एचआइभी सङ्क्रमित १३६ जनाले लिए एआरटी औषधि

पाल्पा मङ्सिर ०५,

युनाइटेड मिसन अस्पताल तानसेनबाट १३६ जना एचआइभी सङ्क्रमितले एआरटी सेवन लिदै आएका छन् । एआरटी नामक औषधि नियमित रुपमा सेवन गर्दा एचआइभी सङ्क्रमितलाई स्वास्थ्य रहन सहयोग गर्छ ।

एआरटी सेवन गर्नेमध्ये ७७ जना सङ्क्रमित महिला र ५९ जना पुरुष रहेका छन् । पाल्पामै एचआइभी जीवाणु परीक्षण (एआरभी)हुन थालेपछि सङ्क्रमितको पहिचान र उपचार सहज भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

जनस्वास्थ्यका अनुसार पाल्पा जिल्लामा चार वर्षअघि ८६ जना एचआइभी सङ्क्रमित रहेका थिए । उक्त सङ्ख्या बढेर गत वर्ष २३७ जना र यो वर्ष २६६ जना पुगेको छ । दुई सय ६६ जना सङ्क्रमितमध्ये ६६ जना एकल महिला छन् ।

बढ्दो वैदेशिक रोजगारी, सामाजिक चेतना र सङ्क्रमितलाई उपचार र सहयोगले समेत सङ्क्रमितहरू बाहिर आउने क्रम बढेको उनले बताए । यसअघि बालबालिका कम प्रभावित भए पनि पछिल्लो समयमा बालबालिकामा समेत एचआइभी सङ्क्रमण देखिएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com