भनाभन पछी साथीको हत्या

काठमाडौं साउन १२, 

एउटै अटोमोबाइलमा काम गर्ने साथीबीच भनाभन हुँदा दोलखा मालीका अशोक खड्काले ज्यान गुमाउनुपरेको छ ।

म्हैपीस्थित सागर प्रजापतिले सञ्चालन गरेको अटोमोबाइल वर्कसपमा कार्यरत मकवानपुर हटियाका विज्ञान भनिने उमेशविक्रम बिष्टले आफूसँगै काम गर्ने खड्काको हत्या गरेको प्रहरीले जनाएको छ ।

खड्का विगत १८ महिनादेखि उक्त वर्कसपमा काम गर्दै आएका थिए भने बिष्टले गत असार २५ गतेदेखि मात्र काम थालेका थिए । महानगरीय अपराध महाशाखाले खड्काको हत्यामा संलग्न बिष्टलाई आइतबार राति पक्राउ गरिएको जनाएको छ ।

ग्यारेजमा भएको पिकान्टो गाडी बनाउन सञ्चालक प्रजापतिबाट खड्काले लिएको रकम बिष्टलाई नदिएको विषयलाई लिएर विवाद हुँदा बिष्टले खड्काको हत्या गरेको प्रहरीको भनाइ छ ।

असार ३१ गते राति विवाद भएपछि रक्सीले मातेका बिष्टले खड्कामाथि गलले प्रहार गरेका थिए । गलले लागेर घाइते भएका खड्का उछिट्टिएर नजिकै रहेको निसान गाडीभित्र छिरेका थिए ।

बिष्टले फेरि निसान गाडीभित्रै छिरेर गलले घाँटीमा रोपेपछि खड्का बेहोस भएका थिए । प्रहरीका अनुसार गाडीभित्र छटपटाइरहेका खड्कालाई बिष्टले ५–६ पटक गलले प्रहार गरेका थिए ।

__ हत्यापछि लिंग र अण्डकोष काटियो ;
खड्का बेहोस भएपछि बिष्टले खड्काको लिंग र अण्डकोष काटिदिएको प्रहरीले जनाएको छ । साथीको हत्या गरेपछि अत्तालिएका बिष्टले गाडीभित्रै कम्बलले खड्काको शव छोपेर वर्कसपमा रहेको कुकुर फुकाएर छाडिदिएका थिए । फुकाउने क्रममा कुकुरले बिष्टलाई टोकेको थियो । त्यसपछि राति नै बिष्ट म्हैपीको बाटो हुँदै बसपार्कमा गएर बसेका थिए ।

प्रहरीले साउन १ गते बिहान ग्यारेजमा रहेको बा३च ५४११ नम्बरको निसान गाडीभित्र धारिलो हतियारले घाँटी र अण्डकोष चिरिएको अवस्थामा खड्काको शव फेला पारेको थियो ।

हत्यामा संलग्न बिष्टलाई तोडफोड गरेको आरोपमा नयाँबानेश्वर प्रहरीले गत पुस ५ गते सार्वजनिक मुद्दा चलाएको थियो । गैरीगाँउस्थित रामहरि आचार्यले सञ्चालन गरेको वर्कसपमा तोडफोड गरेको अभियोगमा जेल परेका बिष्ट गत चैत २६ गते छुटेका थिए ।

प्रहरीले बिष्टको साथबाट खड्काले प्रयोग गरेको मोबाइल र उनको हत्या गर्न प्रयोग भएको कैंची बरामद गरेको छ । महाशाखाले थप अनुसन्धानका लागि बिष्टलाई प्रहरी वृत्त लैनचौर पठाएको छ ।_अन्नपूर्णबाट:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com