व्हिल चेयर, उनि र ऐना !

म हस्ताक्षर गरिदिन्छु . . .
तँ कहिल्यै बुडो नहुनु .....
सधैं यस्तै जवान रहिरहनु . . .
तर यो कहाँ सम्भव छ  र !
प्रकृतिको नियम बिरुद्ध कसैले केहि गर्न सक्दैन . . . स्विकार्न बाहेक ...

९२ औं वसन्तमा हिडिरहेकी उनि (हाना) आँखामा जागल आउने बाहेक हरेक विहानको ब्रेकफास्ट पछि उनि यसैगरी आफुलाई श्रिङ्गार्छिन ... उसै गहुँगोरो छाला यो उमेर मा पनि उनीलाई चिटिक्क पर्नु पर्छ , फिका गुलावी ओठमा रातो लिपस्टिक, घाँटीमा प्रत्येक दुइ दिनमा अर्को स्कार्फ बेर्नु , नसाले भरिएर र चाउरी परेका हातमा बाइस क्यारेक्ट सुनको ७/८ ओटा चुरा अनि हेयर स्प्रे गरि कपाल सपक्क मिलाउनु यति गरिसकेपछि अब व्विल चेयर मा बस्नु पर्दाको तितो पीडा त उनै जानुन म मात्र अनुभूत गर्न सक्छु . . . यथार्थलाई अलि स्विकार्न थालिन क्यारे गुनासा अलि कम छ तर बन्द भएको भने छैनन् . . .

म हेर्दै  हेर्दिन यो ऐना , जसमा म मेरो कुरूप्ता देखुँ अँह म त्यो हेर्दिन, हेर्न चाहन्न . . . के के हो हो गन गन उनको .... . . . कति सुन्नु चौबिसैं घण्टा म वाक्क हुन्छु , वास्ता गर्दिन तर नसुनी पनि धर छैन ...

यो हरेक दिन हैरान पार्ने गीत आफ्नो योवन सम्झेर झन् कुटुक कुटुक हुन्छिन उनि ... . . आफ्नै स्मरण शक्ति ठिक हुनु पनि श्राप साबित भएको छ उनलाई अचेल , कमसे कम स्मरण शक्ति हराए त यी दुर्गति देख्नु पर्ने थिएँन भन्छिन उनि ।

यसरि नै उनि अचेल ऐना हेर्न मान्दिनन , म चुपचाप , निरुत्तर उभिन्छु . . .
फेरी माग्छिन दिन्छु , पुनः उस्तै गन गन , , , सुन्छु दाहिने कानले अनि सोझै बाहिर फाल्छु देब्रे कानले ... यसरि डिलिट नगरे २४ घण्टा त के २ घण्टा मै दिमाग ह्याङ्ग हुन्छ, के गर्नु ल्याप टप जस्तरी रि-स्टार्ट गर्न नमिल्ने यसैले शब्द रुपी कचेरा तुरुन्त घुइक्ययेर माइन्ड वाश गरिरहनु पर्छ . . . यो नै एक उपाय हो ।

 मेरो के भनुँ भनुँ को भाव देखेर उनि भन्छिन तैले केहि भन्नु पर्दैन । मलाइ था छ यसको उत्तर तँ सँग छैन । म चाहेर पनि हाँस्न सक्दिन न त बोल्न नै , परिस्थिति पचाउने सानो मुस्कान दिन्छु म ।  स्थिति वाक्क न बक्कको हुन्छ । उनि पुनः तेहीं ऐना माग्छिन म दिन्छु र हेर्छिन दोर्यायेर (चित्त कहाँ बुझेको छ र नहेरी ) हेर्छिन आफ्नो चेहरा अनि फेरी सुरु हुन्छ तेहीं क्रम बद्ध गीत . . . ऐनामा आफैं लाइ थुक्छिन । यौवनका एक एक क्षणले उनलाई चिमोट्छ बेस्सरी चिमोट्छ . . . उनि आफ्नो निधार हेर्छिन, आँखा हेर्छिन, गाला हेर्छिन , नाक हेर्छिन , ओठ हेर्छिन , पुरै नक्कली दाँत हेर्छिन,  घाँटी हेर्छिन सब्बैतिर मुजै मुजा र पुकार्छिं भगवानलाई हे जिजस मलाइ अहिले नै तानिहल कृपा गरेर, म मर्न चाहन्छु ! मलाइ यसरि यस्तो कुरुप जिन्दगी बाँच्नु छैन .. . एक पल बाँच्नु छैन । अब भो पुग्यो 92 is good enough to live in this world म साच्चै मर्न चाहन्छु मलाइ मर्ने ओउषधी दि दे । म सम्झाऊंछु अहं उनि रत्ति सुन्न तयार छैनन् , पटक्कै छैन । म अवाक हुन्छु ! मलाइ एउटा नेपाली गीत को याद आउँछ फुल राम्रो कि बैंस राम्रो . . . फुल राम्रो कसरि हुन्थियो बैंसै राम्रो हो . . . साच्चै बैंस/योवन फुल भन्दा नि राम्रो हुँदो रहेछ , झर्झराउँदो हुन्छ ।

 फुलको बैंस ढल्के पछि ओइलियेर भुइमा झर्छ , मान्छेको बैंस ढल्के पछि चाउरी पर्छ , कुप्रिन्छ , हाड्मासी गल्छ , नौनारी दुख्छ , आफैंलाई आफैं देखि दिक्दार लाग्छ , वाक्क लाग्छ, झर्को लाग्छ . . . यस्तो हुँदो रहेछ । जीवनको चक्र नै यस्तै हुन्छ , जन्म पछि मृत्यु निश्चित हो यो हामी सबैलाई था छ , यहीं नै हो कटु सत्य फरक यति हो ढिलो चांडो . . . भन्छु म उनि भन्छिन जब तँ मेरो उमेरको (९२ बर्ष) हुन्छस अनि मलाइ सम्झने छेस . . . . र मैले बर्बरायेका वाहियात लाग्ने यथार्थ . . .

दोस्रो विश्व युद्द चल्दा ऐर फोर्सको रुपमा लडेकी यिनी (हाना)  बैंसमा निकै राम्री हुनु पर्छ यिनी झनै सात फिट अग्ली सलक्क परे सरिर , बौदिक क्षमाता निकै उच्च छ यिनको  । कलेजमा लेक्चर दिंदा दिंदै श्रीमान्को मृत्यु भयो र रिटायर्ड भइन त्यसपछि । यतिखेर त उनि यति ट्यालेन्ट छिन बैंसमा कति तीक्ष्ण थिइन होलि । म यो ह्विल चेयर भित्रको बन्धनमा कसिएर कसरि हाँसु प्रश्न गरिन । भगवानलाई धन्यवाद भन कि अहिले, यस उमेर सम्म तलाई देख्न, सुन्न र स्मरण गर्ने शक्ति प्रदान गर्नु भएको छ भन्छु म ।उनि क्रुद्दः हुन्छिन उनै भगवान प्रति पनि । मेरो भाषा बुझें भगवान्ले सायद तेरो नेपाली भाषा पो बुझछन कि एक पटक कुरो गरि दे न अब म जिन्दगि देखि रिटायर्ड हुन चाहन्छु । म  चुपचाप उनलाई व्हिल चेयरमा पुष गर्छु अगाडी ठुलो हलमा देखिएको ऐना सँग पनि खुब रिसाउछिन जुन चिज म हेर्न चाहन्न किन त्यहीं चिज मेरो अगाडी मलाइ जिस्क्याउन आइपुग्छ , सायद यस्तै हुन्छ बुड्यउलि पन . . . म सोचमा डुब्छु . . . जीवनभर उच्च आत्मनिर्भर भएर बाँचेका यी बलिया मन, मस्तिष्क अहिले शरिर जिर्ण भइ कसैको सहायता खोजेको स्विकार्न कदापि तयार छैन मानसिक रुपमा परनिर्भर हुनु तर रत्तिभर थेग्दैन ज्यानले के गर्नु यसैले आफ्नै अगाडिको ऐना सँग रीश उठ्छ . . . ।

 पुनः उनि फ़त्फ़ताउछिन , दोर्यउछिन . .. .

मैले भनेको कुरो कहिल्यै नबिर्सी
तँ कहिल्यै बुडो नहुनु .....
सधैं यस्तै जवान रहिरहनु . . . .
एउटा कापी र कलम दे ...
म हस्ताक्षर गरिदिन्छु . . .


ल मलाइ ह्विल चेयरमा बस्न सहयोग गर ..... हाम्रो एक चरणको संवाद यहीं टुंगिन्छ ।



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com