तीन दशक अघिको मेरो समाज

म सानो छँदा या यसरी भनौ आज भन्दा ३० वर्ष अगाडिको कुराहरु मलाई राम्रो संग स्मरणछ । मेरो जन्म सर्लाहीको रानीगंज २ गाबिस मा भएको हो । म जन्मिएको ठाउँमा धेरै जात जतिको बसोबास छ । चाहे जुनसुकै जातको होस् उतिखेर मात्र अपन्वात्वले महत्व र अर्थ राख्दथ्यो । हो त्यतिखेर यो जात त्यो जात भनि औंलो ठड्याइदैनथ्यो जसरी अहिले गरिन्छ ।

 इमान्दारिताका साथ् भन्नु पर्दा त्यतिखेर उजात कुजात भन्ने कहिल्यै महसुस भएन वस भाइचाराको व्यबहार भएको मात्रै थाहाछ मलाइ । पश्चिम दुख्दा पुर्व रुन्थ्यो र उत्तर असक्त हुँदा दक्षिण दुहाइ माग्थ्यो । मलाइ राम्रो यद्छ  मेरो घरमा भाईको जन्म भयो गाउँका आफन्त देखि छरछिमेक सबै सबै जम्मा भए र कति रमाइलो संग हांसी खुशी भाइको न्वारन गरेको हिजो जस्तो लाग्छ । गाउँमा कसैको देहान्त भयो भने आधा भन्दा बडी मानिसहरु मलामी जान्थे त्यहाँ कुनै जात जाति को भनेर हेरिदैन थियो ।

कसैको छोरीचेलीको बिहे भयो भने आफन्ता त छदैछन् छरछिमेकी पनि भोको बसेर कन्यादान दिने चलन थियो । हिजै जस्तो लाग्छ ति मेरी आमा बिरामी पर्दा गाउँका छरछिमेकहरु रात-रात भर घरभित्र ठाउँ अपुग हुँदा आँगनमै बसेर भएपनि रात काट्थे यो त अत्यन्त खुसिको कुरा हो ।

हो, एक समय यस्तो थियो हाम्रो छिमेकी एक काका हाम्रो हर खुसिमा खुसि हुनुहुन्थ्यो , र  उहाँको खुसिमा हाम्रो घर परिवार खुसि ले गदगद हुने गर्दथ्यो । तर आज अचम्म लाग्दैछ तिनै काकाको छोरा छोरीले बाहुन छेत्री पो भनेर छुटाएको सुन्दा ।

म पढ्ने स्कुलमा सबै खाले शिक्षक-शिक्षिकाले पढाउने गर्नु हुन्थो खै कहिले पनि त्यो ठाउमा यो जात उ जात भनेर हेरिदैन थियो । सरस्वती पूजा हुन्थ्यो त्यतिखेर बत्ति को व्यबस्था थिएन हाम्रो गाउँमा लाल्टिन मैन्तोल बालेर रात भरी कार्यक्रम हुन्थो त्यहाँ कसैको गिरेको गिद्धे नजर पर्दैन थियो । आज जताततै बत्तिको सुबिधा छ तर पनि छोरी चेलीको दिनदहाडे  बलात्कार देखि अनेक नराम्रा घटनाहरु घटिरहेका छन् , कस्तो दुख लाग्छ ।

उतिखेर हाम्रो सर तामाङ्ग हुनुहुन्थ्यो उहाको ठुलो लोसाहर पर्व हामी सबै थरीको जात मिलेर हांसी खुशी मनाउथ्यौ । फेरी त्यसैगरी यादब महतो सर् को पनि ठुलो पर्व छट सबै मिलेर मनाइन्थ्यो त्यसमा कसैले पनि जात ले हेरिदैन थियो । मुसलमान सरको पनि ठुलो चाड रम्झान र दाह भन्ने चाड पर्व सबै थरिको जात भएर धुम धाम संग मनाइन्थ्यो । त्यसैगरी दसैमा दुर्गा पूजा सबै थरिका जातजाति मिलेर ९ रात सम्म धुम धाम संग मनाइथ्यो टिका लगाउने ले टिका लगाउथे नलगाउने ले कहिले बिरोध गर्दैन थिए ।

लक्ष्मी पुजामा रातभरी भैलो देउसी खेलिन्थ्यो खै कहिले यो जातले खेल्ने त्यो जातले न खेल्ने भनिदैन थ्यो । सबै थरिका साथी भएर खेलिन्थ्यो।  हाम्रो घरमा सत्य नारायण को पुजा लगाउदा सबै नजिकका तामांग मगर नेवार सबै भोको बसेर संगै पूजा आजा गरिन्थ्यो एक जनाको घरमा स्वस्थानी माताको ब्रत बस्ता सबै थरिको जात जाति गएर हातमा फुल लिएर कथा सुनेको हिजो जस्तो लाग्छ । 

तर आज समय संगै आएको परिबर्तनले र राजनैतिक खिचलोले पनि अरु जटिल बनाइदिएको छ एकार्कामै, छिमेकिमै । मानिसहरु  शिक्षित हुँदै आए अब गाउँ घरमा सबै राम्रो हुन्छ भन्नु हुन्थ्यो हाम्रो हजुर बुवा हजुर आमा तर आज त्यसको बिपरित तिर दौडी रहेछ समाज । सबै शिक्षित छन् तर त्यो त्यतिबेलाको मेलमिलाप भने हराएर गएको छ । सदभाव चिसिएको छ । त्यो आफ्नो पन र आफन्ता सबै इर्ष्य र घमण्डमा परिणत भएको छ । 

पहिले  हाम्रो गाउँमा धारा को सुबिधा थिएन ईनार हुन्थ्यो । त्यो पनि सबैको घर छेउमा हुदैन थियो सबै जम्मा हुँदा लाइन हुन्थो पानी भर्ने सबै आफ्नो आफ्नो पालो कुरेर पानी भरिन्थ्यो कसैले कसैलाई सानो भए भन्ने सोच हुदैन थियो आज सबैको घर को छेऊमा  यसो भनौं घर भित्रै पानीको धारोछ । तर सोच भने छोटो/सानो भएको छ ।

उबेला हामीलाई कसैले कुनै घरको ठेगाना सोध्दा हामी त्यो हाम्रो काका काकीको घर उ त्यहाँछ भनेर देखाउथ्यौं तर आज मान्छे ति नै हुन् तर बोल्ने तरिका र सोच्ने मन फरक भएको छ । हामीलाई आफु भन्दा ठुलो लाई आधार गर्नु र सानो लाई माया गर्नु भनिथ्यो हामी त्यो पालना गर्थ्यौं आज त्यसलाई उल्टो हिसाबले सोच्ने/हेर्ने  गरिन्छ । 

कठै के समय आयो ! आज मलाई भन्न मन लागेको कुरा त्यतिबेलाको मानिस अशिक्षित भएर पनि कत्रो मिठो , न्यानो मेलमिलाप सदभाव थियो । तर आजको शिक्षित समाजका सचेत भनाउँदा व्यक्तिहरुले दुनिया समाजिकसंजाल भरि यो जात उ जात भनेर डम्फु ठटाएको देख्दा भित्रि मन दुखेर आउँछ । खोइ हिजोको न्यानो सदभाव र एकता ? 

अहिलेको शिक्षित संकुचित समाज भन्दा त बरु पहिलेको अशिक्षित समाज कत्ति राम्रो थियो ।  कमसेकम मानिसमा मानवता थियो । सभाव्यता थियो । ती सब अहिले छ नै कहाँ र !

हिजो र आजको तुलना गर्दै मेरो अन्तर मन कहिलेकई खुब दुख्छ हल्लै हल्लाका बिचमा अब देश टुक्रिने कुरा सुन्छु म भित्रको '' म '' काप्दै आफ्नो अस्तित्व खोज्न थाल्छ । अनि नेपाली हुनुको गौरव खोसर्न थाल्छ । के एकताका थाक्रो ढल्नै लागेको हो त हँ ?  आफैं लाइ प्रश्न गर्छु । त्यस्तो नहोस , अहँ त्यस्तो हुनुहुन्न । सदियौं देखि हामी स्वतन्त्र स्वाभिमानमा बाँचेका बिर गोर्खालीका सन्तान हौँ । 

हिमाल , पहाड , तराइ हामी कोहि छैनौं पराइ । नेपाली माटोमा जन्मी हुर्केका हामी नेपाली हौँ र हाम्रो नसा नसामा सगरमाथाको अमृत बगिरहेकोछ । तराइ दुख्दा हिमाल र पहाड दुख्छ , पहाड दुख्दा तराइ र हिलाम दुख्छ र हिमाल दुख्दा पहाड र तराइ दुख्छ । हो यहीं नै हो हाम्रो नेपाली पन र यस्तै हुनुपर्छ । हामी स्वाभिमानी नेपाली सदा शीर उचो पारेर एक भै हातमा हात र साथमा साथ् मिलाई अघि बढ्नु पर्छ न कि तँ बाहुन , तँ क्षेत्री , तँ राइ, तँ मगर , त लिम्बु , तँ गुरुङ , तँ तामांग अहँ यसरी जात होइन मन ठुलो र फराकिलो बनाइ हिजो जस्तै मिलेर हर दुखशुख बाडी बस्न सकूँ हामी र हाम्रो संस्कार र संस्कृतिका साथ् : जय नेपाल ।

सान्ता कार्की
भक्तपुर / काठमाण्डौ 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com