खोलेसिमलमा तिज गीत प्रतियोगिता

शिशिर सिंखडा रत्ननगर ३०, भदौ

 पूर्वी चितवनको खोलेसिमल बजार व्यवस्थापन समिति र सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. को संयुक्त आयोजनामा आज बुधवार १२औं खुल्ला तिज प्रतियोगिता भएको छ ।

चितवनका स्थानीय विकास अधिकारी भरतमणी पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष द्रोण प्रसाद लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । समितिका अध्यक्ष हरि प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय १० ओटा समूहले प्रतियोगितामा सहभागी जनाएका थिए ।

प्रतियोगितामा रामकृष्ण मन्दिर टोल समूह प्रथम, न्यु सगरमाथा इङ्गलिस मिडियम स्कुल द्वितीय र लालीगुरास महिला समूह चैनपुर तृतीय भएका थिए । त्यस्तै जुटपानी एकेडेमी अनुशासित समूह र अर्बिट इङ्गलिस बोर्डिङ्ग स्कुलले उत्कृष्ट नृत्यमा पुरस्कार प्राप्त गरेका थिए ।

विजयी प्रथम टिमले रु. ११ हजार ५ सय, सिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसैगरी द्वितीय, तृतीय र सान्त्वना समूहले क्रमशः ८ हजार ५ सय, ५ हजार ५ सय, ३ हजार ५ सय, १ हजार ५ सय र शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

त्यस्तै उत्कृष्ट नृत्य र अनुशासित समूहले पनि १ हजार ५ सय र शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा दशरथ सापकोटा, लक्ष्मी भट्ट र गोविन्द दाहाल निर्णायक रहेका थिए । कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारले गीत संगीत प्रस्तुत गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com