मानव बेचबिखनविरुद्धका अग्रणी अनुराधालाई अन्तराष्ट्रिय अवार्ड

काठमाडौं असोज २८,

मानव बेचबिखनविरुद्धको अभियानमा अग्रणी भूमिका निर्वाह गरेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला स्विडेनको चाइल्ड १० (सी टेन) अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुने भएकी छन्। 
 
बालअधिकार स्थापनार्थ गरेको योगदान र बालबालिका बेचबिखनविरुद्धको अभियानमा निरन्तर लागेबापत कोइरालालाई उक्त अवार्ड प्रदान गर्न लागिएको हो। नोभेम्बर ८ देखि १० तारिखमा स्विडेनको राजधानी स्टकहोममा आयोजना हुने समारोहमा उनलाई पुरस्कृत गरिनेछ। 
 
पुरस्कारको राशि एक लाख स्विडिस क्रोनर छ।पुरस्कार पाएपछिको खुसी व्यक्त गर्दै कोइरालाले भनिन्, 'यो पुरस्कार मेरो मात्रै होइन, समस्त नेपालीको हो। बेचबिखनविरुद्धको अभियानमा अगाडि लागेपछि सबैको साथ र सहयोग पाएको छु।'
 
चेलिबेटी बेचबिखनको स्वरूप बदलिएको र अवस्था पहिलेभन्दा निकै नराम्रो भइरहेको उनको अनुभव छ। पहिले नेपाली महिला प्रायः भारतमा मात्रै बेचिने गरेकोमा हाल इराकसम्म पुग्ने गरेका छन्। 
 
हालै इराकमा बेचबिखनमा परेकी एक महिलाले रुँदै आफूलाई फोन गरेको प्रसंग कोइरालाले कोट्याइन्।पुरस्कारस्वरूप प्राप्त गर्ने दस लाख रुपैयाँ ठूलो नभए पनि यस क्षेत्रमा अझै धेरै गर्नुछ भन्ने जिम्मेवारी थपिएको उनले बताइन्।
 
सन् १९९३ मा स्थापना भएको माइती नेपालले हालसम्म २९ हजारभन्दा बढी महिला तथा बालबालिकालाई बेचबिखनजन्य अवस्थाबाट उद्धार गरिसकेको छ।
तीसभन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड पाइसकेकी कोइरालाले सन् २०१० मा सीएनएन हिरो अवार्ड पनि पाएकी थिइन्। 
 
नेपालबाट सी टेन अवार्ड पाउने कोइराला दोस्रो व्यक्ति हुन्। गत वर्ष शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले पनि बेचबिखनको क्षेत्रमा पुर्‍याएको योगदानबापत उक्त पुरस्कार पाएकी थिइन्। 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com