बाँकी जीवन देश र जनताका लागि समर्पित गर्न चाहन्छु

कल्पना पौडेल ‘जिज्ञासु’, अध्यक्ष, इजरायल नेपाली एकता समाज 
(एक सङ्घर्षशील नारी व्यक्तित्वको नाम हो– कल्पना पौडेल ‘जिज्ञासु’ । साहित्य, समाजसेवा र राजनीतिको क्षेत्रमा सशक्त क्रियाशीलता जनाउँदै आउनु भएकी ‘जिज्ञासु’ रोजगारीका सिलसिलामा हाल इजरायलको तेलअबिवमा हुनु हुन्छ । पौडेल इजरायल नेपाली एकता समाजको अध्यक्ष, विश्व नेपाली साहित्य महासङ्घ इजरायल शाखाको सहसचिव र कल्पना फाउण्डेसन नेपालकी अध्यक्ष समेत हुनु हुन्छ । आफ्नो मातृभूमिदेखि धेरै टाढा प्रदेशी भूमिमा रहेर पनि उहाँले साहित्य, समाजसेवा र राजनीतिको माध्यमबाट नेपालको जनतान्त्रिक आन्दोलनलाई महत्वपूर्ण योगदान दिँदै आउनु भएको छ । 

बागलुङ जिल्लाको छिस्तीमा पिता टिकाराम र माता मनिकर्ण पौडेलको कोखबाट २०३२ बैसाख २९ गतेका दिन उहाँको जन्म भएको थियो । बुटवल वाणिज्य क्याम्पसबाट २०५२ सालमा आई.कम. सम्मको अध्ययन पूरा गर्नु भएकी पौडेल रक्तिमका गीत–सङ्गीत सुनेपछि राजनीतिप्रति आकर्षित हुनु भएको थियो । उहाँले क्याम्पस जीवनमै अखिल (छैठौँ) को सदस्यता लिए पनि विवाह पश्चात श्रीमानसँगै भारतको मद्रासमा रहँदा मूल प्रवाह नेपाली एकता समाजको महिला विभागका स्थानीय समितिहरूमा रहेर साङ्गठनिक यात्रा प्रारम्भ गर्नु भएको थियो । उहाँले क्याम्पस अध्ययनको कालदेखि नै साहित्यतर्फ पनि कलम चलाउन थाल्नु भएको थियो । २०६० सालदेखि उहाँ विभिन्न संस्था र एकल प्रयासमै पनि सामाजिक सेवाको क्षेत्रमा क्रियाशील हुन थाल्नु भयो । २०६३ सालदेखि रोजागरीको सिलसिलामा इजरायल पुग्नु भएकी ‘जिज्ञासु’ ले साहित्यको गजल विधामा कलम चलाउँदै आउनु भएको छ । उहाँका २ वटा एकल गजल सङ्ग्रह र संयुक्त सम्पादनमा ३ गजल सङ्ग्रह र २ मुक्तक सङ्ग्रह प्रकाशित छन् । 

नेपाली समाजमा सामन्ती संस्कृतिले थोपरिदिएको पितृसत्तात्मक सोचका विरुद्धमा कठिनतम सङ्घर्ष गर्दै अघि बढिरहनु भएकी पौडेल हालै नेपाल आएका बेला हामीले इजरायलमा कार्यरत प्रवासी नेपालीहरूको अवस्था, उहाँको आफ्नै साहित्यिक यात्रा र देशको पछिल्लो राजनैतिक अवस्था लगायतका विषयमा केन्द्रित रहेर विस्तृत कुराकानी गरेका थियौँ । प्रस्तुत छ, सोही कुराकानीका महत्वपूर्ण अंशहरू) 
० कल्पनाजी, इजरायल नेपाली एकता समाज कस्तो खालको सङ्गठन हो र यो कहिले गठन भएको हो ? 
– इजरायल नेपाली एकता समाज मूलभूत रूपमा सामाजिक सङ्गठन हो । यो रोजगारीका सिलसिलामा इजरायल पुगेका नेपाली कामदारको अभिभावकीय सङ्गठन हो । इजरायलमा कार्यरत नेपालीका बीचमा परस्पर भातृत्व बढाउने, त्यहाँ आइपर्ने समस्या मिलेर समाधान गर्ने, नेपालमा चल्ने जनतान्त्रिक आन्दोलनलाई सहयोग गर्ने लगायतका उद्देश्यका लागि एक वर्ष अघि मात्र सन् २०१४ मा हामीले यो सङ्गठनको स्थापना गरेका हौँ । यसको ११ सदस्यीय केन्द्रीय समिति छ । साथीहरूले मलाई अध्यक्ष्ँको जिम्मेवारी दिनु भएको छ । त्यहाँ कार्यरत रहेका सबै प्रवासी नेपालीलाई यसै सङ्गठनभित्र सङ्गठित गर्ने सोचका साथ हामीले यो सङ्गठनलाई अगाडि बढाइरहेका छौँ । 

० नेपालबाट इजरायल जाने कामदारले त्यहाँ कस्तो काम गरेका हुन्छन् ? 
– त्यहाँ गएर नेपालीले गर्ने काम भनेको केयर गिभर र फार्मिङको काम हो । नेपालबाट जाने प्रायः महिलाले केयर गिभरको रूपमा बृद्धबृद्धाको हेरचाह गर्ने काम गरिरहेका हुन्छन् । कृषिको क्षेत्रमा काम गर्ने पनि हुन्छन् । त्यो काम गर्नेमा पुरूषको सङ्ख्या बढी छ । 

० त्यसरी काम गर्दाका अप्ठारा कस्ता हुन्छन् ? 
– हेर्नुस,भन्दा बृद्धबृद्धाको हेरचाहको काम हो, तर त्यो काम त्यति सरल हुँदैन । बृद्धावस्थाका मानिसको हेरचाह गर्ने काम आफैमा अप्ठारो पनि हुन्छ । त्यसैमाथि भिन्दै भाषा, रहनसहन, बेग्लै संस्कृति, बुढाबुढीको चित्त बुझाउन सजिलो छैन । कतिपय प्यारालाइसिस भएका, कतिपय मानसिक सन्तुलन ठीक नभएका बृद्धबृद्धा पनि हुन्छन् । उनीहरूलाई औषधि उपचार गराउनेदेखि खाना खुवाउने, सुताउने, उठाउने, घुमाउने यहाँसम्म कि उनीहरूको दिसापिसाब समेत सफा गरिदिनु पर्दछ । कोठामा भिडियो क्यामरा जडान गरिएका हुन्छन् । आफ्ना आमा बाबाको राम्रोसँग हेरचाह गरे÷नगरेको सबै निगरानी अफिसबाट उनीहरूका छोराछोरीले गरिरहेका हुन्छन् । तर इजरायलमा एउटा राम्रो पक्ष के छ भने त्यसरी केयर गिभरको रूपमा काम गर्नेहरूलाई पनि त्यहाँ इज्जत र सम्मान गरिन्छ । तलब–सुविधा सबै सरकारी तवरबाट नै उपलब्ध गराइएको हुन्छ । त्यही हो– आफ्नो काम जिम्मेवारीपूर्ण ढङ्गबाट गर्नु पर्ने हुन्छ । बृद्धबृद्धाको सेवा गर्दा एक प्रकारको छुट्टै आनन्दको अनुभूति पनि भैरहेको हुन्छ । 

० इजरायल त एउटा द्वन्द्वग्रस्त मुलुक पनि हो । प्यालेस्टाइन र इजरायलका बीचमा बारम्बार लडाइँ भैरहेको हुन्छ । त्यो द्वन्द्वको असर तपाईहरूलाई कत्तिको परेको हुन्छ ? 
– किन नपर्नु, परेको हुन्छ नि ¤ कतिखेर बम खसेर घर ध्वस्त हुने हो ? त्यसको कुनै ठेगान हुँदैन । डर, त्रास र आतङ्कको वातावरण हुन्छ । तर त्यसबाट जोगिनलाई त्यहाँ पहिल्यै सतर्कता अपनाइएको हुन्छ । काम गर्ने प्रत्येक घरको जमिनमुनि बङ्कर बनाइएको हुन्छ । त्यस्तो बमवारी हुन लागेमा ठूलो आवाजमा साइरन बज्छ । त्यो साइरन सुनेपछि सबैजना त्यही बङ्करभित्र जानु पर्दछ । लैजान सकिने बृद्धबृद्धालाई लैजाने, उचाल्न नसक्नेलाई त्यही छाडेर आफू जाने गर्नु पर्दछ । त्यस्तो कार्यमा त्यहाँका मानिस अभ्यस्त भैसकेका छन् । फेरि इजरायल भनेर सबै ठाउँमा त्यही अवस्था छ भन्ने पनि होइन । विशेष गरेर गाजा क्ष्ँेत्र द्वन्द्वबाट बढी प्रभावित छ । 

० एउटा छुट्टै संस्कार र संस्कृति बोकेको देशमा पुगेर काम गर्न निश्चय पनि अप्ठ्यारो होला नै । कामदार नेपालीमाथि इजरायलीको व्यवहार कस्तो हुने गर्छ ? 
– इजरायलीबाट त्यस्तो कुनै नराम्रँे व्यवहार हुने गरेको छैन । उनीहरूले हामी जस्ता कामदारलाई सम्मानित नजरले नै हेर्छन् । कानुन एकदमै कडा छ । कसैले कुदृष्टिले हेर्‍यो भने त्यसका विरुद्धमा कम्प्लेन गरेमा ऊमाथि कडा कार्वाही हुन्छ । इजरायलीबाट त्यहाँ हामीलाई त्यस्तो कुनै खतराको महशुस हुँदैन । आफ्नो काम इमान्दारितापूर्वक र जिम्मेवारीपूर्ण तरिकाले गर्नु पर्‍यो । त्यहाँको नियम–कानुनको पालना गर्नु पर्‍यो । यति गरेपछि त्यस्तो कुनै डर त्रास मान्नु पर्दैन । त्यहाँ गएपछि उनीहरूकै संस्कृतिमा रम्ने भन्ने हुँदैन । त्यो मान्न कुनै करकाप पनि छैन । आफ्नो कामप्रति इमान्दार रहनु पर्‍यो, त्यत्ति हो । अरू बिग्रने, भत्कने कुरा त आफू अनुसार हुन्छ ।

० तपाईमा राजनैतिक चेतना कसरी जागृत भयो ? 
– हाम्रँे पुख्र्यौली घर बागलुङको छिस्ती हो । तपाईलाई पनि थाह छँदै छ, बागलुङ जिल्ला नेकपा (मसाल) को राजनैतिक प्रभाव राम्रो रहेको जिल्ला मानिन्छ । ब्राहम्ण जातको एक सम्पन्न परिवारमा जन्मिए पनि बाल्यकालदेखि नै जातपात, छुवाछूत जस्ता प्रथाप्रति म घृणा गर्थे । गरिब, मजदुर, दलितको पिरमर्का प्रति मेरो विशेष चासो रहने गथ्र्यो । दलितहरूलाई छोइछिटो गरेको देख्दा मैले प्रतिवाद गर्थें, दलितसँगसँगै बसेर खाना खान्थे । यसरी म मा स्वतस्र्फुतरूपमा साम्यवादी विचारको सोञ्च उत्पन्न भैरहेको रहेछ । मेरो दाजु पनि नेकपा (मसाल) निकटको राजनीतिमा हुनु हुन्थ्यो ।पछि हाम्रो परिवार बसाइँ सरेर रूपन्देहीको शङ्करनगरमा पुग्यो । दाजुले घरमा रक्तिमका क्यासेटहरू ल्याउनु हुन्थ्यो । त्यो सुन्दै जाँदा अन्याय, अत्याचार र शोषण दमनका विरुद्धमा लड्नु पर्छ भन्ने भावना जागृत हुँदै गयो । हाम्रो छिमेकमा हामै्र अङ्कलको छोरा मेरा सम्मानित दाजु देविप्रसाद पौडेल बस्नु हुन्थ्यो । उहाँको सामाजिक व्यवहार असाध्य राम्रँे थियो । उहाँ पनि नेकपा (मसाल) कै राजनीतिमा आवद्ध हुनु हुँदो रहेछ । उहाँको व्यवहार र प्रेरणाले पनि ममा राजनैतिक चेतना जागृत गराउन महत्वपूर्ण भूमिका खेलेको छ । 

० सङ्गठनमा रहेर खास गरी कस्ता कस्ता जिम्मेवारी निभाउँदै आउनु भयो ? 
– साङ्गठनिक जीवनमा मैले पाएको सबैभन्दा ठूलो जिम्मेवारी शायद यही नै होला, इजरायल नेपाली एकता समाजको अध्यक्ष । क्याम्पस पढ्दा २०५१÷५२ सालतिर अखिल (छैठौँ) मा सामान्य रूपमा सङ्गठित मात्र भइयो । २०५२ को माघमा विवाह भएपछि श्रीमानसँगै भारतको मद्रासमा गइयो । त्यहाँ रहँदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभन्न टोल, एरिया समिति र महिला विभागमा रहेर काम गरियो । नेपाल आइसकेपछि कतिपय व्यावहारिक समस्याका कारण रोजगारीका लागि इजरायलतिर लागियो । इजरायलमा रहेर पनि प्रवासी नेपालीलाई सङ्गठित गर्न आफ्नोतर्फबाट सक्दो प्रयत्न जारी राखेकी छु । 

० तपाई त एक साहित्यकार व्यक्ति, गजल विधामा लामो समयदेखि कलम चलाउँदै आउनु भएको छ । कसरी सुरू भयो यो तपाईको साहित्यिक यात्रा ? 
– साहित्यकार नैभन्दा पनि मैले आफूलाई साहित्यप्रति रूचि राख्ने एक अनुरागीका रूपमा लिने गरेकी छु । देश, काल, परिस्थिति र आफ्नै वरपर घटेका घटनाक्रम देखेपछि मनमा भावना सल्बलाउन थाल्छन् । ती भावनालाई गलजका माध्यमबाट अभिव्यक्त गर्ने प्रयत्न गर्दै आएकी छु । साहित्य विधामा यसरी कलम चलाउने प्रयत्न मैले क्याम्पस पढ्दादेखि नै गर्दै आएकी थिएँ । विभिन्न भावना मनमा सलबलाउन थालेपछि लेखिहाल्ने मलाई एक प्रकारले अब त बानी नै परिसकेको छभन्दा पनि हुन्छ । लेख्दै जाँदा साथीहरूले त्यसलाई पुस्तिकाको रूप दिने सुझाव दिनु भयो । २०६९ सालमा पहिलो गजल सङ्ग्रह “भावनाका भेलहरू” प्रकाशित गरेँ । अर्को गजल सङ्ग्रह “जून हराएको रात” २०७१ सालमा प्रकाशित भयो । तपाईहरूकै हाँक साप्ताहिक लगायतका अन्य पत्रपत्रिकामा पनि कैयौँ फुटकर गजल प्रकाशित भएका छन् । म संलग्न रहेर संयुक्त रूपमा सम्पादन गरिएका “हैसियत”, “प्रवासका अक्षरहरू” र “सगरमाथादेखि मृत सागरसम्म” लगायतका गजल सङ्ग्रह, “मुक्त आकास” र “कोशेली” लगायतका मुक्तक सङ्ग्रह पनि प्रकाशित छन् । नेपाली विश्व साहित्य महासङ्घ इजरायल शाखाको सहसचिवमा रहेर पनि साहित्यिक क्ष्ँेत्रमा सक्दो योगदान दिने प्रयत्न गर्दै आएकी छु । 
० खास कस्तो वातावरणले तपाईलाई लेख्न प्रेरित गर्दछ ? 
– मेरा लागि लेख्न खास यस्तै वातावरण चाहिन्छ भन्ने छैन । एकदमै खुशी भएको अवस्थामा होस् या तनावपूर्ण अवस्थामा मैले प्रायः गजल कोरेर नै आफ्ना भावनालाई प्रस्फुटन गराउने गरेकी छु । लेख्दा मधुर स्वरमा सेन्टिमेन्टल गीतहरू सुन्ने गर्छु । साथीभाइ र शुभचिन्तकको प्रेरणा र हौसलाले गर्दा लेख्न झनै अभिप्रेरित गरिरहेको हुन्छ । 

० तपाई त समाजसेवामा पनि क्रियाशील देखिनु हुन्छ, कसरी सुरू भयो यो समाजसेवाको यात्रा ? 
– म जुन राजनैतिक गाइडमा हुर्किरहेकी थिएँ, सायद यसैकारण हो कि गरिब, दीन–दुःखी, असहाय बालबालिका देख्दा उनीहरूप्रति दयाभाव जागेर आउथ्यो । मनमा यिनीहरूका लागि मैले जीवनमा केही गर्नु पर्छ भन्ने भावना उत्पन्न हुन्थ्यो । २०६० सालतिरबाट हुनु पर्छ, मैले सामाजिक सेवाको क्षेत्रमा पनि हात हालेको । हाम्रँे बसाइँ नारायणगढसँग सीमा जोडिएको नवलपरासीको गैँडाकोटमा थियो । नारायणगढ बजारमा देखिने अनाथ बालबालिकालाई बटुलेर आफ्नै खर्चमा एउटा छाप्रो बनाई नारायणगढ बजारको सब्जीमण्डी पछाडि पढाउने काम गरेँ ।पछि रोजगारीको सिलसिलामा म इजरायलतिर लागेपछि ती अनाथ बालबालिकालाई दियालो परिवार भन्ने संस्थाको जिम्मामा दिएँ ।पछि २०७० सालबाट त कल्पना फाउन्डेसन नामक संस्था नै स्थापना गरेर गरिब, दीन–दुखीको सक्दो सेवा गर्ने प्रयत्न गर्दै आएकी छु । अस्ति भर्खर मात्र यही संस्थाकातर्फबाट नवलपरासी गैँडाकोटस्थित श्री विजय निमाविमा कक्षा १ र ३ मा अध्ययनरत गरिब तथा विपन्न वर्गका २ जना बालकलाई छात्रवृत्ति दिने काम भएको छ । त्यस विद्यालयको निर्माणमा पनि मैले सक्दो सहयोग गरेकी थिए । यो छात्रवृत्ति वार्षिक रूपमा दिँदै जाने घोषणा गरेकी छु । त्यसभन्दा अघि चितवनमा चेपाङ बालबालिकाको स्कूल निर्माणमा र गोरखाको दुलुड्डवासी भुकम्प पीडित बालबालिकाहरूलाई झोला, कपि कलम लगायतका सामाग्री सहयोग गरिएको थियो । यसरी सहयोग गर्न पाउँदा मलाई एकप्रकारको सन्तुष्टि मिलिरहेको छ । 
मेरो विचारमा सामाजिक सेवाको क्षेत्र राजनैतिक क्षेत्रकै सबैभन्दा महत्वपूर्ण पाटो हो । हामीले सिकेको राजनीतिले त्यही बताउँछ । तर विडम्बना ¤ नेपालमा प्रमुख भनिने पार्टीहरूको चर्तिकला देख्दा राजनीति सेवाभन्दा पनि व्यापारको क्ष्ँेत्र बनिरहेको छ । 

० राजनीति, समाजसेवा र साहित्यको यो यात्रामा अघि बढ्दा कस्ता कठिनाइँको सामना गर्नु परेको छ ? पारिवारिक रूपमा त राम्रै सहयोग मिलेको होला नि, होइन ? 
–हाम्रो जस्तो सामन्ती संस्कृतिले जकडिएको देशमा एक महिला चुलो चौकोबाट बाहिर निस्किएर सामाजिक काममा जब अग्रसर हुन्छे उसले ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ । साहित्य, सामाजिक संस्था र राजनैतिक सङ्गठनका माध्यमबाट समाज, दीन–दुखी र देशको सेवा गर्ने काम हाम्रँे जस्तो सामन्ती संस्कृतिले जकडिएको समाजमा एउटा कठिनतम कार्य रहेछ । एउटी नारीलाई स्वतन्त्रतापूर्वक सामाजिक र राजनैतिक क्ष्ँेत्रमा क्रियाशील हुन अनेकन कठिनाइँको सामना गर्नु पर्दो रहेछ । पितृसत्तात्मक सोचले हाम्रँे समाजमा यति नराम्रोसँग जरा गाडेको रहेछ कि मानिसको दिमागबाट त्यसलाई हटाउने कार्य निकै जटिल रहेछ । त्यसको प्रत्यक्ष अनुभूति मैले पनि धेरै नजिकबाट गरिरहेकी छु । प्रायः मान्छे जे बोल्छन् र आवरणमा जस्तो देखिन्छन् भित्री रूपमा पनि सम्पूर्ण रूपमा त्यस्तै नहुँदा रहेछन् । नारीलाई चुलोचौकोभित्रै कैद गर्न खोज्ने, उनीहरूलाई पुरूषकै दासी सम्झने सामन्ती प्रवृत्तिको वर्चश्व रहेको समाजमा यो समाजसेवाको यात्रा अघि बढाउन निकै कठिन त छ, तर म त्यो पितृसत्तात्मक सोचसँग सम्झौता नगर्ने अठोटका साथ नै अघि बढिरहेकी छु । मैले दृढ निश्चय गरेकी छु– म यो यात्रामा अविचलित रूपमा लागिरहने छु । तपाईको यो प्रश्नका सन्दर्भमा जनगायक जीवन शर्माको सङ्गीतमा निलिमा पुनजीको शब्द र स्वर रहेको रक्तिमको पुरानो एक गीतका शब्दहरू सापटी लिन चाहेँ– 
–मुखमा मात्र रामराम रै’छ बगलीमा छुरा 
–बुझिसक्यौँ यस्तै रै’छन् पुरूषका कुरा 
–म त तिम्रो अवला होइन न त तिम्रो भान्से 
–यसै युगकी नारी हुँ म स्वाभिमानी मान्छे...... 
० देशमा संविधान सभाबाट नयाँ संविधान निर्माण भएको छ, यसलाई कसरी लिनु भएको छ ? 
– लामो समयदेखिको अन्यौलतालाई चिर्दै देशमा जसरी संविधान निर्माण गरिएको छ, यसलाई हामीले सकारात्मक रूपमा नै लिनु पर्दछ । संविधान सभाबाट संविधान निर्माणसँगै आफैले चुनेका प्रतिनिधिबाट देशको संविधान बनाउने नेपाली जनताको ६५ वर्षदेखिको सपना पूरा भएको छ । लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको छ । नेपाली जनतामा बल्ल सार्वभौमसत्ता निहित हुन पुगेको छ । देशलाई विकास र समृद्धितर्फ अगाडि बढाउन अब मार्गप्रशस्त भएको छ । यो कुनै पनि नेपालीका लागि खुशीको विषय हो र हुनुपर्दछ । तर यस संविधानमा पनि कैयौँ कमी–कमजोरी छन्, जसलाई भोलिका दिनमा सच्चाउन सकिएन भने त्यो देश र जनताका निम्ति निकै घातक सिद्ध हुने छ । 

० कस्ता कमजोरी देख्नु भएको छ नयाँ संविधानमा ? अलि प्रष्ट पारिदिनोस् न । 
– पहिलो कुरा त यो संविधानले सङ्घीय प्रणालीलाई आत्मसात गरेको छ, जब कि हाम्रो जस्तो भौगोलिक रूपमा यति सानो देश, आर्थिक हिसाबले यस्तो विपन्न देश, विविध संस्कृति र जात÷जाति रहेको देश, यस्तो देशमा सङ्घीय प्रणाली आवश्यक नै थिएन । सङ्घीय व्यवस्था कुनै पनि कोणबाट नेपाल जस्तो देशमा सुहाउने प्रणाली होइन । सङ्घीयताले देशमा जातीय, क्ष्ँेत्रीय द्वन्द्व बढाउने छ र अन्ततः देशलाई राष्ट्रिय विखण्डनको स्थितिमा पुर्‍याउने छ । नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले सङ्घीयताका सन्दर्भमा शुरुदेखि भन्दै आएका कुराहरू घटनाक्रमहरूले प्रमाणित गर्दै आएका छन् । 

सङ्घीयताका दुष्परिणामका झलकहरू देशमा देखिएका पनि छन् । त्यसकारण नेपाली जनताले यो सङ्घीय प्रणालीलाई खारेज गर्नै पर्दछ । अर्को कुरा यो संविधानले हामी जस्ता प्रवासी कामदार नेपालीका मागलाई बेवास्ता गरेको छ । प्रवासी नेपालीको मताधिकारलाई यो संविधानले ग्यारेन्टी गर्न सकेको छैन । प्रवासी नेपालीकातर्फबाट नेपालको संसदमा प्रतिनिधित्वलाई सुनिश्चित गर्न सकेको छैन । हामी जस्ता कामदार प्रवासी नेपालीले आफूले काम गरेकै स्थानबाट नेपालमा हुने राष्ट्रिय निर्वाचनमा मतदान गर्न पाउने र आफू पनि चुनिन पाउने अधिकार संविधानमा सुनिश्चित गरिनु पर्दथ्यो । तर संविधानले हामीलाई त्यो अधिकार दिएको छैन । महिला र दलितका लागि प्रत्यक्ष निर्वाचनतर्फ विशेष आरक्षित क्ष्ँेत्र बनाउनु पर्दथ्यो । कुनै खास क्षेत्रमा हरेक पार्टीले महिला उम्मेदवार मात्र उठाउने हो भने जसले जिते पनि महिलाले नै जित्ने थिए । त्यस्तै दलित जातिका सन्दर्भमा पनि हुनु पर्दथ्यो । तर त्यसो हुन सकेको छैन । संविधानमा बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई हदैसम्मको कडा कार्वाहीको व्यवस्था गरिनु पर्दथ्यो । महिला हिंसामा संलग्नहरूलाई कडा कार्वाही गरिने स्पष्ट उल्लेख गरिनु पर्दथ्यो ।अर्को कुरा, नागरिकताका सम्बन्धमा संविधानमा रहेको खुकुलो प्रकारको व्यवस्थाले देशलाई फिजीकरणको दिशामा लैजाने सम्भावना पनि उत्तिकै छ । यी लगायतका अन्य कैयौँ कमजोरी संविधानमा रहेका छन् । ती कमजोरीलाई संशोधन मार्फत संविधानमा सुधार गर्दै अघि बढ्नु पर्दछ । 

० के छन्, इजरायल नेपाली एकता समाज र तपाईका भावी योजना ? 
– प्रदेशिनु हामी कसैको पनि रहर होइन, बाध्यता हो । देशभित्रै रोजगारीको अवसर पाएको भए, आफ्नो मातृभूमि छोडेर यसरी विरानो भूमिमा हामी कसैले पनि आफ्नो रगत र पसिना बगाउनु पर्ने थिएन । इजरायलमा साङ्गठनिक गतिविधि अगाडि बढाउन अलिक अप्ठ्यारो नै छ । तर पनि हामीले बढीभन्दा बढी प्रवासी कामदारलाई एकता समाजभित्र समेट्ने देशको अवस्थाबारेमा उनीहरूलाई बुझाउने र देशभित्रै फर्किएर देशको मुहार बदल्ने अभियानमा सरिक गराउने प्रयत्न गरिरहेका छौँ । म आफू पनि अब एक वर्षभन्दा बढी इजरायलमा रहदिनँ । मैले त अठोट गरिसकेकी छु– साहित्य र राजनीतिको माध्यमबाट दिन दुःखी र समाजको सेवा गरिरहने छु । आजसम्म आफू र परिवारका लागि जति गरियो–गरियो, अबको बाँकी जीवन सम्पूर्ण रूपमा देश र जनताकै लागि समर्पित गर्न चाहन्छु । स्वदेश फर्किएपछि पनि सामान्य जीवन गुजाराका निम्ति केही त गर्नु पर्ला । तर मूल रूपमा मेरा लागि धन–सम्पत्ति ठूलो कुरा होइन । म साङ्गठनिक काममा नै क्रियाशील रहने छु । 
अन्त्यमा तपाईले भन्न चाहेका त्यस्ता केही कुरा छन् कि ? 
– संविधान सभाबाट नयाँ संविधानको निर्माण पश्चात् देश नयाँ युगमा प्रवेश गरेको छ । यो संविधान पनि पूर्ण छैन । यसमा पनि काफी सुधार गर्नु पर्ने आवश्यकता छ । तर देशमा यो संविधान नै लागु हुन नदिन देशी–विदेशी शक्तिकेन्द्र जसरी लागिपरेका छन्, त्यसलाई नेपाली जनताले एकजुट भएर परास्त गर्नै पर्दछ । पछिल्लो समयमा विस्तारवादी हस्तक्षेपका विरुद्धमा नेपालका प्रायः राजनैतिक दल र नेपाली जनतामा जुन अभूतपूर्व एकता देखा परेको छ, यो निकै खुशीको विषय हो । नेपाली जनतामा स्वाधीनताका पक्षमा देखिएको यो ऐक्यवद्धताले नयाँ युग साँच्चै नै सुन्दर हुने सङ्केत पनि गर्दछ । देश–विदेशमा रहेका सम्पूर्ण देशभक्त नेपालीलाई म यही आग्रह गर्न चाहन्छु– राष्ट्रिय स्वाधीनताका पक्षमा देखिएको यो ऐक्यवद्धतालाई हामीले जारी राख्न सक्यौँ भने नेपाललाई आफ्नो गुलाम बनाउने भारतीय विस्तारवादको गुरूयोजना अवश्य चकनाचुर हुने छ ।

समाजमा महिला र पुरूषका बीचमा अझै पनि गहिरो खाडल विद्यमान छ । सामाजिक कार्यमा अग्रसर भएका महिलालाई घर परिवार र समाजले सही मूल्याङ्कन गरी नारी भावनाको कदर गरिदिए धेरै महिलाहरू सामाजिक कार्यमा अग्रसर हुन सक्ने थिए । हामी सबैले त्यसका लागि आ–आफ्नो ठाउँबाट पहल गरौँ । आफ्ना लागि मात्र त सबैले गरेका हुन्छन्, जसले दिन दुःखी र असाह्यहरूका लागि आफ्नो पसिना सामाजिक कार्यमा खर्चिन्छ वास्तवमा सच्चा मानव त्यही नै हो ।

– अन्त्यमा, आफ्ना भावना र विचार राख्ने अवसर दिनु भएकोमा म तपाई लगायत सम्पूर्ण हाँक साप्ताहिक परिवारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । हाँक साप्ताहिकसँग मेरो भावनात्मक सम्बन्ध गाँसिएको छ । देश र शोषित–पीडित जनता पक्षमा हाँकले जसरी आवाज उठाउँदै आएको छ, यो निकै प्रशंसनीय र सराहनीय छ । म यो पत्रिकाको निरन्तरता र सफलताको कामना पनि गर्दछु ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com