मौसम सारीको

काठमान्डू साउन ९,

साउन महिनाभरि अधिकांश महिला साडीमा सजिएर हिँड्छन् । साडी लगाउने चलन नहराए पनि झन्झटिलो हुने भएकाले हिजोआज अधिकांश महिला साडी लगाउन असहज महसुस गर्छन् । त्यसैले पनि धेरैजसो महिलाका लागि साडी चाडपर्वको पहिरन हुन पुगेको छ । साउन महिनाको हरेक सोमबार तिनै महिला बाध्यता वा रहर जेमा भए पनि साडीमा सजिन्छन् । सहजताका हिसाबले होस् वा फेसन, हिजोआज साडी लगाएर हिँड्ने महिलाहरूको संख्या घट्दै गएको छ । बहुसंख्यक गृहणी पनि साडीमा देखिन छाडेका छन् । 

कुनै बेला विवाहित नारीका लागि अनिवार्यजस्तै मानिएको साडी अहिले औपचारिक पहिरन बन्दै गएको छ । सहरमा मात्र होइन, गाउँका महिलाहरू पनि साडी लगाउन भन्झट मान्न थालेका छन् । त्यसको प्रमुख कारण समयअनुरूप बदलिँदो फेसन नै हो । साउन महिनमा भने अधिकांश महिला साडी नै लगाउँछन् । सोमबारे व्रत बस्नेहरू साडी लगाएर मन्दिर जान्छन् । विवाहित महिलाहरू हरियो, पहेंलो र रातो साडीमा सजिएर हिँडेको दृश्यले हिजोआज साउन वा चाडपर्वलाई नै संकेत गर्छ । यसका साथै यस्ता अवसरमा अविवाहित महिलाहरू पनि साडी लगाउन झन्झट मान्दैनन् । मठ, मन्दिर, सार्वजनिक स्थल तथा महिलाहरूको जमघट हुने स्थानहरूमा साडीकै फेसनले प्राथमिकता पाएको देखिन्छ । 

साडीको इतिहास लामै छ । पहिले खाँदीको साडी वा धोती लगाउने चलन थियो । समयसँगै विकास हुँदै गएको साडीको फेसन अहिले स्टाइलिस साडीमा परिणत भैसकेको छ । अहिले सप्को मार्न र साडीको चुना बनाउन लामो समय खर्चिनु नपर्ने डिजाइनर साडी पनि तयार हुन थालेका छन् । यतिबेला कलेक्सन तथा बुटिकहरू साडीका विभिन्न आकर्षक डिजाइनले भरिभराउ छन् । 
अरू बेलाभन्दा यो महिना साडीको खरिद–बिक्री बढी हुने व्यवसायीहरू बताउँछन् । अहिले ज्याकेट स्टाइलको साडीको फेसनले बजार तताएको छ । यो साडीको रूप ब्लाउजले निखार्छ । यसलाई ट्रेन्डी बनाउन ज्याकेट स्टाइलको स्टिच ब्लाउज अथवा सिम्पल ब्लाउजले सघाएको छ । डेनिम वा लेगिङका साथ साडी लगाउनेहरू पनि देखिएका छन् । डेनिम वा लेगिङका साथ साडी लगाउँदा चुना अथवा मुजा बनाएर लगाउन सकिन्छ । स्कार्फ स्टाइलमा साडीको पल्लु अगाडि हुन्छ । 

अहिले साडीको नयाँ ट्रेन्डका रूपमा कम्मर बेल्ट साडी देखा परेको छ । यो साडी लगाउँदा बेल्ट अथवा स्कार्फ प्रयोग गरिन्छ । यसलाई कम्मरमाथि ब्लाउजको लाइनसँगै अथवा हिपको केही माथि बाँधेर लगाइन्छ । यसैगरी अहिले फेसनमा रहेको लेहङ्गा साडी पनि रोयल लुक्सका लागि लोकप्रिय छ । यी दुवै साडी विवाहित तथा अविवाहित सबैका लागि ट्रेन्डी मानिन्छ । सरस्वती कटुवाल-साप्ताहिक:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com