ट्रपति हुन सफल हुनुभएकोमा धेरै बधाई तथा तपाईको सक्रियताले नेपालको संविधान २०७२ को कार्यान्वयन हुनुका साथ नेपाली जनताले ढुक्कका साथ आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्न सकुन अनि सकौ भन्ने आशा तथा शुभकामना व्यक्त गर्दछु । यतिबेला हामी प्रवासमा बस्नेहरुका लागि पनि महिला सभामुख ओनसरी घर्तिमगरबाट नेपालको राष्ट्रपतिमा विद्या भण्डारी विजय हुनु भएको घोषणा गर्दा हाम्रो मुटु गर्वले फुलेको थियो । यतिबेला हाम्रो देश साच्चै नै नयाँ युगमा प्रवेश गरेको अनुभूति हामीले गरेका छौं । आजको एक्काइसौं शताब्दिमा पनि नेपाल वा विश्व जगतकै सन्दर्भमा राजनीति, सामाजिक वा अन्य क्षेत्रतिर महिला सहभागिता चामलमा बिया झैँ भैरहेको पाइन्छ ।

 तर, नेपालको सन्दर्भमा दुई नेपाली महिला नेतृहरु सर्वोच्च पदमा पुग्नु र म्यानमारमा हालै सम्पन्न भएको निर्वाचनमा प्रजात्रन्त्रबादी नेतृ आङ्ग साँङ सुचीले भारीमत ल्याएर विजयी भएको सत्यताले मन गर्वले प्रफुल्ल भएको छ। त्यस्तै २०१२ मा अमेरिकामा राष्ट्रपतिको लागि हुन गैरहेको चुनावमा विश्वकै चर्चित राजनैतिक नेतृ हिलारी क्लिन्टन जोडदारका साथ मैदानमा उत्रेकी छिन। यी प्रेरणाहरुबाट अब महिला नेतृत्वको बिकासले विश्वमा शान्ति स्थापना हुनेछ  भन्ने विश्वासमा दुईमत छैन । ब्रिटिश, भारत तथा पाकिस्तानका पुर्व प्रधानमंत्रीहरु मार्गेरेट थ्याचर, ईन्दिरा गान्धी र बेनजिर भुट्टोले आफ्नो नाम इतिहासमा लेखाइसकेका छन् । उनीहरु महिला भएरै पनि ऐतिहासिक एवं विश्व चर्चित व्यक्तित्वहरु हुन, जसले संसारकै महिलाहरुका लागि उदाहरण बनेर आफ्नो शासन चलाए । कुनै पनि कुरा थोरै हुनुमा जति बेफाईदा छ त्यत्ति नै बढी महत्व पनि छ हैन र ? 

यतिबेला हाम्रो देशको परिस्थिति सहज छैन । अप्रिल २४ को महाभूकम्पले थिलो थिलो पारेको देश नेताहरुको कम दुरदर्शिताले सार्वभौमसत्ता राज्य नेपालका ९०% प्रतिशत नेपाली जनताले जारी गरेको संबिधानमा भारतले आफ्नो प्रान्त झैँ संबिधान सुधारको शर्त राख्दै झण्डै तीनमहिना देखि अघोषित नाकाबन्दि गरिरहेको छ । यतिबेला नेपाली जनताको जनजीवन अस्तव्यस्त छ । देश र जनताको लागी नेता बनेकाहरू, देशलाई माया गर्छु भन्ने गैर आवासीयहरु, एउटा पार्टी र एउटा धर्मको लागि सडकमा ढुङ्गामुडा गर्न उत्रन सक्ने कतिपय नेता तथा जनताहरु देशको संकटमा खासै सक्रिय हुन सकेको देखिदैन । 

दैनिक जीवनको आधारभूत कुराहरू महिनौ महिनासम्म पनि नपाएर अमानवीयता सहनु परेको यो संकटकालीन स्थितिलाई विश्वव्यापीकरण गर्न नसक्नु र आन्दोलनकारीहरुसँग बार्ताबाट समस्याको समाधान गर्न सरकारले नसक्नुको रहस्य के होला राष्ट्रपतिज्यू ? 

निर्दोष नेपाली जनताले भोग्नु परेको यो दर्दनाक हालत देख्नुपर्दा सार्है दुःख लाग्छ । आफ्नो जन्मभूमी प्राण भन्दा प्यारो लाग्छ सबैलाई फेरिपनि अमेरिकाले दिएको स्वतन्त्रता र मानव अधिकारले खोलेको मेरो मनमा मेरो जन्म मानिसको रुपमा बल्ल भएको अनुभूति गर्दैछु । अमेरिका एउटा सानो संसार रहेछ, संसारभरका विभिन्न धर्म, बर्ण र संस्कारका मानिसहरु यहाँ भएर पनि यहाँको एकता अझ बलियो छ।  

चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बेड भनेजस्तै सबैको संगमले अमेरिकी एकतालाई बलियो बनाएको छ भने सबैको पहिचान, धर्म र संस्कारले यो देशलाई साच्चै धनी बनाएको रहेछ । यस देशले सबै धर्म जातजातिलाई बराबर ईज्जत, सम्मान, समान अधिकार तथा स्वतन्त्रता दिएर उनीहरुको लुकेको क्षमतालाई निकाल्ने अवशर दिदोरहेछ । "तिमी नै तिम्रो जीवनको मालिक हौ, तिम्रो बिचार यस संसारलाई बाड्ने माध्यम सिर्फ तिमी मात्र हौ” भन्ने कुरा यहि आएर बुझ्न सके मैले । विबाह पश्चात पनि पढ्न पाउने मेरो अधिकार रहेछ भन्ने कुरा ३० बर्षपछि यहिँ देशमा आएर बुझेकी थिए मैले । 

 जन्म दिने मेरी आमाको नाम अधिकारिक रुपमा यहिँ देशमा आएर लेखे । म को हु ? मेरो अस्तित्व के हो ? मेरो पहिचान के हो ? र मेरो कर्तव्य साथै अधिकार के रहेछ भन्ने कुरा यहि देशमा आएर बुझे । अरुको ईज्जत र प्रसंसा गर्नाले मन खुशी हुदोरहेछ र स्वतन्त्रता जीवनको पखेटा जस्तै रहेछ भन्ने कुरा पनि यहि आएर बुझे । नेपालमा हुँदा अमेरिकीहरु भनेको शक्तिको रवाफ दिने मान्छेहरु मात्र हुन् भन्ने लाग्थ्यो । तर, आज मैले बुझे, उनीहरुको सोँच र हाम्रो सोँचमा ठुलो अन्तर रहेछ । अमेरिकनहरु शक्तिको रवाफ दिने भन्दा पनि मानिसको ईज्जत गर्न जान्ने वाला रहेछन । 

राष्ट्रपति ज्यू, आज म यहि सोँच्दैछु । हामी नेपाली जनताले कहिले अनि कहाँ त्यस्तो अनुभव गर्न पायौं ? हामीलाई राज्यले आफ्नो मालिक तिमी आफै हौ भनेर कहिले सिकायो ? राज्यले नत त्यसको अनुभूति नै दिलायो । हामीले धेरै सिक्नु छ । लाग्छ, अहिलेसम्म हामीले त्यो अनुभूत नै गर्न पाएका छैनौ । 

राष्ट्रपति ज्यू, तपाइको पालामा कमसेकम दुर्गममा नेपाली महिलाहरुले सुत्केरी हुन नसकेर ज्यान गुमाउने अबस्थाको अन्त्य होस । मुगुकी एउटी महिलाले श्रीमानले दोस्रो श्रीमती ल्याएर पाखा लगाउँदा छोडपत्रको निवेदन लिएर अदालत धाउँदा पनि न्याए नपाएपछि कुलदेबतालाई गुहार्ने भन्दै दाम्लोले आफू तथा परिवालाई बाधेर ढुंगामाटोमा घस्रीएर कुल देवतासँग न्याय माग्नुपर्ने अबस्थाको अन्त्यहोस । 

एउटा बाबुले छोराछोरीको भोक मेटाउन नसकेर आत्महत्या गरेर मर्नुपरेको अबस्थाको अन्त्य होस । एउटी आमाले छोराछोरीलाई कम्मरमा बाँधेर नदीमा हाम फालेर इहलिला समाप्त पर्ने दिनको अन्त्य होस । एउटा सिटामोल समेत पाउन नसकेर जीवन गुमाउनुपर्ने अवस्थाको अन्त्य होस । अहिले यत्तिमात्रै आसा राख्छु राष्ट्रपतिज्यू तपाइबाट । फेरी अर्को चिठ्ठीमा आफ्ना गुनासाहरु निरन्तर पठाइरहुँला । आजलाई यत्तिकैमा बिदा लिन्छु । तपाईकी जनता बिष्णु गुरुङ ”एकता”अमेरिका।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com