नारी शक्ति



लक्ष्मी भण्डारी थापा ,

प्रा.डा. मीनासिंह खड्का (प्राध्यापक हावर्ड युनिभर्सिटी बोस्टन अमेरिका तथा अध्यक्ष, गेट कलेज) त्यो शक्ति जसको आडमा सृष्टि अडिएको छ हिन्दू धर्मावलम्बीहरूको महान् चाड दसैंमा शक्तिस्वरूपा देवीहरूको विशेष पूजा हुने भएकाले यसको पृथक् महत्व छ । 

महलिाशक्तिको अर्थ र महत्व अपरम्पार छ । नारी शक्ति भनेको त्यो शक्ति हो जसले एउटा जीवित आत्मालाई आफ्नो शरीरभित्रै हुर्काएर धर्तीमा ल्याइसकेपछि पनि आफ्नो रातो रगतलाई सेतो दूधमा परिणत गरी जीवनदान दिन्छिन् । त्यही धर्तीलाई माता भनेर पुकारिएको होइन । जे–जस्ता कष्ट आए पनि सहन सक्ने शक्ति एवं क्षमताको पर्याय धर्तीमाता जननी हुन् । 

हिन्दू धर्म भनेको सनातन धर्म मात्र नभएर हरेक धर्मको जड पनि हो । त्यसैको आडमा सबैले आ–आफ्ना ग्रन्थ तयार पारे । पुराना धार्मिक ग्रन्थहरूले महिलालाई विभेद गरेका छैनन् तर नयाँ बाइबल, नयाँ कुरानलगायतका ग्रन्थमा महिलामा निर्णायक अधिकार नरहेको तथा लेखपढसमेत गर्न नपाउने उल्लेख छ । धर्ममा जेसुकै किन नहोस् हामी महिलाले महिला हुन पाए पुग्छ । हामीलाई देवी, भगवती पनि बनाएर पूजा गर्नुपर्छ भन्ने छैन । 

हामी महिलामा अथाह शक्ति र क्षमता छ । महिलाले गर्भ धारण गर्न, सन्तान जन्माउन, स्तनपान गराउन सक्छन् जुन पुरुषले सक्दैनन् । यही हो वास्तविक नारीशक्ति । तसर्थ हामी महिला पनि पुरुष बन्न नखोजौं । मेरो छोरो बहादुर छ भनिन्छ, के कसैले मेरी छोरी बहादुर छे भन्छ ? किन महिलालाई पुरुष बनाउन खोजिन्छ ? यो विवादित विषय हो । धर्मले लक्ष्मी, सरस्वती, दुर्गाका रूपमा महलिाशक्तिलाई पूजा गरेको छ तर घरमा भएका लक्ष्मी, सरस्वती, दुर्गा, भगवतीलाई किन दिनदहाडै जिउँदै जलाइन्छ, एसिड प्रहार गरिन्छ ? त्यसैले धर्म र समाजले गर्ने वास्तविक व्यवहार नै विवादित छ । कन्याको दान अर्को विडम्बना हो । दसैंका नौ दिन मात्र नारी पूजा गर्नुको कुनै तुक देख्दिन म त । 

जीवनको आधा समय अर्थात् करिब ३८ वर्ष विदेश बसाइका क्रममा महिलाको श्रद्धा, सम्मान, महत्व नबुझ्नेहरू मुख्यत: पूर्वीय समाजमै बढी रहेको अनुभव गरें मैले । विदेशीहरू चाहे प्रधानमन्त्री, उच्चपदस्थ कर्मचारी वा राजदूत नै किन नहुन् कुनै महिला भेटघाटका लागि आउँदै छिन् भने आफै जुरुक्क उठेर ढोका खोल्ने र ढोकासम्म लिन वा पुर्‍याउन आउँछन् तर यहाँ मैले जुन अवहेलना भर्खरै एमआरपी बनाउँदा झेल्नुपर्‍यो जुन वर्णन गरिसाध्य छैन । 

सम्बन्धित निकायमा वा उच्च ओहोदामा रहेका पुरुषहरूबाट त्यस्तो अपमान र अवहेलना गरिने मुलुकमा वर्षका नौ दिन नारी पूजा गर्नुको औचित्य के ? ती विदेशी जसलाई नौ दिनको नारी शक्ति पूजाका बारेमा के थाहा ? र पनि उनीहरूका लागि नारीको स्थान आफ्नी मातासरह उच्च छ । अब त हाम्रो नेपालको लोकसेवा आयोगको प्रश्नमा महिला पनि मानव भन्ने बारेमा प्रश्नै राख्नुपर्ने महसुस गर्दैछु म । 

हामीजस्ता शिक्षित, आयआर्जन गर्न सक्ने महिलाको त यो हविगत छ भने हाम्रा ती निरक्षर नेपाली दिदीबहिनीको अवस्था कस्तो होला ? दसैंमा जसरी महलिाशक्तिको पूजा गरिन्छ त्यो कुरा सामाजिक व्यवहारमा पनि लागू भैदिए कति राम्रो हुन्थ्यो । मेरो हकमा यी नौ दिन व्रत बस्ने, आफूलाई भित्रैदेखि आध्यात्मिक अनुभूति गर्ने अवसर हो । सबैमा समानताको अनुभूति गराउने मेरो हरेक वर्षको प्रयासजस्तै यसपटकको दसैं म भूकम्पपीडितहरूसँग मनाउँदैछु । महान् पर्व विजयादशमीको शुभ अवसरमा हरेक नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना । __ स्रोत-नारी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com