फेसबुक ट्विटरमा जथाभावी नगर्न कर्मचारीलाई निर्देशन

काठमाडौं भदौ २१,

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालले सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा जथाभावी पोस्ट नगर्न एवं लाइक, सेयर, ट्विट, रिट्विट गर्दा विचार पुर्‍याउन निर्देशन दिएको छ।


मुलुकका विभिन्न भागमा भइरहेका बन्द हड्तालका विषयमा सामाजिक सञ्जालमा सद्‌भाव खलबलिने एव‌ं जात, जाति, धर्म संस्कृतिको मूल्य मान्यतामा अाँच अाउने किसिमका समग्री सम्प्रेषण हुने गरेको ठहर गर्दै सरकारले राष्ट्र सेवक कर्मचारीहरुलाई सचेत रहन निर्देशन दिएको हो।

सामाजिक सञ्जालबाट सद्‌भाव खलबलिने तथा जाति, धर्मविरुद्ध अभिव्यक्ति दिँदा शान्ति सुरक्षामा समेत प्रतिकूल असर परेको सरकारले निष्कर्ष निकालेको छ।

सामाजिक सञ्जालमार्फत सद्‌भाव खलबल्याउने कार्यमा राष्ट्रसेवक कर्मचारी पनि संलग्न भएको पाइएको भन्दै सरकारले कर्मचारीलाई त्यस्ता सामग्री लाइक, सेयर, ट्याग, ट्विट, रिट्विट नगर्न सोमबार विज्ञप्ति जारी गर्दै अाह्वान गरेको हो।

'सामाजिक सञ्जालमार्फत विभिन्न, जाति, धर्म, संस्कृति, समुदायमा आघात पुग्ने किसिमका फैलावटबाट सामाजिक सद्भावमा खलल पुग्नसक्ने देखिएको हुँदा त्यस्ता कार्यमा संलग्न संलग्न नहुन सबै राष्ट्रसेवक कर्मचारीहरुमा हार्दिक अाह्वान गरिन्छ,' विज्ञप्तिमा भनिएको छ।

यो निर्देशन निजामती कर्मचारीहरुका लागि मात्र नभई सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुका लागि भएको मन्त्रिपरिषद कार्यालयका प्रवक्ता उत्तमकुमार खत्रीले नागरिकन्युजलाई बताए। 'यो अाह्वान निजामती, जंगी, संस्थान कर्मचारी, शिक्षक लगायत राष्ट्रिय ढुकुटीबाट तलब बुझ्ने सबैलाई हो', उनले भने।

गृहमन्त्रालयको अनुरोधमा प्रधानमन्त्री कार्यालयले यस्तो सूचना निकालेको हो। गृहले सूचना निकाल्दा सबैलाई समेट्न वैधानिक अड्चन हुने देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाटै यस्तो कदम चालिएको स्रोतले बतायो।

निर्देशन उल्लंघन गर्नेलाई आ-आफ्नै सेवा ऐन तथा नियमावलीअनुसार कारवाही गर्ने तयारी सरकारले गरेको छ।

तराइमा जारी आन्दोलनका क्रममा १० सुरक्षाकर्मी सहित २९ जनाको ज्यान गएपछि त्यसबारे सामाजिक सञ्जाहरुमा घृणा फैलाउने अभिव्यक्ति अाइरहँदा त्यसविरुद्ध सरकार सचेत देखिएको हो। _ स्रोत नागरिक:

विज्ञप्ति;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com