झारफुक गर्दागर्दै सुत्केरीको मृत्यु

कालीकोट, २९ जेठ ,

जिल्लाको उत्तर पश्चिममा रहेको फुकोट गाविसमा उच्च रक्तश्रावका कारण आज बिहान सुत्केरी महिलाको मृत्यु भएको छ । फुकोट गाविसको वडा न ७ पलाँतिवाडा गाउँकी जिते लुवारकी ४० वर्षीया श्रीमती जसु लुवारको ज्यान गएको हो ।

स्थानीयवासी दुर्गा न्यौपानेले दिएको जानकारीअनुसार छोरीको जन्म दिएकी जसुको लगातार रक्तश्राव भएपछि ज्यान गएको हो । दुर्गाका अनुसार गर्भवती अवस्थामा पूरै जीउ सुन्निएको र बच्चा जन्मिसकेपछि रगत लगातार बग्दा उपचार गर्दागर्दै ज्यान गएको हो ।

मृतक जसुका पाँच छोरी र एक छोरा छन् । छोराको आशामा अरु सन्तान जन्माउने क्रममा कमजोर भएका कारण मृत्यु भएको हुन सक्ने स्थानीयले बताएका छन् । श्रीमान् भारत गएका बेला सुत्केरी भएको र घरमा पुगेको समयमा औषधि उपचारभन्दा पनि झारफुक गर्दागर्दै ज्यान गएको बताइएको छ ।

ग्रामीण क्षेत्रमा बिरामी भएपछि औषधि उपचारभन्दा पनि झारफुक र देवता हेराउने चलनका कारण कैयौँ बिरामीले अकालमा ज्यान गुमाउनुपरेको बताइएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com