युरोपका नेपाली विद्यार्थीले बनाइदिए विद्यालय

नुवाकोट भादौ ४,

रामहरि गजुरेल : युरोपमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको पहलमा नुवाकोटमा एक विद्यालय निर्माण गरिदिएका छन् । 

जिलिङ गाविसमा रहेको कल्याणीदेवी उच्च माध्यामिक विद्यालयको भवन भूकम्पले भत्किएर पठनपाठनमा समस्या भएपछि नौ लाख रुपैयाँको लागतमा तीन कोठे पक्की भवन निर्माण गरिदिएका हुन् । नेपाल बेल्जियम युथ क्लब र बस्क फर नेपाल लण्डनमार्फत् नेपाली विद्यार्थी ज्योति भट्ट, जगदिश भट्ट र निमेश मल्लको पहलमा बेल्जियमका करिब चारसय विद्यार्थीमार्फत् संकलित रकमले विद्यालय भवन निर्माण भएको हो । 

यसबाहेक कल्याणी उच्च माविमा अध्ययनरत चारसय १५ जना विद्यार्थीहरुलाई खेलकुद र स्टेशनरी सामग्रीसमेत वितरण गरेका छन् । शैक्षिक सामग्री वितरण र विद्यालय भवन निर्माण गरिदिने ज्योति भट्ट, जगदिश भट्ट लगायतका विद्यार्थीहरुलाई आज अभिभावक, विद्यार्थी र विद्यालयले सयौँजनाको उपस्थितिमा बाजागाजा र अविरमालासहित सम्मान गरेको छ । 
विदेशमा बस्ने विद्यार्थीहरुको सहयोगले विद्यार्थीको पठनपाठनमा महत्वपूर्ण सहयोग मिलेको बताउँदै यसबाट समाजले नयाँ पाठ सिक्नुपर्ने विद्यालयका प्रद्यानाध्यापक रामप्रसाद नेपालले बताउनुभयो । दुःखसुख गरेर विदेशमा पढ्ने विद्यार्थीहरुले खाजाबाटसमेत कटाएर संकलित रकमले नेपालको शिक्षामा खर्चिएर देशप्रेमको भावनालाई सबैले अनुसरण गर्नुपर्ने समाजसेवी तथा युवा नेता माधवकुमार गजुरेलले बताउनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com