दक्षिण कोरियामा मर्सका विषाणु फैलँदा जनजीवन प्रभावित

सोल (एएफपी/बीबीसी), जेष्ठ २२ ,

दक्षिण कोरियामा मर्सका विषाणु फैलँदा कम्तीमा ३५ जना संक्रमित भएका छन्। तीनको मृत्यु भइसकेको छ । संक्रमणका कारण फैलिएको त्रास नियन्त्रण गर्न अधिकारीहरू प्रयासरत भए पनि हजारौंले भ्रमण योजना रद्द गरेका छन्। सयौं विद्यालय बिहीबार बन्द भएका छन् ।

मध्यपूर्व स्श्वासप्रश्वास लक्षण (मर्स) हाल साउदी अरेबियाभन्दा बाहिर दक्षिण कोरियासम्म पुगेको छ। यो तीव्र गतिले विस्तार भएको हुनाले विद्यालयदेखि कलेजसम्मका सात सयभन्दा बढी शैक्षिक संस्था बन्द भएका छन् । यस रोगका थप ५ रोगी बिहीबार देखा परेका छन्। मध्यपूर्वबाहिर यो ठूलो प्रकोप हो। सन् २०१२ मा पहिलोपटक साउदी अरबमा यो देखा परेको हो। यसमा ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आउने, निमोनिया र मिर्गौला काम गर्न छाड्नेजस्तो समस्या आउँछ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार यसबाट संक्रमित एकदमै कम २७ प्रतिशतको मृत्यु हुने गर्छ।

विज्ञहरूका अनुसार यो तुरुन्तै सर्ने रोग होइन। साँघुरो कोठा वा सीमित ठाउँमा निकट सम्पर्कबाट मात्र यो सर्छ। अहिलेसम्म हावाबाट यो जीवाणु फैलिएको प्रमाण फेला नपरेकाले तर्सिनु नपर्ने उनीहरूले भनेका छन्। यसको पहिलो बिरामी त्यहाँ २० मेमा देखा परेका थिए । साउदी अरेबियाको भ्रमण गरेका ६८ वर्षीय पुरुष यसको चपेटामा परेका थिए। १ हजार ६ सय ६० जना यो विषाणुको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पर्कमा आएको अनुमान गरिएको छ । करिब १ सय ६० संक्रमितलाई पृथक राखेर उपचार गरिँदै छ। प्राय:लाई आफ्नै घरमा बस्न र अन्यसँग भेट नगर्न भनिएको छ ।

सोलमा बस तथा भूमिगत मार्गमा मास्क लगाउने यात्रुको संख्या बढिरहेको कारण जनतामा यस रोगप्रति डर बढेको देखिएको छ । सरकारले यस विषयमा स्थापना गरेको ‘मर्स हटलाइन’ मा बुधबार तीन हजारभन्दा बढीले सम्र्पक गरेका छन् । विदेशमा पनि चिन्ता फैलिएको देखिएको छ। कोरिया पर्यटन संगठन (केटीओ) ले बिहीबार चीन तथा ताइवानबाट करिब सात हजार पर्यटकले आफ्नो दक्षिण कोरिया यात्रा रद्द गरेको जानकारी दिएको छ ।

केटीओका प्रवक्ताले यस प्रकारले आमरूपमा भ्रमण रद्द हुने कुरा असामान्य भएको र पर्यटकले मर्सको फैलावट आफ्नो भ्रमण रद्द हुनुको प्रमुख कारण भएको जानकारी दिएको बताए । संक्रमणले सेनालाई पनि प्रभाव पारेको छ। २० जनामा यसको लक्षण देखिएकाले उनीहरूलाई पृथक राखिएको छ । दक्षिण कोरियाको वायु सेनाका एक अधिकारीसँग सम्पर्क गर्नेमा पनि मर्स देखिएको छ ।

यी अधिकारी सोलको दक्षिणस्थित कसान हवाई केन्द्रमा कार्यरत थिए । यहाँ यूएस ५१ औं युद्धक समूह बस्छ। कर्णेल ब्रुक लियोनार्डले

आफ्नो संस्थाको आधिकारिक फेसबुकमा अस्पतालले ओसानमा आउनेको स्वास्थ्य परीक्षण गर्न योजना बनाएको उल्लेख गरेका छन्। यो रोगको फैलावट सुरु हुँदा ढिलो पाइला लिएको भनी राष्ट्रपति पार्क गुन हेको प्रशासन तथा स्वास्थ्य अधिकारीहरूको आलोचना भएको छ ।

यस विषयमा बुधबार स्वास्थ्य अधिकारीहरूसँगको बैठकमा राष्ट्रपति पार्कले विषाणुको फैलावट रोक्न सकेसम्म प्रयास गर्न आग्रह गरे।    मर्सले विश्वभर १ हजार १ सय ७९ लाई संक्रमण भएको छ। यसबाट ४ सय ७९ को मृत्यु भएको छ । यसले साउदी अरेबियासहित २० मुलुकलाई प्रभावित बनाएको छ । यस विषाणु नियन्त्रण गर्न हालसम्म खोप तथा उपचार फेला परेको छैन ।

उत्तर कोरियाले केसोङ संयुक्त औद्योगिक क्षेत्रमा मर्सको लक्षण रहेकाको पहिचान गर्न सकिने ‘थर्मल इमेजिङ क्यामेरा’ जडान गर्न आग्रह गरेको र त्यसलाई स्वीकार गरिएको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जानकारी दिएको छ ।     केसोङ उत्तर कोरियाको सीमाको १० किलोमिटरभित्र पर्छ ।

त्यहाँ ५३ हजार उत्तर कोरियाली कामदार छन्। करिब ५ सय दक्षिण कोरियाली नागरिक प्रत्येक दिन त्यहाँ पुग्ने गर्छन् । एक संक्रमित गल्फ खेल्न गएको र अर्का एक चीन उडेकोमा दक्षिण कोरियाली अधिकारीहरूको आलोचना भएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com