सिद्धिका भूकम्प पीडित चेपाङलाई जस्तापाता वितरण

सिद्धि साउन ८,

होमनाथ सापकोटा : चितवनको पहाडी गाविस सिद्धिका भूकम्प पिडित चेपाङहरुलाई आज जस्तापाता वितरण गरिएको छ । सपना भिलेज सोसियल इम्प्याक्ट सौराहाले पहिलो चरणमा १० घर परिवारलाई २ बण्डलका दरले १० फुटे जस्ता वितरण गरिएको सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिनुभयो । 

सिद्धि गाविस वडा नं.५ चेउराङका भूकम्पले घर पूर्ण रुपमा क्षति भएका परिवारलाई गाविस र जिल्ला दैवि प्रकोप उद्धार समितिको सिफारिसका आधारमा जस्ता वितरण गरिएको अध्यक्ष गिरीले बताउनुभयो । सोसियल इम्प्याक्टले सिद्धि वडा नं.८ नान्दारका १५ घर परिवार भूकम्प पिडित चेपाङहरुलाई आगामी शनिवार जस्ता वितरण गरिने इम्प्याक्टका म्यानेजर सुजन बस्नेतले बताउनुभयो । 
बैशाख १२ गते आएको भूकम्प पछि इम्प्याक्टले सिद्धि गाविसका सबै ६७४ घर परिवारलाई खाद्यान्न राहात वितरण गर्नुका साथै भत्किएका सबै विद्यालयहरु पुनर्निमाण गरिरहेको छ । इम्प्याक्टले सिद्धि गाविसमा विगत लामो समय देखि शिक्षा,स्वास्थ्य,आयआर्जन एवम् सामाजिक रुपान्तरणको लागि उल्लेखनिय काम गरिरहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताउनुभयो । 

सौराहा देखि सिद्धि सम्म जस्तापाता ढुवानीको लागि सशस्त्र प्रहरी सिमा सुरक्षा बल आपटारीले यातायातको व्यवस्था गरेको थियो । जस्तापाता वितरण कार्यक्रममा चेपाङ सहकारीका अध्यक्ष महेन्द्र चेपाङ, नेपाली काँग्रेसका यामप्रसाद चेपाङ, एमालेका दामाराम चेपाङ,एमाओवादी सिद्धि गाउँ कमिटीका इन्चार्ज गयासिंह चेपाङ लगायतको सहभागिता रहेको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com