ओनसरी घर्तीमगर सभामुखमा निर्विरोध निर्वाचित

 तस्वीर: बिक्रम राई
काठमाण्डौ असोज २९,

ओनसरी घर्तीमगर सभामुखमा निर्विरोध निर्वाचित भएकी छन् । नेमकिपाकी सांसद अनुराधा थापाले उमेद्वारी फिर्ता लिएपछि ओनसरी घर्ती निर्विरोध सभामुखमा निर्वाचित भएकी छिन् । 

घर्तीलाई सत्तारुढ दलहरुले उमेद्वार बनाएका थिए । घर्ती यसअघि उपसभामुख थिइन । उनलाई प्रतिपक्ष दल नेपाली कांग्रेसको समेत समर्थन थियो । २० बर्षमा छापामारदेखि सभामुखसम्म संसदीय व्यवस्थाको चर्को विरोध गर्दै बन्दूक उठाएकी माओवादी पूर्व लडाकु ओनसरी घर्ती (३७) झण्डै दुई दशकपछि त्यही संसदीय अभ्यास गर्ने संसदको सभामुख बन्न पुगेकी छन् । 

रोल्पाको जंकोटमा २८ कार्तिक २०३४ मा बुवा प्रसाद घर्तीमगर र आमा नौमतीको कोखवाट जन्मिएकी ओनसरी सामान्य किसान परिवारमा हुर्किएकी हुन् । २०४६ साल देखि राजनीतिमा लागेकी घर्तीले सशस्त्र विद्रोहको क्रममा विभिन्न जिल्लामा, विभिन्न मोर्चा सम्हालेकी थिईन् । 

माओवादी विद्रोहको सुरुवात भएकोदिन १ फागुन २०५२ मा रोल्पाको होलेरी आक्रमणमा संलग्न दुई महिलामध्ये ओनसरी(१८) एक थिइन् । रोल्पाको होलेरीबाट सुरु भएको उनको छापामार विद्रोहको यात्रा २०६१ को अन्त्यतिर सिन्धुपाल्चोकको चौतारा आक्रमणमा आएर टुंगिएको थियो । शान्तिप्रक्रियापछि पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् रहेकी घर्ती दोस्रो संविधानको चुनावमा रोल्पा क्षेत्र नं. २ वाट विजयी भएकी थिइन् । 

संविधानसभा÷व्यवस्थापिकामा उप–सभामुखको महत्वपूर्ण भूमिका निर्वाह गरेकी ओनसरी रुपान्तरित संसदको सभामुख बनेकी हुन् । माध्यमिक तह सम्मको अध्ययन पुरा गरेकी ओनसरीलाई छापामार, सभासद्, मन्त्री,संविधानसभा÷व्यवस्थापिकाको उप–सभामुख हुँदै रुपान्तरित व्यवस्थापिका संसदको सभामुख हुने मौका जुरेको छ ।  _स्रोत-हिआल खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com