मुगु, मातृ तथा बाल स्वास्थ्यको स्तरमा सुधार

काठमाडौँ, १३ साउन

गरिबी र अशिक्षाबाट पछाडि रहेको मुगु जिल्लामा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरी खासगरी मातृ तथा बाल स्वास्थ्यको स्तरमा सुधार ल्याउन केरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका)ले नमुना कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

जिल्लामा एक जिल्लास्तरको अस्पताल, पाँचवटा स्वास्थ्य चौकी, दुईवटा उपस्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना तथा स्तरीकरण गर्ने लक्ष्यका साथ मातृ तथा बाल स्वास्थ्यमा सुधार एवम् परिवार नियोजनसम्बन्धी परियोजना सञ्चालन गर्न लागिएको हो ।

सो परियोजना कार्यान्वयनका लागि गरिएको मुगु जिल्लाको मातृ तथा बाल स्वास्थ्यसम्बन्धी एकीकृत जिल्ला पहिचानसम्बन्धी अध्ययन र त्यसका आधारमा तयार गरिएको रणनीतिहरुका बारेमा जानकारी दिन आज यहाँ आयोजित अन्तक्र्रियामा सहभागी वक्ताहरुले जिल्लास्थित सरकारी निकायहरुसँगको समन्वयमा परियोजना सञ्चालन गर्नुपर्ने, दोहोरोपन आउन दिन नहुने र जनतालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गर्नुपर्ने सुझाव दिइयो ।

सन् २०१८ सम्म ती स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार निर्माण, संलग्न स्वास्थ्यकर्मीहरुको क्षमता विकास र आवशयक उपकरणहरुको व्यवस्था गरिने परियोजना प्रबन्धक ह्यङ युनले बताए । कोरिया नेपालको शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार विकासको पक्षमा रहेको बताउँदै उहाँले जिल्लामा मातृ तथा बाल स्वास्थ्यको अवस्था निकै कमजोर रहेकाले नमुनको रुपमा सुरुमा छ वटा गाविसलाई मात्र लिइएपनि क्रमशः यसलाई विस्तार गर्दै लैजाने छौँ भने ।

भौगोलिक विकटताले गर्दा मानव तथा वित्तीय स्रोत व्यवस्थापनको अप्रयाप्ततासँगै औषधिको अभाव, भण्डारणको समस्याको कारण मुगु जिल्लामा मातृ तथा बाल मृत्यु दर उच्च रहेको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com