दोलखामा, प्रकोपका रुपमा देखा प¥यो ‘सिजनल फ्लु’

दोलखा, ७ असोज ,

यस जिल्लामा प्रकोपकै रुपमा ‘सिजनल फ्लु’ देखा परेको छ । अहिलेसम्म यसको सङ्क्रमण तीन हजार १३८ जनामा देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए । ‘सिजनल फुल्’का बिरामी बढ्दै गएपछि दोलखाका दुई गाविसका विद्यालय केही दिनका लागि बन्दसमेत गरिएको छ ।

बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको र बढी मात्रामा बालबालिकामा सङ्क्रमण बढेको भन्दै केही दिनका लागि जिल्लाको सुनखानी गाविस र लापिलाङ गाविसका विद्यालय बन्द गरिएको कार्यालय बताएको छ । एक साताभन्दा अघिदेखि फैलिएको फ्लुको सङ्क्रमण नियन्त्रण बाहिर गई प्रकोपका रुपमा देखापरेको हो ।

बिरामीको सङ्ख्या घट्दै जानुपर्नेमा दैनिक रुपमा बढ्दै गएकामा जिल्ला स्वास्थ्य कार्यालयले उच्च सतर्कता अपनाए पनि नियन्त्रणमा उल्लेख्य नतिजा आउन सकेको छैन ।

बढी मात्रामा भीमेश्वर नगरपालिकाभित्रको दोलखा बजार, मकैबारी क्षेत्र र सुनखानी, लापिलाङ, झुले, मेलुङ र घ्याङसुकाठोकरलगायतका गाविसमा बिरामीको सङ्ख्या बढेको छ । प्राथमिक स्वास्थ्य केन्द्र चरीकोटमा मात्र अहिलेसम्म ६०० भन्दा बढी बिरामी आएको बताइएको छ ।

भाइरलका रुपमा बढेको यो सङ्क्रमण नियन्त्रणमा आउन अझै केही दिन लाग्ने कार्यालयको भनाइ रहेको छ । भूकम्पपछि घर भत्किएर सामूहिक रुपमा बसोबास गर्दै आएको ठाउँमा बढीमात्रामा समस्या देखिएको जनाएको छ । फ्लुका कारण खोपाचाँगु गाविसका सबै विद्यालय आजदेखि बन्द भएका छन् । रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com