मौलिकतामा जोड, सालको टपरीमा सत्कार

तनहुँ, असार २२ ,

आदिकवि भानुभक्त आचार्यको जन्मस्थलको प्रचार गर्न सञ्चालन गरिएको होम स्टे प्रचारमा यहाँका मगर समुदायले मौलिकतामा जोड दिएका छन् । गाउँ पुग्ने पाहुनालाई स्थानीय महिलाले फूलमालाले स्वागत गरेपछि सालको टपरीमा सेलरोटी सहितको परिकार चखाउँछन् ।

पाहुनालाई आकर्षित गर्न आफूहरूले स्थानीय स्रोतसाधनको उपयोग गरी अर्गानिक खाना खुवाउँदै आएको होम स्टेका अध्यक्ष पदम रानामगरले बताए । यहाँका १० घरमा होम स्टे सञ्चालन गरिएको छ । उनले भने, ‘सुरु भएदेखि ५० जना पाहुना आइसके ।’ सालको टपरीमा सेलरोटी, गुन्द्रुक र भटमासको अचार, लोकल कुखुराको मासु, मकै र कोदोको ढिँडोलगायत परिकार खुवाइने भएपछि आन्तरिक पर्यटकले रुचाएको उनले बताए ।

‘जे हामीकहाँ फल्छ । पाइन्छन् । त्यही खुवाउँछौं । मन पनि पराएका छन्,’ अध्यक्ष रानामगरले भने, ‘सालको टपरीमा परिकार दिने चलन नै अहिले हाम्रो चिनारी बनेको छ ।’ गाउँबाट करिब आधा घण्टाको दूरीमा आदिकवि भानुभक्तको जन्मस्थल छ । 

पहिलो चरणमा आफूहरूले १० घरबाट होम स्टे सञ्चालन गरेको राना गाउँ आमा समूहकी अध्यक्ष नरु रानाले बताइन् । सबैमा पाहुनाका लागि घरको एउटा कोठा छुट्याइएको छ । उनले भनिन्, ‘हामीले हाम्रो मौलिकता बुझाउने कुरामा मात्रै जोड दिएका छौं । यो अभ्यासको प्रशंसाले काम गर्न जाँगर बढाएको छ ।’ होम स्टे सञ्चालनसँगै आफ्ना संस्कारका गीत, नृत्य र पोसाकको पनि खोजी गरिएको छ । उनले भनिन्, ‘कौरा नृत्यमा स्थानीयसँगै नाचेर पाहुनाले मनोरञ्जनसमेत लिन सक्नुहुन्छ ।’

खाना पकाउने, अतिथि सत्कार र सरसफाइको तालिम पाएपछि गाउँलेमा होम स्टे सञ्चालनको लहर अलेको हो । उक्त क्षेत्रबाट हिमालको मनोरम दृश्य र गोरखा, लमजुङ र तनहुँको संगमस्थलसमेत देख्न सकिने भएपछि आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दै गएको स्थानीय युवा नवयुवा क्लबका अध्यक्ष संगम रानाले बताए ।

भानु ९ दोरदोर राना गाउँमा होम स्टेका पाहुनालाई सालको टपरीमा सेलरोटीसहित स्थानीय परिकार चखाउने तयारी गर्दै स्थानीय महिला । पूर्ण विके/कान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com