भुवनेश्वरमा प्रसुती सेवा

बैतडी साउन ३,

बैतडीको पाटन नगरपालिका वडा नं ७ भुमेश्वर र वडा नं २ सकारमा प्रसूति सेवा केन्द्र सञ्चालनमा आएका छन् । यससँगै जिल्लामा सुरक्षित प्रसूति सेवा केन्द्रको संख्याको ९३ पुगेको छ । 

सुरक्षित सुत्केरी सेवा प्रदान गर्नका लागि सेवा केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताए । पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणाको अभियानमा लागेको स्वास्थ्यले चालु आर्थिक बर्षमा थप ६७ ठाउँमा सुरक्षित प्रसूति सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको छ । 

पाटनको भुमेश्वरमा सुरक्षित प्रसूति सेवा केन्द्रको उद्घाटन गर्दै डा. अवस्थीले सुरक्षित प्रसूति सेवा नपाएकै कारण कुनै पनि गर्भवती महिलाले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सुरक्षित प्रसूति सेवा केन्द्र स्थापना गरिएको बताए । पाटन नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले सुरक्षित प्रसूति सेवा केन्द्रले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले सक्दो पहल गर्ने बताए । बैतडीको पहिलो पूर्ण संस्थागत नगरपालिका बनाउने प्रतिबद्धता समेत उनले जनाए । 

 सकारमा पनि सुरक्षित प्रसूति सेवा थालिएको जिल्ला स्वास्थ्यकार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेले जानकारी दिए । यसैबीच पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा आजदेखि अल्ट्रासाउण्ड सेवा शुरु भएको छ । खास गरेर गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउण्ड सेवा शुरु गरिएको हो । सो सेवाको पाटन प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं पाटन नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओड र जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले एक कार्यक्रमकाबीच उद्घाटन गरेकाहुन् । 

योसँगै जिल्लामा तीन ठाउँबाट अल्ट्रासाउण्ड सेवा लिन सकिनेछ । जिल्ला अस्पताल, हाट स्वास्थ्यचौकी र पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट अल्ट्रासाउण्ड सेवा सञ्चालन भएको हो । पहिलो दिन सम्पूर्ण गर्भवती महिलाहरुको निःशुल्क रुपमा अल्ट्रासाउण्ड गरिएको छ । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८० जना मध्ये ४५ जना गर्भवती महिलाको अल्ट्रासाउण्ड गरिएको छ भने सकारमा ४२ जनाको अल्ट्रासाउण्ड गरिएको छ । 

सकारमा अल्ट्रासाउण्ड गर्दा एकजना महिलामा जटीलता देखिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए । यस्तै भुमेश्वरमा २९ जना गर्भवती महिलाको अल्ट्रासाउण्ड गरिएको छ । स्रोत-स्वास्थ्य खबर:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com