डा. निमा पुनले मिस मंगोल नेपाल २०१५

काठमाडौं साउन ३२,

भरतपुर मेडिकल कलेज चितवनमा कार्यरत २३ वर्षीया डा. निमा पुनले मिस मंगोल नेपाल २०१५ को ताज चुमेकी छन्।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगितामा आफ्ना ३० प्रतिस्पर्धीलाई उछिन्दै डा. पुनले शीर्ष उपाधिका साथ एक लाख रुपैयाँ पुरस्कार पनि प्राप्त गरेकी छन्।

देशभरका १८ जिल्लाका प्रतियोगीको सहभागिता रहेको प्रतियोगितामा सुनसरीकी २२ वर्षीया स्वरूपा थापामगर फस्ट रनरअप र भोजपुरकी २० वर्षीया सम्झना राई सेकेन्ड रनरअप घोषित भए।
स्वरूपा र सम्झनाले क्रमशः ५० र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। सम्झनाले मिस स्माइलको उपाधि पनि हात पारेकी छन्। नेपाली सौन्दर्य प्रतियोगितामा आफ्नै पहिचान बनाएको मिस मंगोल नेपालको सातौं संस्करणमा पूर्ण लामा, चूडामणि भट्टराई, सुविन लिम्बू, रेखा शाह, हिमाल राई, सिपोरा गुरुङ, रमेशचन्द्र राई, सपना रोकामगर, भरतमणि लिम्बू र मनिका राई निर्णायकका रूपमा रहेका थिए।
प्रतियोगीहरूलाई कोरियोग्राफर रोजिन शाक्यले तीन साता प्रशिक्षण थिएका थिए।प्रतियोगितामा गत वर्षकी प्रतियोगी मेरिना लिम्बूलाई 'प्रिभियस एक्सलेन्स अवार्ड' प्रदान गरिएको थियो। 
उत्कृष्ट प्रस्तुति हुँदाहुँदै पनि कुनै उपाधि प्राप्त गर्न नसकेका प्रतिभावान् प्रतियोगीलाई अर्को वर्ष यो अवार्ड प्रदान गरिने गरिएको छ। सुन्दरता, बौद्धिकता र संस्कृतिको फ्युजनका रूपमा लिइएको मिस मंगोल नेपालमा १६ देखि २४ वर्ष उमेरका, घटीमा एसएलसी पास एवं पाँच फिटभन्दा बढी उचाइ भएका आदिवासी समुदायका अविवाहित युवतीले भाग लिन पाउने प्रावधान रहेको छ।
कार्यक्रममा मनोज गजुरेलको हास्य प्रस्तुतिले उपस्थित दर्शकलाई पेट मिचीमिची हँसाएको थियो।त्यसैगरी धीरज राई, कृष्ण कँडेल, अशोक मुकारुङ, सुमी राईको गीत एवं किशोर खड्का र निशा पोमुको नृत्यबाट पनि दर्शकले भरपुर मनोरञ्जन लिएका थिए।
मिस मंगोल नेपालको यो सातौं संस्करण हो। यसअघि सृष्टि राजकर्णिकार, वर्षारानी गुरुङ, सुम्निमा देवान, मुस्कान लिम्बू र एनिस्ता गुरुङले शीर्ष उपाधि चुमिसकेका छन्। _ अन्नपूर्णबाट:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com