चितवनमा रगतको अभाव

चितवन आषाढ ३१,

वर्खायाम सुरु भएसँगै चितवनमा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार करिब १५ दिनयता केन्द्रमा रगतको अभाव देखिएको हो । 

बढ्दो गर्मी, बर्सातको समय, खेतीपातीमा रक्तदाताको व्यस्ततालगायत कारण रगतको अभाव भएको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले बताए । 

चितवनमा दैनिक करिब डेढ सय युनिट रगतको माग भए पनि सो माग पूर्ति गर्न नसकेको उहाँको भनाइ छ । यो समयमा अस्पतालमा बिरामीको चाप बढ्ने हँुदा रगतको माग बढी हुने तर रक्तदान कार्यक्रम कम सञ्चालन हुने गर्दछ । 

रगतको अभाव भएपछि रक्तदान गर्ने सङ्घसस्थालाई रगत सङ्कलन गर्न कार्यालयले अपिल गरेको प्रमुख पौडेलले बताए । रगतको अभाव भएपछि अति आवश्यक पर्नेहरुले आफँैले रक्तदाता खोजेर रगतको पूर्ति गरिरहेका छन् भने स्वयम्सेवकले समेत सहयोग गरिरहेको केन्द्रले जनाएको छ । 

जिल्लामा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बढी रगतको आवश्यक पर्ने हुन्छ भने यहाँका ठूला दुई मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र निजी अस्पतालमा पनि पछिल्लो समय हुने गरेका शल्यक्रियाका कारण रगतको माग बढ्दो छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com