भूकम्पमाथिको राजनीति: सावधान सरकार !

नरेन्द्रराज प्रसाई ,इन्दिरा प्रसाई : गत वैशाख १२ गते नेपालमा विनाशकारीभूकम्प गयो । भूकम्प नेपालमा गएको हो, तर यसको मानसिक असर संसारभरिका नेपाली र नेपालीलाई माया गर्ने सबैलाई परेको छ । यस भूकम्पले नेपालमा अकल्पनीय क्षति भएको छ । नेपाललाई चिनाउने कैयौं प्राचीन ऐतिहासिक सम्पदाहरुसमेत धरासयी भए ।

मानवीय क्षति अपुरणीय हुन्छ, किनभने यस्तो क्षतिको पूर्णता कहीं र कसैबाट हुन सक्तैन । तर हाम्रो भौतिक क्षति पूर्ण गर्न भने देशभित्रका मनकारीहरु र संसारभरिका व्यक्ति, संघसंस्था र सरकार समेत लागि परेका छन् । समाचार माध्यमबाट प्राप्त समाचारमा उल्लेख भए अनुरुप सम्पूर्ण नेपालीहरुको एकअर्काप्रतिको माया, प्रेम र सदभाव अपरिमेय देखियो । अर्कातिर विदेशीहरुले समेत नेपाललाई माया गरेको, सद्भाव राखेको र  सहयोग गरेको सुन्दा र पढ्दा यस विपत्तिका बेला हरेक नेपालीको मनोवलमा वृद्धि भएको छ । यसो हुनु भनेको नेपाल र नेपालीले विश्वमाझ बनाएको सकारात्मक पहिचान हो ।

प्रकृतिले अनायस देखाएको यस विनासलीलामा परेर परिवारजन र आफन्त गुमाउनेहरुको पीडा कहिल्यै निको नहुने घाउ बनेको छ । यस दुखद अवस्थाको जति रोदन पोखे पनि मन शान्त हुँदैन । तर नष्ट भएका भौतिक संरचनाहरुको सुरक्षित र बलियो निर्माण गर्न सकिन्छ र गर्नु पनि पर्छ ।यस्तो राष्ट्रिय सङ्कटका बेला सरकारको ज्यादै ठूलो महत्व हुँदो रहेछ । हाम्रो देशको सरकारले पनि यस विपत्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । नेपाली सेना, सशत्र प्रहरी र जनपद प्रहरी समेतले ज्यानको बाजी राख्दै अहोरात्र खटेर नेपाली जनताको उद्धार गरेको कार्य स्तुत्य छ । लोभानी पापानीबाट धेरै टाढा बसेका यी सरकारी संयन्त्रहरुप्रति हामी सम्पूर्ण नेपालीले गर्व गर्नु पर्छ । हामीले नै चुनेर पठाएको सरकारलाई विश्वास गरेर सघाउनुको विकल्प पनि हामीसँग अहिले छैन ।

यसै सन्दर्भमा यस विकटको घडीमा हाम्रा मित्रराष्ट्रहरुले असल नियतले गरेको हार्दिक सहयोग पनि हामी नेपालीका लागि अविष्मरणीय बनेको छ ।

१९९० सालको भूकम्पमा पनि तत्कालीन समय सापेक्षताको हिसाबले जनधनको निकै ठूलो क्षति भएको इतिहास हामीसँग छ । तर अहिलेका हामी नेपालीमध्ये अधिकांशका लागि त्यसबेलाको विध्वंश किंवदन्तीजस्तो थियो । २०४५ साल र २०६८ सालका भूकम्पले हामी नेपालीलाई भूकम्पको पीडादायी स्वाद केही मात्रामा चखाएकै हो । तर ती भूकम्पहरुबाट पनि हामीले खासै शिक्षा लिएनौं नै । हुन त  त्यसपछि नै खास गरेर काठमाडौं केन्द्रीत भएर भूकम्प प्रतिरोधात्मक गृह निर्माणको प्रक्रिया फाट्टफुट्ट रुपमा चल्दै आएको हो । तर त्यसले व्यापकता पाउन भने सकेको थिएन।

हाम्रो देश नेपालमा कहिल्यै पनि विधिको शासन व्यवस्था हुन नसकेको कुरा सर्वविदितै छ । विधिपूर्णको राज्यव्यवस्था नभएको देशमा राष्ट्रिय विपद् परेपछि जताततै अन्योलको अवस्थाले छोप्नु अनौठो होइन । यसर्थ पनि अहिलेको राष्ट्रिय सङ्कटको घडीमा हाम्रो सरकारी निकायबाट जेजति सक्रियता भएको छ त्यसलाई धन्य भन्नु पर्छ ।अहिलेको नेपालको यस राष्ट्रिय सङ्कटको घडीमा सरकारको अन्ध आलोचना गर्नु भनेको निन्दनीय कार्य हो । 

अनि यस्तो अवस्थामा पनि सरकारको नेतृत्वतहमा भएका अथवा कुनै पनि सरकारी संयन्त्रले नियतवश देश र जनताको अहितमा काम गर्छन् भने तिनलाई राष्ट्रद्रोही अपराधी नै घोषित गरेर कठोर भन्दा कठोर सजाय नै दिइनु पर्छ । अर्थात् जनअपेक्षा अनुरुप वर्तमान सरकारले आफूलाई इमान्दारिताको कसीमा निखार्नु पर्छ । सरकारमा बसेका मानिसहरुले असल नियत राखेर, पारदर्शी रुपमा आफ्ना क्रियाकलाप सञ्चालन गर्नु पर्छ । गल्ती भएको अवस्थामा जनताले माफ गर्न सक्ने छन् । तर अपराध भएको अवस्थामा अब सह्य हुने छैन ।
हिंजोका सरकारी क्रियाकलापका आधारमा सरकारलाई पूर्णरुपले विश्वास गर्ने आधार नभएको पक्कै हो । तर हामीले नै निर्माण गरेको सरकारलाई विश्वास नगरेर सरकार बाहिरकालाई कसरी र किन विश्वास गर्ने रु ‘जुन जोगी आए पनि कानै चिरिएको’ भन्ने उखानलाई हाम्रो नेपालको सरकारमा बस्नेले चरितार्थ पार्दै आएका छन् । नेपाल र नेपाली जनताको यत्ति ठूलो विपत्ति देखिसकेपछि वर्तमान सरकार नै रत्नाकर डाकुबाट वाल्मीकि ऋषिमा अनुवाद अथवा परिणत हुनसक्छ । यही आशा एवम् विश्वासका साथ यसबेला हामी सबैले कर्म क्षेत्रमा लाग्नु हामी नेपालीका लागि हितकारक हुनेछ ।

हाम्रो देश नेपाल नै संसारमा एउटा यस्तो मुलुक हो जुन देश कहिल्यै अर्कोदेशको उपनिवेश भएको छैन । त्यसैले हामी नेपालीले देश नहुनुको पीडा कहिल्यै भोग्नु परेको पनि छैन । माओवादी द्वन्द्वमा आफ्नै देशभित्र विस्थापित हुन वाध्य भए बाहेक अर्को देशबाट हामीले लघारिनु परेको छैन । तर आजसम्मको हाम्रो राज्य व्यवस्थाको गैर जिम्मेवारीपनाका कारण नै सम्पूर्ण नेपालको बसोबास भने बेथितिपूर्णको नै छ । अहिलेको भूकम्पीय जोखिममा पनि तिनै अव्यवस्थित बसोबासमा बाँच्न वाध्य गरीबीको रेखामुनी रहेका जनधन कै अधिकांश रुपमा सर्वनास भएको छ । नेपालको इतिहासलाई साक्षी राखेर भन्नुपर्दा कुनै पनि राज्यव्यवस्थाले आम नागरिकको जिउधनको सुरक्षाका विषयमा कहिल्यै सोचेको अथवा तिनको असल व्यवस्थापनमा पहल गरेको पाइँदैन । सत्ता सम्हाल्नेहरुले नीजिस्वार्थ भन्दामाथि उठेर राष्ट्रिय स्वार्थका सन्दर्भमा कहिल्यै काम गरेको देखिंदैन । नेपाल भूकम्पीय उच्च जोखिममा रहेको कुरा सर्वविदित हुँदाहुँदै पनि केही अन्तरराष्ट्रिय सामाजिक संस्थाहरुद्वारा डलरको खेती मौलाउनका लागि गरिएको विपद व्यवस्थापनका नाटकीय काम बाहेक आम जनताका सन्दर्भमा केही भएको नै थिएन । यसको प्रत्यक्ष प्रमाणका रुपमा हालै भएको विध्वंश नै पर्याप्त पनि छ ।

विगतका तीता कुरा कोट्याएर मुख कोक्याउँदै अहिलेको महत्वपूर्ण समयमा मुड्कीले टेबुल बजार्नुको कुनै अर्थ छैन । यसै परिप्रेक्ष्यमा त्यसबेला काम नगर्नेहरु जतिमात्रामा दोषी छन् नगराउने हामी सबै पनि उत्तिकै दोषी छौं । त्यसैले हिंजो के भयो के भएन भन्ने कुराको चर्चा गरेर समय फाल्नु भन्दा पनि आज,  अहिले र अब के के गर्न  सकिन्छ, के के गर्नु पर्छ र कसरी गर्नु पर्छ भनेर गरिहाल्ने समयमा हामी आइपुगेका छौं ।

यसपालीको भूइँचालोमा जनघनत्वका हिसाबले काठमाडौंमा भएको धनजनको क्षति न्यून हो । काठमाडौं बासीले त ईश्वरलाई धन्यवाद नै दिनु पर्छ । किनभने यदि वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकको साटो काठमाडौं भएको भए अहिले सिन्धुपाल्चोक र गोरखाले भोग्नु परेको विनासको तुलनामा अत्यधिक र अकल्पनीय विनास काठमाडौंले भोग्नु पर्ने निश्चित थियो । त्यसैले यसबेला सरकारले अल्पकालीन योजनाका रुपमा भूकम्पग्रस्थ क्षेत्रको व्यवस्थापन तथा दीर्घकालीन रुपमा सम्पूर्ण देश र खास गरेर राजधानी काठमाडौंको व्यवस्थापन गर्न समेत विलम्ब गर्नु हुँदैन ।

एकातिर उच्च भूकम्पीय जोखिम र अर्कातिर ग्लोबल वार्मिङका कारण यस्ता विपदाहरुसँग अब संसारले पटकपटक सामना गरिरहनु पर्ने हुन्छ । नेपालको राजधानी नै अर्को सुरक्षित ठाँउमा सार्नुपर्ने विषयमा पनि गतिशील हुनु विलम्ब भइसकेको छ । जनघनत्वले भरिपूर्ण काठमाडौं उपत्यकाको भूबनौटको अध्ययन गर्दै विपदासँग प्रतिस्पर्धा गर्न सुरक्षित बसोबासको व्यवस्थापन, साँघुरो बाटोघाटोको सुव्यवस्था गर्नु समेत नितान्त आवश्यक भइसकेको छ ।त्यसो त सरकारको टाउकोमा यसबेला ठूलो अभिभारा छ । विचल्लीमा परेका जनताका लागि विविध व्यवस्थापन गर्नु सरकारको परम दायित्व हो । अर्कातिर हामी नेपालीको परमकत्र्तव्य चाहीं यसबेला तन वा मन वा वचन वा धन अर्थात् जोसँग जे छ त्यहीले सरकारलाई सहयोग पु¥याउनु हो । राष्ट्रिय सङ्कट भनेको हरेक नेपालीको सङ्कटको घडी हो । त्यसैले आआफ्नो क्षमता अनुरुप सकेको सेवा, सहयोग, सद्भावना सरकारप्रति राख्नु यसबेलाको नेपाली धर्म हो ।

नेपाललाई सहयोग गर्न उचालिएका विदेशी दाताका हातहरु अहिले विविध बहानामा सरकारी कोष बाहिरबाट सहयोग गर्ने अड्डिमा लागेको सुनिन थालेको छ । हिंजोका दिनमा नेपाली जनताका नाउँमा संसारभरिबाट पैसा सोहोरेका सुरसा मुखधारी अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरु फेरि अथाह मुद्राको स्वादमा मुख मिट्ठ्याउन लागेको आभास भइरहेको छ । यसबेला सरकारले दह्रो भएर अडान नलिए आहात जनताको नाऊँमा आएको राहतको पैसाको पुनः दुरुपयोग हुने संभावना प्रबल छ । अविकशित मुलुृकका नाउँमा पैसा लिएर त्यसैमा हालिमुहाली गर्ने अन्तरराष्ट्रिय सञ्जालको चलखेल हाम्रो विपदग्रस्थ नेपालका लागि पनि शुरु भइसकेको छ । त्यसैले यसबेला सरकारका महत्वपूर्ण ओहोदामा बसेका व्यक्तिहरुले लोभ र पापबाट टाढा बस्न जरुरी छ । 

इतिहासले यसबेलाको सरकारलाई चुनौति र अवसर दुबै दिएको छ । अहिलेको सरकारले असल काम गरेर जनजनको हृदयमा बस्दै राष्ट्र पूनर्निर्माताको नाऊँ स्वर्णाक्षरमा लेखाउने अथवा नकाम गरेर अपराधी स्वरुपमा पुस्तौंपुस्ताको धिक्कार खाने रु इतिहासको महत्वपूर्ण समयमा सरकार उभिएको छ । कर्मपथमा डटेर लाग सरकार ! सावधान सरकार ! इमान्दारितापूर्वक राष्ट्रको पूनर्निर्माणमा समर्पित बन सरकार!

यसबेला हामी सम्पूर्ण नेपालीले मात्र नेपाली हुनुपर्छ । यस्तो राष्ट्रिय सङ्कटको समयमा हामी नेपालीले जातजाति, भाषाभाषी अथवा कुनै पनि दलगत विभाजनमा पर्नु भनेको आफैंले आफूप्रति गद्धारी गर्नु हुनेछ ।सम्पूर्ण नेपालीहरु एक ढिक्का भएर कर्मपथमा लम्केपछि हाम्रो शोक शक्तिमा परिणत हुन बेर लाग्ने छैन ।
nai.com.np@gmail.com 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com