चेपाङ्ग गाउँमा जस्ता वितरण

चितवन असार २४,

बैशाख १२ गते गएको भुकम्पमा परी सम्पुर्ण घर ध्वस्त भएको र डाँडै चिराचिरा परेर बाढी र पहिरोको उच्च जोखिममा रहेको लोथर गाबिसको वडा नं. ४ स्थित यासिकाई गाउँका १२ घरपरिवार चेपाङ्गहरुलाई वस्ती स्थानान्तरण गर्नको लागि आज १० फुटे ३० बण्डल जस्ता उपलब्ध गराइएको छ । 

सशस्त्र प्रहरी सीमा सुरक्षा बल चितवनका प्रमुख शम्भुप्रसाद उप्रेतीको पहलमा चेपाङ्गहरुलाई भरतपुर आँखा अस्पताल एवम् सेवा फाउण्डेशनले सो जस्तापाता उपलब्ध गराएको हो । 

यासिकाई गाउँबाट एक घण्टाको पैदल दुरीमा रहेको गुन्दी गाउँमा ती १२ घरपरिवार चेपाङ्गहरुलाई वर्षायामभरी सुरक्षितसाथ राखिने र वर्षा सकिएपछि दीर्घकालीन रुपमा व्यवस्थापन गरिने जिल्ला दैवीप्रकोप उद्दार समितिका बलराम लुईटेलले बताउनुभयो । 
६ घण्टाको पैदल दुरी धाएर यासीकाइबाट थाकलटारसम्म झरेका चेपाङ्गहरुलाई सो जस्तापाता गामबेसीको चेपाङ्ग संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले हस्तान्तरण गर्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com