कुम्भेश्वरमा हजारौँ दर्शनार्थी

ललितपुर, १२ भदौ ,

आज बिहानैदेखि ललितपुरको बङ्गलामुखीस्थित कुम्भेश्वरमा हजारौँ दर्शनार्थी मेला भर्न लामबद्ध भएका छन् । 

जनैपूर्णिमाको दिन सो स्थानमा मेला भर्न स्थानीय पाटनवासी, चापागाउँ, हरिसिद्धि, ठैव, धापाखेल, सुनाकोठी, बुङ्मती, खोकना, गोदावरीलगायत उपत्यकाका विभिन्न स्थानबाट दर्शनार्थीको भीड लाग्ने गरेको छ । 


 मेला भर्न गएका भक्तजनले त्यहाँ स्नान गर्ने, रक्षा बन्धन बाँध्ने, जनै फेर्ने, पूजा गर्ने चलन रहँदै आएको छ । बिहानैदेखि भक्तजनलाई टीका लगाई हातमा रक्षा बन्धन (डोरो) बाँध्ने काममा ब्राह्मण पुरोहितको लाम नै लाग्ने गरेको दृश्य देख्ने गरिन्छ । त्यहाँँ आएका भक्तजन कोही त्यहाँ रहेको धारामा त कोही पोखरीमा स्नान गरेको दृश्य पनि देख्न सकिन्छ, त कोही पूजा गर्न लामबद्ध भएर बसेका देख्न सकिन्छ । 

आजकै दिन तामाङ समुदायका झाँक्री (बोम्बो) ले ढ्याँङ्ग्रो बजाउँदै नाचगान गर्ने चलन मेलाको अवसरमा गर्ने गरिन्छ । लामबद्ध रुपमा आफ्नो धर्म संस्कृति जोगाउन उनीहरु जिल्लाकै दुर्गम गाउँहरु कालेश्वर, शङ्खु, गोटीखेल, माल्टालगायतका स्थानबाट आउने गर्छन् । 

दिनभरि नै कुम्भेश्वरको मेलामा भाग लिन टाढाटाढाबाट भक्तजन आउने गरेको स्थानीय अमीर बज्राचार्यले बताउनुभयो । यहाँ स्नान गरी पूजा गरेमा परिवारमा सुख शान्ति मिल्ने उहाँको तर्क रहेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com