महाभूकम्पमा पति गुमाएका २ हजार विधवा

विनाशकारी महाभूकम्पमा पति गुमाएका विधवा परिवार धान्ने एकल संघर्षमा छन्।

नानीमैयाँ प्रजापति (४७) को जीवन अब १२ वैशाखअघिको जस्तो कहिल्यै हुने छैन। त्यो शनिबार दिउँसो १२ बज्नै लाग्दा साँखुस्थित उनको घर भयंकर गर्जनका साथ हल्लिन थाल्यो। त्यसको क्षणभरमै उनका पति, छोरी, ज्वाइँ, नाति, नातिनी र सासू त्यहीं पुरिए।

त्यसयताको हरेक दिन त्यो भयानक घटनाले उनलाई हल्लाइरहेको छ। क्षणभरको घटना पनि कस्तो भने, छोरी–ज्वाइँ, नाति र नातिनीको लागि खाना पस्कँदै गरेकी उनी मात्र घरबाहिर निस्कन भ्याइन्, अरू सबै पुरिए। “म मात्रै कसरी, किन बाँचे हुँला भन्ने लागिरहन्छ”, नानीमैयाँ भन्छिन्।

भुईंचालोले देशभर झ्न्डै ९ हजारको ज्यान लियो, त्यसमध्ये ५५ प्रतिशत महिला परे। नेपाल प्रहरीको तथ्यांक अनुसार, भूकम्पले दुई हजार महिलालाई विधवा बनायो।

घर भत्किनेमा तीसहित ५० हजार एकल महिला छन्। यो स्थितिले विधवा र एकल आमाहरूको संघर्षलाई पहिलेभन्दा दोब्बर बनाइदिएको छ, परिवारको हेरचाह र बासको व्यवस्था गर्न एक्लै खटिनु परेकाले।
नेपालमा अर्थोपार्जन र घरव्यवहारका महत्वपूर्ण निर्णय प्रायः पुरुषहरूले नै लिन्छन्। सरकारी कार्यालय र गाविसमा हुने कामका लागि होस् या गाउँका भेलाहरूमा; घरका पुरुष नै जान्छन्।

यो अवस्थामा, सरकारले भूकम्पपीडितलाई दिने रु.१५ हजार घर पुनःनिर्माणका लागि पाइने अनुदानका लागि विधवा र एकल महिला आफैं दौडधूप गर्नुपर्ने भयो।

पूर्णलक्ष्मी खड्गी आफ्नो विवाहको तस्वीर देखाउँदै। भूकम्पमा भक्तपुरस्थित घर भत्कँदा उनका पति र डेढ वर्षका छोरा त्यहीं पुरिए।  पूर्णलक्ष्मी खड्गी आफ्नो विवाहको तस्वीर देखाउँदै। भूकम्पमा भक्तपुरस्थित घर भत्कँदा उनका पति र डेढ वर्षका छोरा त्यहीं पुरिए।

किसान परिवारकी नानीमैयाँलाई लेखपढ गर्न आउँदैन। उनी दाताले दिएको दुई थान जस्तापाता जोडेर बनाइएको टहरामा आश्रय लिइरहेकी छन्।

नागरिकता प्रमाणपत्र, जग्गाधनी प्रमाणपत्र लगायतका सबै कागजात घरको भग्नावशेषमा कतै पुरिएकाले उनी आत्तिएकी छन्। त्यस्तै, भूकम्पमा सिकर्मी पति गुमाएकी दधिकोटकी सुनिता चित्रकार (३३) एक्लै दुई सन्तान हुर्काउन संघर्ष गरिरहेकी छन्।

उनले कुनै किसिमको सहयोग रकम र छानो हाल्ने जस्तापाता पाएकी छैनन्। परिवारमा वयस्क पुरुष भएकाहरूले सरकारी अनुदानको जस्तापाताबाट अस्थायी आवास बनाउँदा सुनिताले दुई सन्तानलाई च्यातिएको पालमुनि राख्नुपरेको छ।

उनलाई न सहयोग माग्न कहाँ जाने, कसलाई भन्ने थाहा छ, न त फुर्सद। “हावा चल्दा पाल समातेर बस्नुपर्छ”, सुनिता भन्छिन्, “हामीलाई खान मात्रै महीनाको १२ हजार लाग्छ, चामल किन्ने पैसा पनि छैन।”
पूर्णलक्ष्मी खड्गी आफ्नो विवाहको तस्वीर देखाउँदै। भूकम्पमा भक्तपुरस्थित घर भत्कँदा उनका पति र डेढ वर्षका छोरा त्यहीं पुरिए।

भूकम्पले पति र घर गुमाएकी नानीमैयाँ प्रजापति सधैं सपनामा पतिलाई सकुशल घरमा आफूछेउ भएको देख्छिन्। भूकम्पमा साँखुस्थित घर भत्कँदा उनका पति, छोरी, ज्वाइँ र दुई नाति–नातिनीको मृत्यु भयो।
भूकम्पमा घर ढलेर पति गुमाएकी भक्तपुर दरबार क्षेत्रकी सुभद्रा मारिखँु (३२) अहिले छोरालाई पढाइ–लेखाइसँगै हुर्काउने चिन्तामा छिन्। पहिले श्रीमान्ले असाध्यै माया गरेर काम गर्नै नदिएको बताउने उनलाई अबको दिन संघर्षपूर्ण हुने थाहा भइसकेको छ, तर त्यो कसरी गर्ने थाहा छैन।

w2भक्तपुरकी पूर्णलक्ष्मी खड्गी (३०) का पति र डेढ वर्षका छोरा पनि भुईंचालोमा परे। छोरीसँग बाहिर लुगा धोइरहेकीले बाँचेकी उनी सेकेण्डभरमै घरभित्र पुरिएर दिवंगत भएका छोरा र श्रीमान्को सम्झनाले छाती चर्किरहेको बताउँछिन्।

श्रीमान्को औषधि पसल भएकाले पूर्णलक्ष्मीले फार्मेसी अध्ययन गरेकी थिइन्। खाने–लाउन र छोराछोरी हुर्काउने कुनै चिन्ता थिएन। “तर, भूकम्पले एकैछिनमा बेसहारा बनायो”, जेठाजूले बनाएको टहरोमा आश्रय लिइरहेकी उनी भन्छिन्, “अब छोरी र आफ्नो लागि एक्लै संघर्ष गर्नुपर्ने भयो।”

विशेष आवश्यकता
भूकम्पबाट प्रत्यक्ष प्रभावित करीब ३० लाख नेपालीको जीवन विस्तारै सामान्य बन्दै गएको छ, तर नानीमैयाँ प्रजापति, पूर्णलक्ष्मी खड्गी, सुनिता चित्रकार र सुभद्रा मारिखुँ जस्ता महिलाहरूलाई दीर्घकालीन सहयोग चाहिएको छ।

पितृसत्तात्मक समाजमा परिवारका लागि कमाइ गर्ने श्रीमान् अचानक गुमाउनु पर्दा आजको गुजारा र भोलिको व्यवस्था ‘भगवान भरोसा’ भएको विधवाहरूको भनाइ छ।

यस्ता महिलाहरूलाई आर्थिक सहयोगका साथै मनो–सामाजिक परामर्श पनि जरूरी भएको गैर–सरकारी संस्था ‘एकल महिला समूह’ की अध्यक्ष लिली थापा बताउँछिन्।

थापाको भनाइमा, महाभूकम्पपछि एकल र विधवाहरूको आवास पुनःनिर्माण तथा जीवनयापनमा टेवा पुर्‍याउन वेग्लै संयन्त्र आवश्यक छ, तर सरकारसँग त्यस्तो कुनै योजना नरहेको महिला बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसीले बताइन्। रोजिता अधिकारि-हिमाल खबर ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com