महिलालाई तीज नमनाउन आग्रह

बविता बस्नेत : सङ्घीयताका नाममा झडप हुँदा भदौ ७ गते सोमबार दिउँसो कैलालीको टीकापुरमा नेपाल प्रहरीका उच्च अधिकृतसहित सुरक्षाकर्मीहरू तथा स्थानीयवासी गरी २० जनाभन्दा बढीको मृत्यु भएको खबरले जीउ नै सिरिङ्ग भइरहेको बेला एउटा फोन आयो । फोनमा आफ्नो परिचय दिइसकेपछि उनले भनिन्— दिदी व्यस्त हुनुहुन्छ, अहिले नै समय लिऊँ भनेर हो । हामी अर्को हप्ता तिजको कार्यक्रम गर्दैछौँ, विशिष्ट अतिथिका रूपमा दिदी आइदिनुप-यो । 

प्रमुख अतिथिमा (एक नेतृको नाम लिँदै) उहाँलाई बोलाउँदै छौँ । मैले भनेँ– तिज आउन त अझै धेरै दिन बाँकी छ नि होइन र ? उनले भनिन्– हो, तर अन्त पनि मनाउनुपर्छ, हामीचाहिँ अलि चाँडै गरूँ कि भनेर । बहिनी आज कैलालीमा त्यतिका सुरक्षाकर्मी र अन्यको ज्यान गएको कुराले मलाई धेरै डिस्टर्व बनाएको छ भन्दै पछि कुरा गरौँला नि है भने । उनले अलि रिसाएको स्वरमा भनिन्– दिदी हामीले अतिथि नै त बनाउन खोजेका हौँ, कति अप्ठ्यारो मान्नुभएको ? कार्यक्रम लामो हुदैन, तिन चार जनाले बोलेपछि मज्जाले नाँच्ने हो, झडप त यस्तै त हो नि भइरहन्छ नि (शायद उनलाई घटनाको बारेमा थाहा थिएन) । त्यही त आज पनि नेपाल बन्द छ होइन त बहिनी भन्दै मैले भनेँ– यस्तो बेलामा रमाइलोचाहिँ कसरी गर्न मन लाग्छ ? भन्नुस् त ? नाँचेर खुशी मनाउनु पर्ने के छ र त्यस्तो? । जवाफमा केही नभनी खबर पाऊँ न है दिदी भन्दै उनले फोन राखिन् । उनी एउटा महिला समूह, सहकारी र मासिक पत्रिकासँग पनि सम्बद्ध छिन् ।

फोन राखेपछि मनमा अनेक कुरा खेल्यो । के महिलाले यो मुलुकका महत्वपूर्ण विषयमा संवेदनशील हुनुपर्दैन ? तिज महिलाका लागि रमाइलो गर्ने, नाचगान गर्ने, आफ्नो दुःखसुख बाँड्ने चाड हो । तर, समय–परिस्थिति कस्तो छ भन्ने कुरा महिलाले चाहिँ विचार गर्नुपर्दैन ? म तिजको अवधारणाको सधँै पक्षधर हुँ । बुहार्तनबाट मुक्तिको इतिहास बोकेको तिज महिलाको स्वतन्त्रतासँग जोडिएको चाड हो । महिलाको स्वतन्त्र अस्तित्व र पहिचानको गीत गाउँदै आएको तिज केही समययता स्वच्छन्दताको गीत गाउने पर्वका रूपमा परिणत हुँदै आएको छ । स्वच्छन्दको अर्थ दुईथरी हुन्छ । 

एउटा अरूको नियन्त्रण या अधीनमा नरहने अर्थात् स्वाधीन । अर्को अनुशासन या मर्यादामा नरहने उच्छृङ्खल स्वभावको । स्वअधीन ? हो, महिला अरूको होइन आफ्नै अधीनमा रहन चाहन्छन्, खोजेको पनि यही नै हो । त्यसैले यस अर्थको स्वच्छन्दताका गीत स्वीकार्य छन्, तर जहाँसम्म अनुशासन र मर्यादाको कुरा छ, कहाँ कति बेला के गर्ने भन्नेबारेमा पुरुषहरू जति अनुशासन या मर्यादामा रहनुपर्छ महिलाहरू पनि त्यत्तिकै रहनुपर्छ । सार्वजनिक स्थानको अनुशासन, मर्यादा र व्यक्तिगत सिमानाका कुराहरूबीचको फरक पनि महिलाले छुट्याउन सक्नुपर्छ । कतिपयले अहिले सामाजिक सञ्जालमा लेख्न थालेका छनु, ‘पहिला सिनेमाहलमा सिनेमा हेर्न जाँदा कस्तो छ, परिवारसँग हेर्न मिल्ने हो कि होइन भनेर चिन्ता गर्नुपथ्र्यो ।
अहिले टेलिभिजनमा तिजका गीत आउँदा परिवारसंगै बसेर हेर्न अप्ठ्यारो मान्नुपर्ने अवस्था आयो ।’ यस्तो लेख्दा कसैबाट यसलाई महिला अधिकारविरोधी पङ्क्तिका रूपमा बुझियो भने त्यो गलत हुनेछ । महिलाको स्वतन्त्र अस्तित्व र पहिचानसँग जोडिएको तिज अश्लीलतामा परिणत नहोस् भन्ने यो पङ्क्तिकारको चाहना हो ।

महिला हुन् या पुरुष या तेस्रोलिङ्गी अधिकारसँगै कर्तव्यहरू जोडिएर आउँछन् । मुलुकको नागरिक हुनुको अर्थमा देश दुःखमा हुँदा दुःखी हुनु र सुखमा हुँदा खुसी हुनु स्वाभाविक हो । दुःखमा आ–आफ्नो ठाउँबाट सकेको गर्नु नागरिक कर्तव्य हो । हामी अहिले दुईवटा कुराले दुःखी छौँ । एउटा हामीसामु प्राकृतिक विपत्तिले ल्याएको परिस्थिति छ भने अर्को राजनीतिक मानव सिर्जित विपत्तिको सामना गरिरहेका छौँ । राजनीतिक रूपमा मुलुक अहिले इतिहासकै सबैभन्दा विषम परिस्थितिमा छ । सङ्घीयताको नाममा यो मुलुकमा यसरी सपनाहरु बाँडिए कि तिनै सपनाका नाममा नेपाली अहिले एक–अर्कालाई मार्ने, काट्ने र जलाउने काममा अग्रसर भएका छन् । विभिन्न जिल्ला तनावग्रस्त छन् । नेतृत्व लाचारछाया बनेको छ, कसको छाया हो न ती आफू व्यक्त गर्न सक्छन् न त मान्छेजस्तो भएर शिर ठाडो गरी जनतासामु आँखा जुधाउन सक्छन् । भूकम्पले ल्याएको विपत्ति र मुलुकको राजनीतिक अवस्था यी दुवै देश र जनताका लागि प्रतिकूल परिस्थिति हुन् । भोलि केसम्म हुने हो यसै भन्न सक्ने अवस्था छैन ।

मुलुकको यस्तो अप्ठ्यारो परिस्थितिमा महिलाका पनि नागरिक कर्तव्यहरू छन् । तिजको अवसरमा एक वर्ष नाच्ने–गाउने कुरा थाँती राख्दा खासै फरक पर्दैन । तिजका नाममा गरिने ठूला–साना पार्टीहरू यो वर्ष नगर्दा नै राम्रो । तिजका लागि गरिने खर्च कुनै गाउँमा पु-याएर प्रत्यक्ष रूपमै पीडितहरूलाई सहयोग गर्न सके जिन्दगीमा ठूलो आत्मसन्तुष्टि मिल्ने छ । आफैँले सबै काम गर्नुपर्छ भन्ने छैन । जसले गरिरहेको छ उनीहरूमार्फत नै गए हुन्छ । जस्तो, पत्रकार विजयकुमारले सिन्धुपाल्चोकको एउटा गाउँ नै बनाउँदै हुनुहुन्छ, सहयोग गर्न इच्छुक सबैलाई उहाँले आह्वान गर्नुभएको छ । गोरखामा एकल महिला समूहको नेतृत्वमा महिलामैत्री गाउँ बन्दै छ, त्यहाँ सहयोग गरे हुन्छ । राम्रो काम गर्नेहरू जसलाई साथ दिए पनि हुन्छ । 

महिला तथा अन्य समूहले अन्य वर्षहरूमा झैँ दर खाने पैसा मात्रै जम्मा ग-यो भने त्यो सानोतिनो रकम हुने छैन । विभिन्न सहकारी, समूह, स्कुल, कलेज, राजनीतिक दल, तिनका भ्रातृ सङ्गठन, टोलटोलमा भएका सङ्घसंस्थाहरू सबैले यो वर्षको दरखाने पैसा विपत्तिले ल्याएको दुर्दशाबाट मानिसलाई मुक्ति दिलाउन उपयोग गर्न सके त्यो मानवीय कुरा मात्र होइन नागरिक कर्तव्यसमेत हुनेछ । समान अवसर, समान चुनौती अहिलेको महिला पुस्ताको नारा बन्नुपर्छ । मुलुकमा अहिले अवसरभन्दा चुनौती धेरै छन् । त्यसैले अहिलेदेखि तिजको दरको चिन्ता गरेर बस्नुभन्दा यो वर्षको तिजलाई मानवीय संवेदनाको दृष्टिले हेर्दै मुलुकको अवस्थाप्रति संवेदनशील भएर सहयोग गर्ने र दुःखमा हात बढाउने कार्यका साथ मनाउन आग्रह गर्दा अन्यथा हुने छैन । मुलुकमा देखिएको यो दुःखद् परिस्थितिलाई लिएर सङ्घीयताका नाममा नेताहरूले रोपेको विषवृक्षलाई हुर्किन नदिन महिलाको भूमिका के हुन सक्छ त्यतातिर पनि हामी सबैको ध्यान जानु आवश्यक छ । स्रोत-घटना र विचार :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com