आज, राष्ट्रपति द्वारा वीर अस्पताल निरीक्षण

काठमाडौँ, १८ जेठ ,

भूकम्पले भत्किएको वीर अस्पतालको आज राष्ट्रपति डा रामवरण यादवले निरीक्षण गरेका छन् । राष्ट्रपति यादवले वीर अस्पताल परिसरका बहिरङ्ग, अन्तरङ्ग विभागका साथै नर्सिङ कलेज तथा छात्रावासलगायत भवनको निरीक्षण गरे । 

भूकम्पबाट अस्पतालमा भएको क्षतिका बारेमा राष्ट्रपति यादवलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा गणेश गुरुङले जानकारी गराएका थिए । सो क्रममा राष्ट्रपति डा यादवले इतिहास बोकेको चिकित्सा विज्ञान संस्थालाई चाँडो मर्मत तथा पुनःनिर्माण गरी पहिलाकै अवस्थामा पु¥याएर जनतालाई प्रभावकारी सेवा दिन निर्देशन दिए । 

भूकम्पले अस्पतालको नर्सिङ कलेजको छात्रावास र भान्छाकोठालगायत पूरै भवन क्षतिग्रस्त भएको छ । त्यहाँ सहरी विकास तथा भवन निर्माण विभागले रातो स्टिकर टाँसेको छ । त्यस्तै मुख्य भवनसँगैको बहिरङ्ग खण्ड मर्मत गर्नुपर्ने भएकाले पहेँलो स्टिकर टाँसिएको छ । 

अस्पतालको नयाँ सघन उपचार कक्ष, अर्बुद्ध रोग, महिला उपचार कक्षलगायत रहेको चारतले भवनमा रातो स्टिकर टाँसिएको छ । वीर अस्पतालमा चारवटा मुख्य भवनसहित नर्सिङ कलेज छात्रावासलगायतका भवन छन् । करिब ४७ रोपनी क्षेत्रफलमा फैलिएको १२७ वर्ष पुरानो वीर अस्पताल विसं १९९८ मा स्थापना भएको थियो । 

नेपालको पहिलो अस्पताल वीर अस्पताल आधुनिक चिकित्साको पहिलो सुरुवाती गर्ने अस्पताल भएको उपकुलपति डा गुरुङले बताए । भूकम्पले अस्पताल वन क्षतिग्रस्त भएपछि मुख्य भवनका सेवा अहिले शल्यक्रिया र अन्तरङ्ग सेवा ट्रमा सेन्टरमा सञ्चालन भइरहेको छ । वीर अस्पतालको मुख्यसहितका भवन मर्मतसम्भार गरी चाँडै सेवा सुरु गर्ने तयारी भइरहेको उपकुलपति गुरुङले जानकारी दिए । 

वीर अस्पतालका निर्देशक डा स्वयम्प्रकाश पण्डितका अनुसार हाल नर्सिङ कलेज र छात्रावास रहेको १७ रोपनी क्षेत्रफलको भवन भत्काएर एक हजार श्ययाको १५ तले भवन बनाउने तयारी भएको थियो तर भूकम्पका कारण अब ६५० श्ययाको छ तले भवन बनाइने छ । वीर अस्पतालमा चिकित्सक, कर्मचारीलगायत गरी करिब एक हजार २०० कार्यरत छन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com