बन्दले जनजीवन प्रभावित

लहान, ३२ साउन ,

नेकपा–माओवादी र संयुक्त मधेसी मोर्चासहितका दलले आह्वान गरेको आमहडतालका कारण पूर्वपश्चिम राजमार्ग सिरहाको बन्दीपुरमा २०० भन्दा बढी सवारी साधन रोकिएका छन् ।

आइतबार साँझ राजधानीबाट पूर्वका लागि हिँडेको यात्रुबाहक बस, ट्रकलगायतका दुईभन्दा बढी सवारी साधन बन्दीपुरमा रोकिएपछि यात्रुको बिचल्ली भएको छ । आमहडतालका कारण बजार, पसल बन्द हुँदा यात्रु भोकभोकै बस्न बाध्य भएका छन् ।

रोकिएका सवारी साधनलाई गन्तव्यसम्म पठाउन आन्दोलनकारीसँग छलफल गरे पनि सफल नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी निरीक्षक अर्जुन पोखरेलले जानकारी दिनुभयो ।
इता, बन्दकर्ताहरु महेन्द्र राजमार्गअन्तर्गत सिरहाको मिर्चैया, गोलबजारलगायतका विभिन्न स्थानमा ढुङ्गामुढा तेस्र्याई सडकमै धर्ना बसेका छन् ।

आमहडतालको दोस्रो दिन पनि सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र लहानसहित सदरमुकाम सिरहा, गोलबजार, मिर्चैया, बन्दीपुरलगायतका स्थानबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् । यहाँ बजार, कलकारखाना, शिक्षण संस्थासमेत बन्द रहेका छन् ।

नेकपा–माओवादी र मधेसी मोर्चाले आइतबारदेखि दुई दिन बन्दको आह्वान गरेको हो भने थारु कल्याणकारिणी सभा, नेपाल सद्भावना पार्टी र सङ्घीय सद्भावना पार्टीले शनिबारदेखि तीन दिनको बन्द आह्वान गरेको हो । चार दलले गरेको छ प्रदेश सीमाङ्कनको विरोधमा मधेसवादी दलले आमहडतालको आह्वान गरेका हुन् ।

आमहडतालका क्रममा कुनै अप्रिय घटना हुन नदिन राजमार्गमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । अहिलेसम्म जिल्लामा कुनै किसिमको घटना नभएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

यस्तै, आमहडतालको दोस्रो दिन आज सप्तरी सदरमुकाम राजविराजबाट कुनै पनि यात्रुबाहक सवारी सधान चल्न सकेको छैन । सप्तरीस्थित पूर्वपश्चिम सडकखण्डसमेत सुनसान छ ।

यता समाचार प्रकाशन नगरेको भन्दै बन्दकर्ता मधेसी मोर्चाले आज बिहान सप्तरीको रुपनीस्थित राजमार्गखण्डमा कान्तिपुर र नागरिक दैनिकको पत्रिकाका भ्यानलाई दुई घन्टा नियन्त्रणमा लिई छाडेका छन् । बिहान ६ बजेदेखि नियन्त्रणमा लिइएको दुवै पत्रिकाको गाडीलाई ८ बजे छाडिएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com