अत्यधिक गर्मीका कारण बिरामी बढे

महोत्तरी जेठ २८,

महोत्तरी जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढे सँगै बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । प्रचण्ड घामसँगै जिल्लामा ३८ देखि ४१ डिग्री सेन्टिग्रेडसम्म तापक्रम बढेको पाइएको छ भने असहनीय हुँदै गएको गर्मीका कारण अहिले जिल्लाभरि विभिन्न रोगको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । 

जिल्लामा ह्वात्तै बढेको गर्मीका कारण प्रत्येक घरमा अहिले २/३ जना औसतमा बिरामी रहेका छन् । गर्मीबाट प्रभावित भएर जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित जिल्ला अस्पतालमा अहिले दैनिक २५० देखि ३०० सम्म बिरामी आउने गरेको मेडिकल अधिकृत डा राजीव झाले बताए । त्यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि दैनिक ५० देखि ७० जनासम्म गर्मीबाट प्रभावित बिरामी आउने गरेको बताइएको छ । 

गर्मीले सुरुमै प्रचण्ड रुपका देखाएको कारण जिल्लाका विभिन्न गाउँठाउँमा अहिले रुघाखोकी, ज्वरो, टाइफाइड, झाडापखाला, निमोनिया, कमलपित्त र भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा निक्कै वृद्धि भएको जिल्ला अस्पताल जलेश्वरका चिकित्सक सतिश साहले बताए । 

त्यस्तै दिनानुदिन बढ्दै गरेको चर्को घामका कारण जिल्लावासीमा छालासम्बन्धी विभिन्न रोगको सङ्क्रमण देखापरेको चिकित्सक प्रमोदकुमार साहको भनाइ छ । चर्को घाम र गर्मीका कारण प्रभावित बिरामीमा बालबालिका, वृद्धवृद्धा मात्रै नभएर वयस्क र घरभित्रै बस्नेको सङ्ख्या पनि सोही अनुपातमा रहेको जिल्ला अस्पतालले जनाएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com