कथा - अन्तरिम सपनाहरूको उडान

अनुपम रोशी : भाद्र ३, २०७२- एकाएक उछिट्टिएर म एक अज्ञात स्थलमा आइपुग्छु। जहाँ कालो अन्धकार मात्र देखिन्छ। चारैतिर घना जंगलजस्तो, अप्ठ्यारो पहाडको खोँचमा अड्केजस्तो, कतै सुरुङभित्र थुनिएजस्तो, मथिंगलले अप्ठ्यारो अनुभव गर्छ। अनि, मभित्र त्रासका बादल एकाएक मडारिन थाल्छन्। म आँखा चिम्लेर सहरका गल्ली र मान्छेको भीड सम्झिने प्रयास गर्छु। आकाशतिर देखिने नीलो संसार, अग्लाअग्ला घरहरू, सपिङ मल र गाडीका सो रुमहरू, पुष्टकारी र गुँदपाकका डेटएक्सपायर भण्डारहरू सम्झन खोज्छु।

सिंहदरबार पस्ने ठूलो मूल बाटो, वरिपरिका अग्ला पर्खालहरू र सैनिक क्याम्प। गाउँबाट भर्खर सहर पसेका युवकयुवती, काम खोज्दै गल्ली गल्ली भौतारिने फिरन्ते विद्यार्थीहरू, साँझबिहान हात फैलाएर पेट पाल्ने सडकछाप मगन्तेहरू...। खोइ सडक पेटीको भरिभराउ संसार? कता गयो एकाएक त्यस सहरको रमझम? कसरी आइपुगेँ म यो अँध्यारो बस्तीमा। म अन्योलमा पर्छु।

किन रात र दिनको अन्तर नभएको मलाई? आफैँसँग सोध्छु। आँखा खोल्यो कि महाशून्य। म आँखा चिम्लेरै बस्छु। यो के भयो एक्कासि? सासै फेर्न गाह्रो हुने बसपार्कको भीड कता गयो?

उत्तरमा, यही अँध्यारोमा विलीन हँुदै गरेका मेरा एक जोर सपना देखिन्छन्। किनभने, त्यही एक जोर सपना, मेरो जिन्दगीको अमूल्य सम्पत्ति थियो।

बाबुआमाको ओठमा एउटा मुस्कानको फूल फुल्छ। र, बाँकी जिन्दगी आफ्नी प्रेमिकाको अँगालोमा सजाएर सुखसँग सुन्दर जीवन बिताउँछु भनेर, तिनै जोडी सपनाका साथमा म यो सहर आइपुगेको थिएँ। दुई दिनपछि मेरा तिनै अन्तरिम सपनाहरूको फ्लाइट थियो। यो राज्य छाडेर निकै पर पुगेपछि बल्ल ती सपना पूरा हुनेछन् भन्ने राष्ट्रिय आदेश शिरोपर गरेर मैले घर छाडेको थिएँ। मेरो आत्मविश्वासलाई हौसला दिन सँगै आएकी थिइन्, मेरी प्रेमिका।

स्थिति सामान्य थियो। बिहानै चलेको चिसो बतासले बाहिरी वातावरण धूमिल देखिन्थ्यो। घरीघरी कागका बथान झगडा गर्दै आइपुगेको सुनिन्थ्यो। दुई दिनपछि छुट्दै छाँै भन्ने पीडाले हामी दुवैलाई भावुक बनाएको थियो। घरीघरी एकअर्काको अँगालोमा जोडले कसिन्थ्यौँ। मन लागुन्जेल रुन्थ्याँै। र, सम्हालिन्थ्यौँ। लोग्ने मान्छे भएर पनि रुन्छन् † भन्ने कुरा मनले सोचेपछि भने म सम्हालिन्थेँ। र, केही वर्षको कुरा त हो, म आइहाल्छु नि भन्दै उनलाई सम्झाउँथेँ।

खोइ के भयो, एकाएक सबै हल्लियो। उभिएको जमिन नै भासिएजस्तो भयो। टाउकोमा ठूलो चट्टान आएर बजारिएजस्तो लाग्यो। त्यसपछि थाहै भएन के भयो। ब्यूँभिँmदा चारैतिर अन्धकार थियो। हर चलमलाउनै नमिल्ने गरी च्यापिएको थियो। र, सहनै नसक्ने गरी दुखिरहेको थियो। बेलाबेला जमिन हल्लिन्थ्यो र माथि भएका इँटाका टुक्राहरू खस्थे। म पटकपटक मूच्र्छित हुन्थेँ र ब्यूँझिन्थँे।

टाउकोबाट रगत बगिरहेको थियो। हत्केलाले पुछ्थेँ र छोप्न खोज्थेँ। मुख सुकेर प्याकप्याक भएको थियो। भोकले पेट कोपरिरहेको थियो। छाम्थँे वरपर, भत्किएको घरको पिलर, इँटाका टुक्रा र छडहरू भेटिन्थे। जसले मेरो एक हर नराम्रोसँग च्यापेको थियो।

ओहो † कसरी निस्कने होला बाहिर? कता होलिन्, मेरी सीमा? चारैतिर सन्नाटा देखेपछि मलाई उनको चिन्ताले सताउन थाल्छ।

‘उफ्... ऐया... बचाऊ... आमा.. †’ कतैबाट मसिनो आवाज आएजस्तो लाग्छ। मैले सास रोकेर आवाज पछ्याउँछु। केही पर धमिलिँदै गएको रगतपच्छे मेरी प्रेमिकाको अनुहार छ भन्ने मलाई अनुभूत हुन्छ। उनी छन् भन्ने लागेपछि मभित्र मर्दै गरेको साहस पलाउँछ। दौडेर उनलाई अँगालो हाल्ने इच्छा जाग्छ। तर, उठ्न सक्दिनँ। निकै बल गरेर म उनीतिर बढ्न खोज्छु। अहँ † एक पाइलो चल्न सक्दैन। मेरा खुट्टाहरू जमिनमुनिबाट कसैले जोडसँग तानिरहेका छन् जस्तो लाग्छ।

“सीमा...सीमा...” म उनलाई बोलाउँछु।

“राज...राज...†” रोइरहेकी उनले चिच्याउँदै भन्छिन्। हामी दुवै जीवित रहेछौँ, म ढुक्क हुन्छु।
“मेरा दुवै खुट्टा माटोले पुरेको छ राज। एउटा हात चल्दैन। झर्लाजस्तो गरी दुखेको छ। छेउमा दुई जना मानिस पनि पुरिएका छन्। उनीहरू बोल्दैनन्। सायद मरिसकेका छन्। हुँ... हुँ... हुँ... हुँ....।”

उफ् उनको अवरुद्ध आवाज सुनेपछि मलाई झनै सकस हुन्छ। “मेरो पनि एक हर पुरिएको छ सीमा ! टाउकोमा ठूलो चोट लागेर रगत बगिरहेको छ। पीडा भनेर साध्य छैन।”

“राज आऊ न...! मलाई यहाँबाट निकाल ! निकै दुख्यो, म मर्न लागेँ राज !” मेरो कुरा सुन्दै नसुनी उनी एकोहोरो रुँदै बरबराइरहिन्। अनि, मूच्र्छा परिन्। मेरो मन बाउँडियो। आफ्नो घाउले भन्दा मलाई उनको चीत्कारले  छियाछिया बनायो।

“हे भगवान् ! कि मृत्यु देऊ कि यो खाडलबाट बाहिर निकाल †” मैले आँखा चिम्लेर ईश्वर गुहारेँ। कसैले सुनेनन्।

“के सबै मान्छे मरेकै हुन्? किन कसैले हामीलाई सुन्दैनन्?” म छटपटाइरहेँ।

“राज दुखेर मर्न थाले † बरू यो हात काटेर फालिदेऊ।” उनले पटकपटक भनिरहिन्। म निरीह भएर सुनिरहँे। आँसु बगाइरहँे। शरीर गाडिएको मूर्तिजस्तो जड भएको थियो। कसरी पुग्नु उनीसम्म?
“राज अब म मर्छु?” उनले थरथराउँदै सोधिन्। उनको आवाज झन्झन् मसिनो हुँदै गएको थियो।
“त्यस्तो नभन † कोही आउला हामीलाई यहाँबाट निकाल्न। बचाऊ...।” म पुन: चिच्याउँछु। उनी पनि सकीनसकी गुहार माग्छिन्। तर, हाम्रो पुकार सुन्ने कोही भएन। मानौँ, सबै बहिरा भएका छन्। या सबै मरिसकेका छन्।

“राज तीर्खा लाग्यो। अब त पिसाब पनि आउन छाडेको छ,” उनले भनिन्। मलाई मेरी आमाको सम्झना आउँथ्यो। हिँड्ने बेलामा उनको आँखाबाट मेरो अँगालोमा खसेको त्यो आँसु सम्झिन्थेँ। सुक्खा गलामा केही रसाएको अनुभूत हुन्थ्यो। आमाले बगाएको आँसु यसै खेर जाँदैन भनेको सत्य रहेछ। त्यही आँसुको न्यानो सम्झेर मैले निकै बेर आफ्नो प्यास बुझाउने प्रयत्न गरिरहेँ।

“राज अब म मर्छु होला, तिमी बाच्याँै भने मेरी आमालाई म मरेको कुरा सुनाइदिनू।” उनले पुन: अवरुद्ध हँुदै भनिन्। “सीमा त्यसो नभन † हामी बाँच्नेछौँ। भगवान्ले हामीलाई बचाउनेछन्,” मैले ढाडस दिन खोजेँ।

“अब कुनै उपाय छैन। जमिनमुनिबाट निस्किएर यो अन्धकार पहिल्याउने सामथ्र्य हामीसँग छैन। यो चूक घोप्ट्याएजस्तो अँध्यारो सुरुङभित्र कोही आइपुग्दैनन्। यी लासहरू कुहेर गनाउन थालेका छन् राज। म कतिन्जेल यो दुर्गन्ध सुँघेर बाँचुलाँ?”

“सीमा, हाम्रो देश छ। देशका मानिस सबै मरेका छैनन् होला। पक्कै कोही आउलान्। तिमी हरेस नखाऊ। हिम्मत गर, हामी निस्कनेछौँ यो दलदलबाट।’

“कोही आउँदैनन् राज † यही अन्तिम जीवन हो। निश्चित छ, अब म यहीँ मर्छु। अब हात चल्न पनि छाडेको छ। सायद भित्रभित्रै कुहिन थाले होला। सास फेर्न गाह्रो हँुदै गएको छ।” उनको आवाज झन्झन् मलिन हुँदै थियो।

नि:सन्देह मृत्यु हाम्रो आँखाअगाडि थियो। मेरी प्रेमिका र म यही अन्धकारमा भासिएका थियौँ। हाम्रो चीत्कार सुन्ने कोही थिएनन्। स्मृतिका सबै पाना एकएक गर्दै तस्बिर बनेर पल्टिन्थे। बाआमा, भाइबहिनी, साथीसंगी, नातागोता, छरछिमेकी जीवनमा भेट भएका सबैको अनुहार एकपछि अर्को गर्दै आइरहन्थ्यो। तर, अँध्यारोको सफर सकिएन। यो यात्रा अझै कति हो, ठेगान थिएन। ओठ, मुख, घाँटी सबै सुकिसकेका थिए। साहस, धैर्य र सपना सबै सकिँदै गएका थिए।

“राज † म स्वार्थका भित्ताहरूमा देश देख्दिनँ र देशकै भित्ताहरूमा आफूलाई देख्दिनँ। यतिबेला पक्कै रित्ता पोट्ेर्रट भरेर बेचिरहेछन् मानिसहरू। भत्केका सम्पदाहरूका नाममा, चिरिएका सडकहरूका नाममा, मरेका मानिसहरूका नाममा, सिंगो देशका नाममा र हाम्रै नाममा पनि। प्रमिथसले चोरेको आगो भएर यतिबेला स्वार्थका रंगीन तस्बिरहरू संसारका सबैजसो भूभागमा झुन्डिइरहेका होलान्। त्यही तस्बिरमुनि पुरिएका छौँ हामी। त्यही तस्बिरमा विलीन हुँदै छ, हाम्रो जीवनलीला।”

मेरी प्रेमिका ! बाँच्नुको अर्थ सबै कुरा भोग्नु रहेछ। कृपया तिमी बोलिराख, नबिसाऊ। देश दुनियाँ नभए पनि तिमी र म सधैँ सँगै हुनेछौँ।

“त्यसो भए मनजिकै आऊ। म तिम्रो छातीमा टाँसिएर मर्छु † मेरो प्रस्थानअघि तिमीले मलाई एउटा चुम्बन दिनू † के थाहा यसपछिको जिन्दगीमा तिमीसँग हुन्छु, हँुदिनँ। अर्को जिन्दगीमा पुग्नुको अर्थ फेरि चुम्बन नपाइन सक्छ।” उनको शूष्क आवाजले मेरो भक्कानो फुट्छ।

“प्रिय सीमा † जीवन र मृत्युको प्रत्येक युगमा मेरो हजार चुम्बन तिमीलाई...।” म रुँदै भन्छु। मेरो वाक्य नसकिँदै ठूलो नि:श्वास उनीबाट निस्किन्छ। सायद उनले आँखा चिम्लिन्छिन्।

स्थिति भयावह थियो। दृष्टिलाई कालो बादल छेक्दै थियो। अभ्यस्त अँध्यारोसँग अब सपनाका कुनै हुरीबतास थिएनन्। रगतपच्छे मेरी प्रेमिका मौन भएकी थिइन्। सायद उनी त्यो यातनापूर्ण जीवनबाट बाहिरिन खोजिरहेकी थिइन्। सपना र संकल्पभन्दा निकै पर...। प्रेम र अनुभूतिबाट निकै टाढा...। शून्यताको आकाशतिर। या फेरि हुन सक्छ जीवनको अर्कै लोकतिर...।

मेरो एक जोर सपनाको यात्रा अब रित्तो क्यानभास भएको थियो। जहाँ म थिइनँ, उनी थिइनन् र थिएनन् अनगिन्ती अनुहारका परिचय, जो हामीसँग जोडिएका थिए।

अब पीडाका कुनै लहर पनि थिएनन्। सोचाइका गज्याङमज्याङलाई चिरेर म उनलाई अनुभूत गर्न खोज्थेँ। तर, स्मृति शून्य थियो। वरपर कुहेका लासबाट झिँगाको एउटा जुलुस मेरी सीमातिर बढेको मलाई थाहा थियो।

उफ् † समयको गति रोकिएको हो कि, अर्कै उडान भर्ने तयारीमा थियो पृथ्वी। किन यो ढुकढुकीको चाल नरोकिएको? अब बाँकी के थियो र? न त बाँकी थियो, सिंहदरबारभित्रको राजनीतिजस्तो उनको र मेरो प्रेमको भागबन्डा। पीडा र यातनाका प्रत्येक अनुभूतिले आफूभन्दा पर आफैँलाई फालिसकेको थियो। जमिनमा गढेको शरीर छ छैन, आफँैलाई थाहा थिएन। अनुभूतिमा अब कुनै अनुभव बाँकी थिएनन्। सायद मस्तिष्कको आधार शिविर शून्य हुँदै गएको थियो।

“प्रिय सीमा † मेरो प्रस्थानअघि मैले तिमीलाई दिएका ती हजार चुम्बनको जवाफ फिर्ता देऊ...।” म जोडले चिच्याउँछु। तर, आवाज निस्किँदैन।

उभिएको जमिन पुन: हल्लिन्छ। खस्न बाँकी भग्नावशेष मेरो टाउकोमा बजारिन थाल्छन्। म पुरिँदै जान्छुु। मेरा अन्तरिम सपनाहरूको फ्लाइट, बाआमाको ओठमा फुलेको एउटा सुखको फूल, प्रेमिकाको अँगालोमा त्यो बाँकी जीवन अनि फूलजस्तै सुन्दर जिन्दगीको यात्रा...। पुरिन्छ यही अँध्यारो बस्तीमा । _ Source-Nepal:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com