कथा 'कफी हाउस '

हिड्दा हिड्दै भेट्टीएको चोक हो, कयौँ पटक उस्तै उसै गरि सबैसंग भेट्ने, भेट्टीन्ने गर्छ यो चोक । बर्षौदेखि उस्तै छ चोक तर चोक वरिपरीका दृश्यहरु, अहिले केहि परिवर्तन भएको चै हो । केहि भवनहरु अग्लिएका छन् गगन छुने गरी, कुनै निकै रङ्गीन र चम्किला भएका बनेका छन् । सडकमा बत्तिहरु थपिएका छन् । सडकको दाहिने पट्टि चोक कै सामुन्ने एउटा कफी पसल केहि बर्षदेखि फक्रिएको छ । हरेक साँझ यो कफि पसलले भिड बोक्छ । देशको चिन्ता लिन्छ कफि पसल । चिन्ता बोक्ने र गफमा रमाउनेहरुको लागि गन्तब्य नै हो यो पसल ।

आधा सक्किएको चुरोटको ठुटोलाई डस्टबिनमा मिल्काएर आफ्नो लामो ओवरकोट मिलाउदै कफी हाउस भित्र छिर्छिन रित । भिडभाड बीच कुनाको खाली टेबल उनको गन्तब्य बन्थ्यो सधै । हरेक दिन कुर्चीमा गएर बस्न नभ्याउदै कोई न कोई अर्डर लिन आई पुग्छन उनि सामु ।

“ म यहाँलाई केहि उपलब्ध गराउन सक्छु" ? त्यो दिन एउटा फ्रेन्च केटो आएर सोध्छ ।

“ एककप कफी “ उनले एक कप कफी अर्डर गर्छिन । एक किसिमले यो कफी हाउस अड्डा बनेको छ उनको लागी जसरि गाउँमा भद्र भलादमीहरुको लागि चोकमा चिया पसल अड्डा बन्ने गर्छ दिनमा अनि चोककै भट्टी साँझमा  । उनको इच्छा बुझे पछी केटो जान्छ ।

उनको नजर चारैतिर उठ्छ मानौ कसैलाई खोज्दै छन् । उनको नजरले चाहेको त्यो प्रिय अस्तित्व भेट्छ अलि पर । उ अर्कोपट्टि कुनाको टेबलमा ग्राहकसंग अर्डर लिदै हुन्छ सायद । एउटा अन्जान अनुभूतीले उनलाई सुम्सुम्याउँछ अनि उनि ब्यग्रताबाट निस्केर शान्त देखिन्छिन । यो कफी हाउसमा उनि छिर्नुको तात्पर्य नै त्यहि केटोलाई एक नजर हेर्न हो । अपरिचित केटोको उपस्थितीले मुसुक्क मुस्काउँछिन एक्लै । बहु अर्थ बोकेको मुस्कान, मुस्कान झन् गहिरो हुन्छ ।  केहि महिना देखि यो कफी हाउसमा चलेको यो रित अनौठो पक्कै छैन । त्यो नितान्त अपरिचित केटो,जसको बारेमा रत्ति भरी जान्दिनन तर मन लोभ्याएको छ उसको उपस्थितीले । अस्तव्यस्त जीवनमा केहि रङ्ग थपिए जस्तै ..नत्र यो बर्षौको उराठपन र उदासीनतालाई कसले खल्बलाउन सक्थ्यो र सकेको थियो र ।

केहि महिना अघि  यस्तै एक चिसो साँझ ,उनि यो कफी हाउसमा छिर्दा ढोका नजिक उभिएर फोनमा कुरा गर्दै गरेको अवस्थामा त्यो युवकलाई भेटेकी थिइन उनले । कयौ भेट्टीन्छन उ जस्तै अपरिचित यहाँ कसले चाँसो राख्छ र ? न रितले नै मतलब राख्छिन तर उतिर अनयासै नजर फेर्न बाध्य भएकी थिइन् रित त्यो दिन । फोनमा उ नेपाली बोल्दै थियो । मानिस जति नै टाढा भाग्न खोजे पनि जन्मथलो र मातृभाषाको सुगन्ध पाउन साथ लोभिन्छ । उनि सबै बिर्सेर आफुलाई “ऋतु” देखि “रित" बनाएर हिड्दा पनि अकाट्य रहेन मनको त्यो कुना जहाँ आफ्नोपन छ । नेपाली हुनु एक मात्र त्यो भावना हो जसले कफी हाउसमा छिर्न साथ त्यहि केटोको उपस्थिती खोज्छ ।

मधुर मुस्कान ओढि रहने उनका रक्तिम ओठहरु, काला अनि चम्किला आँखाहरु, गहुगोरो रङ्ग अनि बत्तिको मधुरो उज्यालोमा कतै रातो त कतै कालो हुँदै चम्किने कपालमा उनि निकै सुन्दर देखिन्छिन । फररर  बोल्ने अंग्रेजी भाषाले उनलाई नेपाली भनेर चिनाउदैन कहिल्यै ।

“ तिम्रो नाम के हो ”  रितले एकदिन कफी लिएर आएको त्यो केटोलाई सोधेकी थिइन अंग्रेजीमा नै ।

“ निल “ उसले बिस्तारै जवाब दिन्छ ।

“तिमी कहाँबाट आएको हौ ?” उनि फेरी सोध्छिन ।

 “धेरै टाढाबाट जहाँको बारेमा सायद तँपाईलाई केहि जानकारी छैन “ मन नलागे झैँ उसले जवाब दिन्छ अंग्रेजीमै । निललाई उनको चाँसो मन पर्दैन अर्थात् उनको सोधाईमा प्रेम बुझ्न सक्दैनन र खरो जवाब फर्काई दिन्छन तर रितले नबुझ्नुको अर्थ खोज्दिनन ।

बितेका दिन ....... त्यो उकालो ओरालो ...घाँस दाउरा गर्न जाँदा अघि पछी हुने साथीसंगी .. हुर्के बढेको घरको आँगन ,,त्यहि आँगनको दलिन र टीनको छानो ...पश्चिमको डाँडा निर घाम पुग्दा नपुग्दै घरको आँगनमा ओर्लिने साँझ ..जूनको ठट्यौलीमा मात्तिने डाँडा, पाखा अनि जङ्गल ....कहिले जुनेलीमा रुझ्दै त् कतै रुख बुट्यानको छायाँमा लुक्दै रोदी बस्न निस्कने दौतरीहरु ....कुनै चलचित्रको दृश्य झैँ नै नाँच्न थाल्छ आँखा वरिपरी । पुराना दिनहरु रितको ओठबाट चाहेर पनि शब्द बनेर निक्लन सक्दैनन् । मान्छे यस्तै कयौ चरित्र बाँच्छ र त कहिले भिडमा एक्लो देखिन्छ र कहिले एकान्तमा पनि कोलाहल पिउँछ र जुर्मुराउछ ।

अचानक अतित बल्झी दिंदा कफी हाउस भरी शुन्यता फैलिएको भान हुन्छ जसलाई आँखाको गहिराईमा समेटेर कफीको अन्तिम घुट्को सक्छिन रितले । खुल्ला आँखा वरीपरि फैलिएको कपाललाई हातले पछाडी पट्टि फ्याँक्छदै उठ्छिन र कफी हाउसबाट बाहिरन्छिन ।

कफी हाउसमा नील देखिएको धेरै भएको छैन । गाउँबाट अङ्गालो भरी सपना बोकेर सपनाको सहर काठमान्डौ  छिरेको नीलप्रसाद सारा सपनाको बिस्कुन उतै देशमा नै छरेर यो नौलो ठाउँमा निलप्रसाद बाट टुक्रिएर निल भै सकेको छ । बाइस बर्षको निलले कफी हाउसमा धन्न काम पाएको छ । सपनाहरुको कुनै रङ्ग अनि सिमा हुँदैन । एकै पल यहाँ अर्को पल दुर दुर कहाँ कहाँ पुगी दिन्छन तर त्यहि सपनाहरुमै रुमलिएर बाँच्न पनि निकै निको लाग्छ र त मान्छे र भावनाहरु जिउँदो झैँ लाग्छन । लामो नाक, केहि ठुला आँखा ,गहुगोरो रङ्ग अनि दुब्लो,अग्लो शरीरको निल, उसलाई नेपालीहरुले नेपाली हुन भनेर सजिलै चिन्न सक्छन । हुन त प्राय मानिसहरु आफ्नो परिचय लुकाउन खप्पिस छन् यहाँ । ज्यादातर पूर्वी एसियालीहरु... देखेर नदेखे झैँ गरि बाटो काट्नेको कमि पनि छैन । हुन यो सहरमा नेपाली अलि कम नै छन् । चालिसबाट उकालो लागी सकेकी रितलाई यो सहर नौलो छैन । बिगत लामो समय देखि उनि यहि छिन । तर यहाँ उनलाई नेपाली भनेर सायदै कसैले चिन्छ । एउटा पाकिस्तानी छ जाहिद, उसले मात्र चिन्छ उनि नेपाली हुँन भनेर बाँकि कसैलाई भन्ने र सुनाउने चाँसो खाँचो उनि भेटदिनन अनि देख्दिनन पनि ।

यो सहर निकै ठुलो छ, अती व्यस्त छ त्यसैले बेखबर छ नत्र हाम्रो गाउँ घरमा झैँ खोजि निधो गरेर उनको जन्म कुण्डली झिक्थे होला यहाँ पनि मानिसहरु र उनलाई नाङ्गो पारेर रमिते बन्न रुचाउथें होला ।

आफ्नै सभ्यता सम्झिदा आङ्ग जिरिङ्ग हुन्छ । तर यो सहरले उनिप्रती अपनत्व देखाएको छ र त मानौ उनि खुशी छिन । रित एउटा ब्युटीपार्लरमा काम गर्दा गर्दै त्यहि पार्लरको पार्टनर भै सकेकी छन् । मानिस सन्तुष्ट हुँदो हो त उनलाई नपुग केहि छैन । यो सहरले उनले चाहे भन्दा बढी दिएको छ उनलाई तर भित्र कतै रित्तोपन त छ नै । न दुख्छ केहि त्यहाँ, न केहि माग छ , न गुनासो नै तर केहि त छ जसले मध्यरातमा निदबाटै ब्युँझाई दिन्छ प्राय । झस्काई दिन्छ सपनाबाट नै । उसो र उनी अब पूर्ण नेपाली पनि हैनन् ,यहाँको कार्ड पनि बनाई सकेकी छन् र नेपालि हुँ भन्न पनि रहर गर्दिनन । जब नेपाली भेट्छिन माटोको  सुगन्धले तानिन्छिन केहि पल तर जति छिट्टो तानीन्छिन उत्ति नै छिट्टो अन्जान बनि दिन्छिन । कार्ड बनि सके पछी बरु क्यानाडा पुगिन घुम्न तर मातृभूमिको मोहले तान्न सकेन । नेपाल जान मन नै लागेन ।

सेतापानामा कोरिएका अक्षरहरुलाई रबरले घोटी घोटी मेटे जस्तै गरि अतितलाई मेट्ने प्रयासमा केहि पानाहरु च्याँतिए पनि तर केहि अझै बाँकी छन स्पस्ट । चाहेर पनि भुल्न सक्दिनन चौध बर्षकि छोरीलाई आफ्नै बाबुले हातपात गरेको र बारम्बार गरेको । मेट्नै सकिनन मस्तिष्कमा कोरिएको मट्मैला पिडा र त्रासका अक्षरहरु । पखाल्नै सकिनन् आँचलमा छापिएको अपराधको तस्विर,रगतका टाटाहरू । भुल्न सक्दिनन आमाले समाजमा इज्जत जान्छ भनेर चुपचाप नजर झुकाएर खुट्टाले भूई कोट्याई रहेको पल । अहं ! त्यो सपना थिएन । को आफ्नो को पराई ....यी पीडाहरुले छातीभित्र पोल्दा अल्कोहोलको मातले बिहोस जस्तै भए पछी चिस्सिन्छ नत्र त्यहि रापले पोली रहन्छ  । के छ खै जिन्दगी ? रित एकहोरो र अभ्यस्त भै सकिन यो व्यस्त सहरमा । अतीचार सहन नसकेर घर छोडेर हिडेकी ऋतु कयौ हातहरुको खेलौना बनेर कतै टुक्रिदै, कतै जोडिदै छोटो “रित” भई दिईन र यहाँ वहाँ भौतारीई रहिन । यहाँ सम्म आई पुग्दा परिस्थितीले उनलाई खेलौना बन्न भन्दा खेलौना बनाउन सिपालु बनाई सकेको थियो । बिसौ बर्षमा उनले यसरी आफ्नो परिचय बिर्सेर आफुलाई आफैसंग अपरिचित बनाए दीएकी  थिइन ।

निल घरबाट निस्कदा छोरा विदेश जान्छ र हामीलाई सुख दिन्छ भनेर आँखाभरी सपना सजाएकी आमाले निधारमा टिका लगाएर भाग्यमानी हुने आशिष दिदै बिदा गरेकि हुँन । लाखौ ऋणको भार बोकेर बिद्यार्थी भएर आएको निल यो कफी हाउसको अदिप्त शोभा बनेको छ । कहिले काहिँ समय मिलाएर आमालाई फोन गर्दै गर्दा त होला उसलाई रितले सुनेकी थिइन र उ नेपाली हो भनेर चिनेकी थिइन । नत्र उ पनि आफुलाई अपरिचित नै राख्न खोज्थ्यो । उसको कामले उसको स्वाभिमानलाई चुटी रहन्छ सायद र त निस्सासिए झैँ देखिन्छ मुहार अलि गहिरिएर हेर्दा । जीवनमा सपना ठुला हुन्छन जहाँ सपनाको ठुलो घर, प्रयाप्त ब्यांक ब्यालेन्स, गाडी, अनि यस्तै यस्तै बिलासिता, तर काम केहि गर्न नपरोस । अहा ! सपना कती मिठा हुन्छन तर यहाँ डिसेम्बरको चिसोमा भाँडा माझेर चिरा चिरा परेर च्यात्तिएका हत्केलामा भाग्य कसरि हेर्नु ? भाग्य रेखाहरु अलि धेरै भै दिएका छन् चिरिएर । धन्न पानी तातो हुन्छ नत्र त ...सोच्दा पनि दुख्छ्न औंला र हल्केलासंगसंगै मुटु पनि ।

निललाई कसैले सोधी हाले पनि त  उ नेपाली हुँ भनेर भन्दै भन्दैन । हो घरमा अभाव थियो तर संगै आफ्नोपन पनि त थियो । यहाँ काम छ, कसैले भन्दैन तेरो काम सानो हो, जति काम गर्न सकिन्छ त्यति नै पैसा पाइन्छ तर आफ्नोपन .....कहिँ त छैन आफन्त ...कोहि त छैन आफ्नो ।

अहो ! यी पीडाका औंलाहरू , कती मिहिन छन् नशा नशामा चिथोरी रहन्छन अनि उच्छ्वास र सुस्केरा बन्छन ।

सधै झैँ साँझ, मौषम बदलिदै छ यहाँको । शिशिर रुझ्ने गर्छ बर्षेनी अनि सिमलका भुवा उडे झैँ हिउँ देखिन्छ आकास र धर्तीको बिचमा । हेर्न, छुन, महसुस गर्न निको त लाग्छ तर चिसोको असर शरीरमा पर्यो भने बेहद कठिन हुन्छ यो बिरानो सहरमा । रित सधैको समयमा कफी हाउसमा पस्छिन । दैनिकी भन्न त मिल्दैन तर समय मिलाएर प्राय यहाँ आएकै हुन्छिन उनि । उनि कुनाको टेबलमा भएको कुर्चीमा बस्न नभ्याउदै एउटा नाईजेरियन जस्तै देखिने कालो केटो आएर  उभिन्छ उनको अगाडी । ब्यबस्था राम्रो छ यो कफी हाउसमा ,ग्राहकलाई सबै सुबिधा उपलब्ध गराएका छन । ब्याकग्राउण्डमा मधुर संगीत, इन्टरनेट, लाईट नास्ता अनि  हरेक प्रकारको कफीको ब्यबस्था साथै ग्राहकसंग नम्रता साथ पेस हुने यिनीहरुको र यहाँको प्रमुखता हो । रितले कफी संगै केकको अर्डर गर्छिन तर नजरले सधै झैँ निललाई खोज्छ । आज कतै देखिन्न उ । फेरी अनौठो ब्यग्रता छाउँछ मनमा ।

“कतै काममा नै व्यस्त होला” सम्झाउछिन आफैलाई ।  

त्यहि नाजेरियन केटोले कफी र केक ल्याएर उनको टेबलमा राखी दिन्छ । उनि उही ब्याग्रतासंगै कफी सकिन्छ तर निल देखा पर्दैन । बिदामा पो गयो कि ? कसलाई सोध्नु ? उनको मनमा तर्क चल्छ ।  तर किन सोध्नु ...को नै हो र ? यस्तै एक्लै आफैसंगको सम्बादले शिथिल पार्छ । बिल तिरेर चुपचाप निस्किन्छिन कफी हाउसबाट ।

जिन्दगी यसरी फैलिए पछी बोध हुन्छ कि बाहिरी दुनिया कति बलियो छ जसले अन्तर्मनमा गुम्सेर रहेको सारा पीडालाई पलभरमै छु मन्तर पारी दिन्छ । मानिस जती नै भन्ने गरोस “म स्वार्थि छैन “ हुन्छ नै । भौतिक अनुभूतीको चरम आनन्दमा को पुग्न चाहन्न र । उनि जती नै एकान्तमा बसे पनि ,एक्लै हिड्न खोजे पनि बाहिरी संसारमा निस्कदा केहि र कोहिले आफ्नो असर त पार्छ नै । नीलको उपस्थितीको असर रितको जिन्दगीमा यसरि नै देखिन शुरु गर्दै थियो ।

रित बस्ने गरेको फ्ल्याट पनि रितको आफ्नै नाममा छ । सानो भए पनि आफ्नै हो । आफ्नो भन्दा खुशी हुन्छ अन्तर्मन । कोठामा पुग्दा सम्म “ उही पुरानो दिनहरु .... अभिनय गर्ने आफन्तहरु ...घरको आँगन ..सहर काठमाडौँ ...इन्डिया ..दुबई ...रोमानिया अनि फ्रान्स ...झझल्कोमा निल ... कहाँ गयो होला त्यो केटा ?

उफ्फ्फ्फ़ ..स्कचको बोतल निकाल्छिन र टेबलमा राख्छिन । किचनबाट गिलास र केहि स्न्याक्स हालेर प्लेट अनि आईस लिएर आएर सोफामा थचक्क बस्छिन । यहि छ दैनिकी ...प्राय यसो त हुँदैन तर जब मनमा अनेक सोच र बिगतहरुको ज्वारभाटा उम्लिन  थाल्छ,अल्कोहलको मध्यम नशासंगै थमिन्छन सुनामीहरु । हो बेहोस हुने गरि उनले सराब पिएकी छैनन् ।

अर्को दिन उही चोकको रेड्लाईट नै छिचोलेर रित कफी हाउस पुग्छिन । ज्यानको नै बाजी लगाउन तम्तयार कस्तो उद्बेग हो खै । उनि कुनाको टेबलमा बस्न साथ उही फ्रेन्च केटो आई पुग्छ । कफी त बहाना नै बन्छ तर उनले सोध्न भ्याउँछिन निलको बारेमा ।

“उसलाई ज्वरो आएको छ दुई दिन देखि “ उसले हतारिलो जवाब दिन्छ ।

“ कहाँ छ उ “ सोध्छिन  ।

“ आफ्नो कोठामा, कहाँ हुनु ?” उस्तै हतार गर्छ  ।

“मलाई उसको कोठाको ठेगाना दिन सक्छौ ? या उसको कन्ट्याक्ट नम्बर “ पाँच युरो उसको हातमा थमाउदै भन्छिन । युरो ट्रीकले काम गर्छ । उसले कोठाको नम्बर र बिल्डिंग नम्बर दिन्छ त्यहि कफी हाउसको पछाडी पट्टिको । उसको बिरामीको खबरले अत्यास लाग्छ तर किन आफैलाई थाहा छैन । हुत्तिदै निस्कन्छिन त्यहाँबाट । कस्तो लगाव यो ...किन निल प्रती यो चाँसो..... यत्तिका बर्षसम्म मन यसरि पग्लिन सकेन तर आज । कोठाको ढोका खुल्लै छ । निल निस्लोट ज्वरोमा बेहोस लडी रहेको हुन्छ । रितले एम्बुलेन्स बोलाउछिन ।

“आमा, मलाइ सन्चै छ । हजुरले केहि चिन्ता गर्नु पर्दैन । आफ्नो ख्याल राख्नु है ।“ निल बेहोसीमा बर्बराई रहन्छ अस्पतालमा पनि । ज्वरो बढी भएर उ बेहोस भएको जानकारी दिन्छन डाक्टर । अरु पनि सामान्य टेस्टहरु गर्ने पर्छ त्यसैले अस्पताल राख्नु पर्ने हुन्छ भनेर पनि भन्छन । मध्यरातमा रितले लामो सास फेर्छिन जब निलको हालतमा केहि सुधार हुन्छ । सुति रहेको निललाई एक नजर हेरेर उनि फर्किन्छिन ।

भोली पल्ट बिहानै अस्पतालमा फोन गरेर खबर लिन्छिन । ज्वरो कम भएको र रगत जाँचको लागी लगेको भनिन्छ । यो सुनेर ,मन थप हलुङ्गो भै दिन्छ । यी मानवीय समबेदना र सम्बन्धहरु बडो अनौठो गरी जेलिन्छन । साँझ पार्लरको काम सकेर उनका पाइलाहरु स्वत: कफी हाउसको साटो अस्पतालको सडकतिर मोडिन्छन । कोठाको झ्यालमा टाँगिएको पारदर्शी पर्दाबाट नै भित्रको दृष्य नियाँल्छ नजरले । निलको आँखाहरु बन्द हुन्छन तर उ निदाएकै हो भन्नेमा शंका नै लाग्छ । उनि भित्र छिर्छिन तर निलले आँखा खोल्दैन । सलाईन दिईएकै छ । अनुहार हिजो त निकै पहेलिएको थियो तर आज अलि रातो देखिएको छ  । उ निदाएकै रहेछ । उनि बाहिर निस्केर नर्ससंग सबै रिपोर्टस बारे सोध्दा ठिकै हुन्छ । सयाद कमजोरी अनि चिसोको असर थियो ज्वरो । क्रमस: केहि दिन घर ,पार्लर र अस्पतालका बाटाहरु रितका पैताला मुनि दुखि रहन्छन । छैठौं दिन निललाई छुट्टी दिइन्छ अस्पतालबाट । नीललाई डिस्चार्ज गर्ने दिन डाक्टरसंग बिहान नै फोनमा कुरा गर्छिन रितले । अस्पतालको सारा खर्च आफ्नै बैंक एकाउन्टबाट जम्मा गरि दिन्छिन ।

अस्पतालमा कसले ब्योह्र्यो सबै खर्च भनेर निलले सोद्छ तर परिचय नखुलाईएको जवाब पाउँछ । अन्यौलतामा उसले त्यो अपरिचित सहयोगीको जीवनभरीको खुशीको कामना गर्छ मन धुमिलो पारेर । यो परदेशमा को हुन सक्छ जसले यसरी आत्मियता देखाएर पनि मौन रही दिन्छ । यहाँ त सानो सहयोगको हल्ला चारैतिर हुनु पर्छ । उ घोरिएर सोची रहन्छ । हो यी यस्ता शब्दले बयान गर्न नसक्ने नाताहरु,कयौ अपरिचित भएरै पनि खुशी दिन्छन भने कती आफन्तकै रूपमा सधै दुखि रहन्छन । जिन्दगीका यी कोलाजहरु अनि यहि कोलाजहरुमा रिमिक्स भएर टाँसिएका केहि स्पस्ट,केहि अस्पष्ट तस्विरहरु जुन अस्मरनणीय भै दिन्छन जीवनभरका लागी ।

अहो ! सुस्केरा मात्र निस्कन्छ । उसले आफ्नो वरिपरी महसुस गर्छ ममताको न्यानोपन अनि आफ्नी आमालाई सम्झिदै भावबिव्हल हुन्छ । दुई दिन पछी पूर्ण रूपमा स्वस्थ भएर उही कफी हाउसमा रित बसेको टेबलमा आएर निलले सोध्छ “ कफी म्याम ?” 

“ हो ! मात्र एक कप कफी “ मायालु नजर लिएर उसलाई हेर्छिन रित अनि मुसुक्क मुस्काउँदै टाउको पनि हल्लाउछिन इशारामा ।  यहाँ अपनत्व बोकेर उर्लेको माया बहुअर्थी बनि दिन्छ ।

निर्मला खड्का
भैरहवा ,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com