बन्दका कारण कोसी अञ्चलमा औषधिको अभाव

पथरी (मोरङ), २८ भदौ,

मधेस केन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण कोसी अञ्चलमा औषधिको अभाव देखिएको छ ।

औषधि व्यवसायी सङ्घ कोशी अञ्चलका अध्यक्ष लक्ष्मण माझीका अनुसार लगातार एक महिनादेखिको बन्दका कारण औषधि आपूर्ति गर्न नसक्दा कोसी अञ्चलमा औषधिको अभाव भएको हो ।

अध्यक्ष माझीका अनुसार खासगरी भारतको अरिस्टो, सन र क्याडालगायतका कम्पनीले उत्पादन गरेका औषधिको सहज अपूर्ति हुन नसक्दा औषधि किन्न आउने बिरामीलाई उपलब्ध गराउन नसकिएको हो ।

अरिस्टो कम्पनीको अल्सार्टन, सिल्फाड्रप, मेन्टाजोल र सन कम्पनीका रिपोस, प्रोस्टेट, आइड्रप, ड्युटलफा, र क्यडा कम्पनीका लोमसिन, कार्डभाष र आइसियुमा राखिएका बिरामीलाई प्रयोग गरिने, डेपिन, बेहोस बनाउन प्रयोग गरिने मोराफिन छैन ।

त्यसैगरी प्याथेडिन, काम्प्लास र स्लाइनपानीलगायतका धेरै प्रकारका औषधिको अभाव रहेको औषधि व्यवसायी सङ्घ कोसी अञ्चलले जनाएको छ । त्यस्तै कोसी अञ्चल अस्पतालका आकस्मिक सेवाका इन्चार्ज डा रञ्जीत सिंहले बजारमा औषधिको अभाव हुँदा खास गरेर मुटुको बिरामीलाई बढी समस्या पर्ने गरेको जानकारी दिए । उनले बेहोस बनाउन प्रयोग गरिने औषधि बजारमा अभाव हुँदा डाक्टरलाई नै समस्या भएको बताए ।

थलाहा गाविस–५ का २५ विमल सन्थालले रिपेश नामको औषधि खोजेको पाँच दिन पुग्दासमेत पाउन नसकेको गुनासो गरे । विमल मात्र होइन विराटनगर–११ का ६० वर्षीय रमेश कलवारसमेत औषधि नपाएर छट्पटिएर बस्नु परेको छ । बन्दको पीडालाई छिचोलेर कोसी अञ्चल अस्पताल आइपुगेका सेवाग्राहीले अस्पतालमा डाक्टरले लेखेको औषधि सेवन गर्न नपाउँदा थप पीडित बनेका छन् ।

पीडित सेवाग्राहीले सरकार र आन्दोलनकारी दुवैलाई चाँडो वार्ता गरी विभिन्न रोगबाट थलिएका बिरामीलाई औषधि खान नपाउने समस्याबाट मुक्त गर्न माग गरेका छन् ।

औषधि व्यवसायी सङ्घ कोसीका अध्यक्ष लक्ष्मण माझीले औषधि आयात गर्ने वातावरण नबन्दा औषधि आयात गरिएका दुई दर्जन सवारी साधन वीरगन्ज भन्सार नाकामै थन्किएको बताए । कोसी अञ्चलमा एक हजार ५०० औषधि पसल सञ्चालनमा छन् । रासस ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com