बाख्राले फेरियो चेपाङ्गको जीवनशैली

चितवन असार २१, 

बिष्णुबाबु जोशी : चितवन सिद्धी गाविसको वडा नं. ८ मा रहेको पाइमाराङ्गका डील्ली चेपाङ्गको परिवारलाई चार बर्षअघिसम्म आफ्नो खेतीले ६ महिना पनि खान पुग्थेन । ७ जनाको परिवारको गुजारा चलाउन या त मेलापर्व जानु पथ्र्यो या त तीन चार घण्टाको बाटो धाएर मजदुरी गर्न शहरतिर झर्नुपथ्र्यो । 

बि.सं. २०६९ सालको श्रावण महिनामा तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सिद्धी भ्रमणपछि डील्ली चेपाङ्गको मात्र होइन, सिद्धी गाविसका अधिकांश चेपाङ्गहरुको आर्थिक स्थिति सुधारिने क्रममा छ । तात्कालीन प्रधानमन्त्री डा भट्टराईको निर्देशनमा सोही समयदेखि सिद्धीमा गरिबी निवारण कोषको कार्यक्रम लागु भएपछि सो गाउँमा कोषले मेड नेपालमार्फत विभिन्न समूह गठन गरी आयआर्जनको कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

सिद्धी गाविसका ५० भन्दा बढी समूहमध्ये पहिलो र जेठो समूहको नाम हो, बन्दीपुरे सामुदायिक संस्था । सोही संस्थाका अध्यक्ष हुन्, डिल्ली चेपाङ्ग । २०६९ को भदौमा समूहमार्फत ६ प्रतिशत ब्याजदरमा २५ हजार ऋण लिएर बाख्रापालन शुरु गरेका डिल्लीले हाल ४० वटा बाख्रा बनाइसकेका छन् । जसमध्ये, आउने दशैँँमा बेच्न तयारी १५ वटा खसीबोकाहरु छन् । समूहबाट लिएको ऋण तिरेर पनि उनले पुन ऋण निकाल्ने सुर गरिरहेका छन् । 

सस्तो व्याजदरको ऋण भएको हुनाले अब उनलाई आफ्नै पखेरामा डालेघाँसखेती विस्तार गर्न रहर लागेको छ । डिल्ली भन्छन्, पैसा कमाउन भौतारिएर हिँड्नु नपर्ने रहेछ । लगानी गर्ने पैसा पाईयो र त्यसलाई सही तरिकाले लगानी गरियो र मिहीनेत पनि सोहीअनुसार गरियो भने राम्रै पतिफल पाइने रहेछ । गाउँमै बसेर जेनतेन एसएलसीसम्म अध्ययन गरेका डिल्लीलाई जागिर नपाएकोमा पनि कुनै पछुतो छैन । आफैँ स्वरोजगार बनेका छन्, भन्छन्, आफैँ मालिक आफैँ कामदार । 

परिवारका सबै मिलेर खेतीपातीदेखि बाख्रको स्याहार सुसारसम्म गर्न भ्याएकै छन् । डिल्ली भन्छन्, यस आर्थिक वर्षको अन्त्यसम्ममा सिद्धि गाविसका सबै वडाहरुमा गरिबी निवारण कोषको कार्यक्रम लागु गरिने र त्यसको निम्ति रु १ करोडभन्दा बढी रकम घुम्ती कोषको रुपमा आय आर्जनमा परिचालन गरिने मेड नेपालका कार्यक्रम निर्देशक शैलेश आचार्यले बताउनुभयो । 

गरिबी निवारण कोषको मुख्य उद्देश्य नै न्यून आय भएका डिल्ली चेपाङ्गजस्तै समूदायको आयआर्जन बृद्धि गरेर जीवनस्तर उकास्ने रहेको पनि आचार्यले बताउनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com