कथा-बेली

अनुप्रिया ;

इश्वर पनि कहिलेकाही निर्दयी भइदिन्छन निरिह प्रति ।  यदि उसो नहुँदो हो त बेली ..... बहुलाउने थिइनन् ।

गाउँका अधिकाँस पुरुष झैँ परिवारको सुन्दर भविष्य बनाउने मिठो सपना बोकी  पैसा कमाउन भारतमा मजदुरी गर्न पुगे  बेलीका बाबु पनि तर दुर्घाग्य वा दसा उतै बाट भयानक रोग एड्स बोकेर आएछन्  र सारे आफ्नो स्वस्निमा पनि । धन्न छोराछोरी जन्मी सकेका थिए ।

क्षणभरको आनन्दले दिएको अमिट घाउ छोप्न अनेक बहाना गर्थे तर झुट लुकाएर कहाँ लुक्थ्यो र ! बिस्तारै बिरामी गरेर ओछ्यान परे । बेलिकी आमाले बाँचुन्जेल सक्दो सेवा गरिन् । त्यो देखेर बेलीका बा हुन सम्मन मार्माहित हुन्थे । म पापी हुँ , मैले तलाई जिन्दगीमा शुख दिन सकिन बेलिकी आमा, भन्थ्यो । पश्चाताप गर्थ्यो तर  त्यसको कुनै तुक थिएन अब । रोग अकाट्य थियो । बेलिकी आमा उल्टै सम्झाउथिन् तिमी चिन्ता नगर बेलिका बा ! अब तिमी छिटै जाति हुनेछौ । हामीले यी लालाबालाको भविष्य बनाउनुछ , हाम्रो भन्दा राम्रो । पत्नीले त्यसो भनिरहँदा,  बेलिका बा आँखा भरि आँशु पारी कोल्टे फरेर आँशु  झार्थ्यो ।

बेलिकी आमाले देवी देवताको भाकल राखिन , पूजाआज्ञा गरिन् , धामी, झाक्री , बैद्य  सबैलाई गुहारिन तर बेलिका बा को रोग  बीसको उनाइस पनि भएन । बिचरा बेलिकी आमालाई त यो पनि थाहा थिएन कि यो रोग निको हुँदैन उनको पतिदेव अब चाडै यस जगत बाट बिदा हुँदैछन् । बस, उनि त सेवामा तल्लिन थिइन् र इश्वर सँग प्रार्थना गरिरहन्थिन ।

बेलिका बा लाइ झन् सारो भयो . . .  रगत छाद्न थाल्यो । केहि चलेन एक दिन पश्चिमको सूर्यस्थ संगै बेलिका बा ले पनि यस जगत बाट बिदा लिए । घरमा त्यहि हुनु थियो भयो रुवाबासी . . . ।

बेलिका बा बितेपछी बेलिकी आमा  बोल्न पनि मन गर्दिनथिन  अत्यन्त शान्त, चुपचाप बस्न थालिन् । अब सबै  जिम्मेवारीको भार तेह्र बर्षकी बेलिमा आयो । उनको भाइ  साढे पाँच बर्षको थियो त्यतिखेर , पेटभरी खान पाए र खेल्न पाए अरु कुनै कुराको चिन्ता किन हुन्थ्यो र उसलाई ।

सम्पतिका नाममा एक सानो झुप्रो र दुई ओटा बाख्रा थिए  । बेलिकी आमा केहि गर्न नसक्ने भईन । एड्सको संक्रमण उनमा पनि बढ्न थालेको थियो । पतिको मृत्यु पश्चात उनको दिमागी हालत पनि ठेगानमा रहेन । सायद उनि एक्लो एक्लो महसुस गर्थिन् । बेली पढ्न  छोडेर काम खोज्न थालिन् गाउँ, छिमेकतिर ... ।

मेलोपात, घाँस, दाउरा, भाडाबर्तन माझ्ने , लुगा धुने , घर सफा गर्ने सबै गर्थिन् टोलछिमेक । यस्तैमा एक दिन भीमा बजैकोमा काम गर्न पुगिन । उनि राम्रो काम गर्थिन् यसैले सबैले मन पराउथे । यसरी बनिबुतो गरि आफ्नो आमा र भाइलाई पालिनन मात्र आफ्नो भाइलाई स्कुल पढाइन पनि ।

भीमा बजै भनेपछि त्यस गाउँमा सबैले चिन्थे कहलिएको अपरिवर  तर दया भने कम भएका । भीमा बजै ओल्टाई पल्टाई काम अर्हाउना सिपालु थिइन् । उनले जे भने पनि बेली चुपचाप काम गरिरहन्थिन । घर परिवारकाले भात खाइसकेपछी कुकुरलाइ दिइन्थ्यो ।

 कुकुरलाई दिएर कतै कुनाकाप्चामा रहलपहल भएको   खाना केराको पातमा पोको पार्थिन बेली र घर जाँदा आफ्नो आमा र भाइलाइ दिन्थिन, भन्थिन साहुनीले पठाएको । आउ बा तिमी पनि हामी संगै खाना खान, मैले उतै खाएर आकी भन्थिन बेली तर उनि भोकै हुन्थिन । उनले पनि त्यो थोरै खाना बाडेर खाए आमा र भाइको पेट भरिन्न  भनि खाएर आएको बहाना गर्थिन् । दिनभर काम गरेबापत पाएको पैसा पसलको बाँकी तिर्थिन ।

बेलीको इमानदारिता देखेर सबैले स्नेह गर्थे । जस्तो पीडा र परिस्थितिमा पनि उनि हज्मुख थिइन् ।बिस्तारैे-बेलिकी आमा .... आँखा पनि देख्न नसक्ने भएकी थिइन् । बेली खुब सेवा गर्थिन् आमाको । तिमी जस्तो छोरी पाएर म धन्या भएँ भन्थिन बेलिकी आमा, बेली भने मात्र मुस्कुराउथिन ।

बेलिकी आमालाई पनि एड्सको संक्रमणले निकै च्याप्दै लगेको थियो । उनि पुरै थला परेकी थिइन् । घरमा हेर आफैं, बाहिर गएर कमाइ-ले आफैं, न त अडिने , न त थियो समाउने । तैपनि हिम्मत भने हारेकी थिइनन् बेलिले । तर एक दिन बेलिकी आमाले रगत छादीन, बेली अलि आत्तिइन उनको बाले पनि यसैगरी रगत छादन थालेको केहि दिनमै संसार बाट बिदा लिएका थिए । हे प्रभु ! जे भने पनि यिनै आमा हुन् यति चाडै चाहिं नखोसिदेउ ... यस्तै सोच्दै आकाशतिर हेरिन् बेलिले । एक भनाईछ हुनेकुरा भएरै छाड्छ । जे हुनु थियो त्यो भयो । बेलिकी आमा पनि अब रहिनन् । पुरै आकाश खसेर धर्ति अँध्यारो बनाए जस्तै भयो । शीरको छानो अब रहेन , न त रह्यो आशिर्वाद दिने हात । वस निरुत्तर जीवनको नाङ्गो खाबाहरु उभिएका थिए । गाउँलेहरु कठै बिचरा दिदी भाइ भन्दै चुक...चुक... गर्थे । यी दयाले पनि पोल्थ्यो बेलिलाई ।जीवनभर दयाकै पात्र मात्र हुनुपर्ने कस्तो जिन्दगी हो यो ? हुने भए खोलाको ढुंगामा लुगा पछारेझै ड्याम ड्याम पछारु लाग्छ उनलाई झनक्क रिस पनि उठ्छ तर मनमनै त्यसलाई आइस बनाइ जमाउछिन । समयले कसैलाई पर्खदैन, न त सकिन्छ रोक्न .. यसै समयचक्र सँगै बेली र उनको भाइ पनि अघि बडी रहे ।

बर्षौं भैसक्यो बनिबुतो गरि जीवन गुजारेको । अब कहिले भाइ  स्कुल सकेर केहि सहयोग गरिदेला कि भन्ने आशाछ अरु त सबै सून्य । जसोतसो जीवनको चक्का घुम्दैछ तर बेलीको मन मस्तिष्क निकै सिथिल, थकित हुन थालेकोछ  कति गर्नु दुख । सम्पत्ति वा सबथोक भन्नु नै एक भाइ छ । त्यो पनि नहुँदो हो त म कहिले मरिसक्नेथे बेली यस्तै सोच्दै थेचारिन्छिन निभेको अगेनु अघि । केहि छैन ठुलो सपना वस भाइलाई बिद्यालय सकाएर विश्वबिद्यालय पढाउने र कतै जागिर गरोस त्यसपछि त आरामको श्वास फेर्नेछु तर कहिले आउने होला त्यो दिन खै संघर्ष गर्दा गर्दा निकै थाकेकिछिन बेली ।  तर आफ्नो पीडा आफैं सित पट्याएर थन्क्याईन सदा झैं । वस, समयको प्रतिक्षा , एक दिन त कसो नआउला ! त्यो दिन । 

आज त भाइको अन्तिम परिक्षाको दिन , धेरै कुरा गर्नुछ उ आएपछि, जिन्दगीको, जिम्मेवारीको, कर्तव्यको । उनि अगुल्टो चलाएर आगो बाल्छिन केहि सिठोपिठो खाजा बनाउछिन् र गर्छिन भाइको प्रतीक्षा । जे होस् अब बिद्यालय जीवन सक्दैछ मेरो भाइले यसरीनै विश्व बिद्यालय नि सक्नेछ । जिन्दगी सायद यसैगरी आशामा बाँचिन्छ क्यार ! आज बेलिलाई एक आनन्द पनि लागिरहेकोछ । अब केहि बर्ष अनि त म मलाइ मेरो भाइले राहत दिनेछ । जीवन भर गरेको दुख बिस्तारै ओझेल पर्नेछन । यस्तै अनेक थरि कुरो खेलाउदै बसिन् बेली तर उनको भाइ आइपुगेन । साँझ झमक्क हुन लाग्यो अघि आउनु पर्ने । होइन यो केटाले किन यति बेर लगायो . . .।

 आज अन्तिम दिन कतै साथीहरु सँग गयो होला । मनमा नानाथरी कुराहरु खेल्न थाले . . .  कि गयो कतै टाडा मलाइ सदाका लागि छोडेर हँ ! हरे प्रभु :  हे इश्वर ; मेरो भाइ चाडै घर आओस घरि घरि प्रार्थना गर्छिन् , घरि के के कुराहरु मनमा खेलाउछिन बेली तर साच्चै साँझ पर्यो उनको भाइ आइपुगेन । अँध्यारो आँगनीमा ओर र पर ,  ओअर र पर . .गरि रहिन । होइन कि काहाँ गयो , यो केटा !?

 कि साच्चै केहि भयो कि ! मनमा धेरै संका आसंकाहरु उब्जे तर गर्ने सक्ने केहि थिएन । बाहिर परेको झमक्क अँध्यारो भन्दा मन भित्र मडारिएको अँध्यारोले बेली अब अत्तालिन थालिन । यत्तिकैमा   एक युवक आयो जो बेलीको भाइको साथि थियो । बेलिले चिनिहालिन ।बाबु मेरो भाइ खै , तिम्रो साथि विस्वास !
 बेली झन् आत्तिइन । बाबु चाँडो भन न म त पागल नै हुन लागिसकेके । विस्वास लाइ केहि भएको त छैन न !? छैन दिदी , युवक अलि कापेको स्वरमा बोल्यो । 

अनि, उ किन घर नआएको रे ! म अघि देखि उसैलाई प्रतिक्षा गरिरहेकी थिएँ , खाजा बनाएर ।
बेली दिदी म तपाइँलाइ कसरी भनुँ कि उ ....
के बाबु भन न , ,  मेरो मन आतिसक्यो . . . 
युवक काप्दै.... अब , , , अब  ..  . . विस्वास कहिल्यै फर्केर आउदैन दिदी !
नाइँ...इ....इ...... के भयो मेरो भाइ लाइ . . . . आ...आ.... ?? बेस्सरी चिच्याइन्  बेली .
युवक-दिदी आज परिक्षा दिएर फर्किदै गर्दा बिपरित दिशा बाट आएको ट्रकले हान्यो विसस्लाई र उ ढल्यो । हामीले हतार हतार अस्पताल पुर्यायौं तर अहिले साँझ डाक्टरले विस्वासलाइ बचाउन नसकेको भन्दै उस्को मृत्यु भएको घोषणा गर्यो । यसैले म तपाईलाई लिन आएको दिदी ।
यति सुनी सक्दा नसक्दा बेली आँगनमै ढलिन . . . एकैछिनमा पागल झैँ हाँस्न थालिन् . . . ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com