अज्ञात रोग बाट सिरहामा ४ को मृत्यु

लहान जेठ २६,

चार दिनदेखि सिरहाको चन्द्रअयोध्यापुर गाविस– ६ स्थित दलित बस्तीमा फैलिएको रोगका कारण चार जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी सिकिस्त बिरामी परेका छन् । बस्तिमा फैलिएको रोग के हो भन्ने अझै पत्ता लगाउन सकिएको छैन । 

चन्द्रअयोध्यापुर गाविस– ६ निवासी ३२ वर्षीय जिवसी सदा, ३५ वर्षीय तुलवा सदा, ६५ वर्षीय गर्वा सदा र लहान नगरपालिका– २ निवासी कौशिल्या सदाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिए । एक्कासि रिँगटा चल्ने र बान्ता आउनेजस्ता लक्षण देखापरेको र केही दिनमै बिरामीको मृत्यु हुने गरेकाले स्थानीयवासी त्रसित बनेका छन् । 

रोगबाट प्रभावितहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । उक्त बस्तीमा फैलिएको रोगबाट सोमबारसम्म चार जनाको मृत्यु भएपछि मात्र स्थानीयवासीले प्रहरी र चिकित्सकलाई खबर गरेका थिए । प्रहरीलाई खबर भएलगत्तै आफ्नो नेतृत्वमा खटिएको प्रहरी टोलीले बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल पठाएको सिरहाका प्रहरी उपरीक्षक साहले बताए । 

बिरामीको रगत परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको र स्वास्थ्य परीक्षणको प्रतिवेदन आएपछि मात्र रोगको पहिचान हुने चिकित्सकले बताएका छन् । बस्तीभरि नै रोगको प्रकोप फैलिएकाले प्रभावित स्थानमा चिकित्सक टोलीसमेत परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com