दिंवगत छोराहरुको स्मृतिमा चेपाङ बालबालिकालाई सुविधायुक्त छात्राबास

काठमाडौ आषाढ ११,

परोपकारी संस्था लक्ष्मी प्रतिष्ठान काठमाडौले चितवन जिल्लाको अति विकट लोथर गाविसको कान्दामा चेपाङ बालबालिकाका लागि सुविधायुक्त कुमार बलराम स्मृति छात्राबास निर्माण सम्पन्न गरेको छ ।

टाढा विद्यालय भएको कारण धेरै चेपाङ बालबालिका शिक्षाबाट बञ्चित भएको र विद्यालय भर्ना भएका बालबालिका समेत नियमित रुपमा विद्यालय जान नसकेको अवस्थालाई मध्यनजर राखेर प्रतिष्ठानले सुविधायुक्त छात्राबास निर्माण गरेको हो । स्थानीय कान्देश्वर प्राथमिक विद्यालयमा अध्ययन विद्यार्थीहरुका लागि लक्षित गरेर निर्माण सम्पन्न भएको छात्राबास सञ्चालनमा आईसकेको छ ।
सडक दुर्घटनाको कारण आफ्ना दुई छोरा गुमाएपछि, छोराहरुको स्मृतिमा सामाजिक कार्यका लागि कान्दा पुगेको प्रतिष्ठानले कान्दा रुपान्तरण अभियान अन्तर्गत चेपाङ बालबालिकालाई सर्वसुलभ रुपमा शिक्षा प्रदान गर्ने हेतु जिल्ला शिक्षा कार्यालय चितवनसँग स्वीकृति लिएर गत मंसीरदेखि कुुमार बलराम स्मृति छात्रावासको निर्माण सुरु गरेको गरेको थियो । 
प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतमले सडक दुर्घटनामा २०६५ साल पुस १२ नेपालमा  जेठो छोरा कुमार र २०६६ असोज १७ गते अमेरिकामा अर्को छोरा बलराम गुमाएपछि लक्ष्मी प्रतिष्ठान स्थापना गरेर सामाजिक कार्यक्रम अघि बढाउने क्रममा २ बर्ष अघि कान्दा रुपान्तरण अभियान सुरु गरेका थिए । कान्दा पुगेको प्रतिष्ठानले  एक सय ६ जना बालबालिका सजिलै बसोबास गर्न सक्ने छात्राबास निर्माण पुरा गरेको छ । ‘यातायात, सञ्चार, स्वास्थ्य लगायतका अधिकांश विकासका आधारभूत आवश्यकताबाट टाढा रहेको कान्दामा मंसीरबाट छात्राबास निर्माण सुरु गरेर सम्पन्न गरी सञ्चालनमा ल्याएका छौ ।’

प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले भने–‘८५ जना चेपाङ बालबालिका छात्राबासमा बस्न थालेका छन् भने अन्य बालबालिका आउनेक्रम जारी छ ।’ सुरुमा स्थानीय विद्यालयमा अध्ययनरत बालबालिकालाई मात्र लक्षित गरी छात्राबासमा बनाएपनि विद्यार्थी बढ्ने सम्भावना भएपछि थप दुई ब्लक समेत निर्माण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
कान्दाको अवस्था अत्यन्त कारुणिक देखेपछि सरकारी र अन्य कुनै ध्यान नपुगेको सो क्षेत्रका अति विपन्न चेपाङहरुको लागि घर बनाउने अभियान सुरु गरेको प्रतिष्ठानले बालबालिकानै शिक्षाबाट बञ्चित देखिएपछि सुविधायुक्त छात्राबास बनाईदिएको हो ।

लोथर गाविस–९ स्थित कान्देश्वरी राष्ट्रिय विद्यालयमा १ सय ६ विद्यार्थी भर्ना भएकोमा ५० प्रतिशतभन्दा कम विद्यार्थी मात्र विद्यालय आउँछन् । दश बजे विद्यालय आउनुपर्ने बालबालिका बिहान खाना नखाई चार घण्टासम्म हिडेर आउँदा एघार÷बाह्र बजे मात्र आउने तथा दिउँसो २÷३ बजेनै फर्कने अवस्था देखिएपछि  प्रतिष्ठानले छात्राबासका सुरु गरेको हो । कतिपय विद्यार्थी पढ्नबाट बञ्चित भएको देखिएपछि प्रतिष्ठानले ठूलो दुःख र संघर्षका साथ छात्राबास बनाएको हो ।’–उनले भने ‘ मेरो एउटा सपना पुरा भएको छ, अब ओढार र छाप्रो घरमा बसेका चेपाङहरुलाई नयाँ घर दिएर उनीहरुमा खुशी ल्याउने सपना पुरा गर्न बाँकी छ ।’ 

अति विपन्न र पीडामा रहेका चेपाङहरुको अनुहारमा आउने खुशीमा आफ्ना छोराहरुको खुशी देखिन सक्ने आशामा आफूहरुले कान्दा रुपान्तरण अभियानका लागि आउने पुरै शक्ति खर्चेको उनको भनाई छ । 
भात खाने, बस्ने, सुत्नेदेखि हरेक समस्या भोगिरहेका चेपाङ बालबालिकालाई निःशुल्क रुपमा छात्राबास राखेर पढाउन लागिएको छ ।  प्रतिष्ठानले ५० लाख रुपैयाँ खर्चेर कान्दामा छात्राबास बनाएको हो । स्वदेश तथा विदेशमा रहेका सहयोगी हातहरुमार्फत केही रकम तथा केही प्रतिष्ठानमार्फत सहयोग गरेर छात्राबास बनेको छ । चिटिक्क छात्राबास बनाएको  प्रतिष्ठानले जीर्ण विद्यालयको मर्मत समेत गरिररहेको छ ।
चितवन जिल्लाको सदरमुकाम भरतपुरबाट ३० किलोमिटर टाढा रहेको भण्डाराबाट २० मिटर कच्ची मोटरबाटोबाट पुगिने हात्तीधापबाट झण्डै आठ घण्टा उक्लेर पुग्न सकिने कान्दा जंगलबीचमा छ । प्रतिष्ठानले हात्तीधापबाट जस्ता, सिमेन्ट, प्लाईउड, सिसा लगायतका अधिकांश सामग्रीहरु बोकेर छात्राबास बनाएको हो । छात्राबास निर्माणका लागि आवश्यक सामग्रीहरु स्थानीय चेपाङहरुले ८÷९ घण्टा पिठ्यूमा बोकेर ठूलो दुःखका साथ कान्दा पुर्याएका थिए । अति विकटमा पुगेका गौतम स्थानीयबासीको साथ र सहयोग पाएपछि झन उत्साहित बनेकथिए। उनी विकास निर्माणमा चेपाङहरुको लगाव, परिश्रम र संघर्षलाई सलाम गर्छन् ।

भौगोलिक अवस्था यति विकट छकि एउटा घरबाट अर्को घर पुग्न सबैभन्दा नजिकमा एक घण्टादेखि चार घण्टासम्म लाग्ने गरेको छ । कक्षा ५ सम्म पढाई हुने विद्यालय आउनका लागि भने विद्यार्थीलाई तीन घण्टासम्म लाग्ने गरेको छ । यही कारण प्रायः विद्यार्थी बिहान ११ बजेतिर मात्र आईपुग्छन् । तीन घण्टा हिडेर ज्यारमाङकी सोल्टीमाया प्रजा प्रत्येक दिन ११ बजेतिर मात्र स्कूल आईपुग्छिन् । सोल्टीमायाजस्तै विद्यालय आउन घण्टौ लगाउनुपर्ने बाध्यता धेरैको छ ।
ब्लक रहेको छात्राबासमा ५ विद्यार्थीका लागि बस्ने ब्लक छन् भने अध्ययन कोठा, किचन, कार्यालय, स्टाफ क्वाटर, डाइनिङ र गेष्ट ब्लक १\१ वटा छन् । सबैका लागि ६ शौचालय र ६ बाथरुमको व्यवस्था समेत गरिएको छ । विद्यार्थीका लागि खेल मैदान पनि बनाइएको छ । छात्राबासका ८५ विद्यार्थी बस्न थालिसकेका छन् भने अन्य विद्यार्थीहरु थपिनेक्रम रहेको विद्यालयले जनाएको छ । ८५ घरधुरी रहेको कान्दामा हालसम्म प्रवेशिका परीक्षा (एसएलसी) पास गर्ने कोही छैन भने अधिकांश बालबालिका उमेर, विद्यालय टाढा लगायतको कारण विद्यालयबाट टाढा छन् । कान्दाभित्र निमावि र मावि दुवै छैनन् भने प्रावि सकेपछि माथिल्लो कक्षा अध्यायनका लागि कम्तीमा पनि ६ घण्टा टाढा पुग्नुपर्छ ।  विद्यालयका अनुसार, कान्दा गाउँ भरिमा विद्यालय आउन नसकेका बालबालिकाको संख्या पनि झण्डै ५० प्रतिशत छ । ‘टाढा टाढाको कारण चेपाङ बालबालिका विद्यालय आउन नसकेकै कारण ११ वटा ब्लक बनाएका हौ ।’–अध्यक्ष गौतमले भने–‘ छात्राबासपछि विद्यालयबाट बञ्चित बालबालिका थपिने भएकोले थप ४० विद्यार्थी अट्ने दुई ब्लक बनाउन लागेका हौ ।’

छात्राबास लगायतका लागि प्रतिष्ठानले ५४ रोपनी जग्गा खरिद गरेर तरकारी खेतीका लागि ग्रीन हाउस फार्म बनाएको छ भने बाख्राखोर पनि तयार गरिएको छ । स्वदेशी र विदेशमा रहेका नेपालीको सहयोगबाट जग्गा खरिद र छात्राबास बनाएको प्रतिष्ठानले उक्त जग्गामा तरकारी, बाख्रा पालन लगायतमार्फत आम्दानी गरेर छात्राबासको खर्च व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।
कान्दामा प्रतिष्ठानको पहलमा यो गाउँमा ३२ घर भने बनाईसकिएको छ भने अन्य निर्माणको चरणमा छन् । छात्राबास निर्माण गरेर सञ्चालनमा आएपछि अब चेपाङहरुका लागि घर बनाईदिने र आयआर्जनमुलक कार्यक्रममार्फत आत्मनिर्भर बनाउने योजना प्रतिष्ठानको छ ।

बाग्लुङ जिल्लाकी उषा कँडेल शिक्षिका भएर चितवन जिल्लाको विकट लोथर गाविस–९ को कान्दास्थित कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालय जान तयार भईन । विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले जिल्ला शिक्षा कार्यालय चितवनमा कान्दा अति विकट भएको र आउन जान अति कठिन भएको स्पष्ट जानकारी दिएपनि वेरोजगार उनका लागि जागिर पाउनु ठूलो कुरा थियो । सीमान्तकृत चेपाङहरुको गाउँमा गएर पढाउँछु भन्ने अठोट लिइन ।

गत पुस ८ गते कान्दातिर हिडेकी उनी हात्तीधापसम्म त सजिलै पुगिन् गाडीमा । त्यसपछि ठाडो उकालो लाग्नुपर्ने बाटो छ । त्यो बाटोमा हिड्न अति कठिन छ । हात्तीधापबाट कान्दाका लागि उकालो लाग्दा उनलाई हिड्न यति कठिन भयोकि धुरुधुरु रोइन । रुदै रुदै विद्यालय पुगेकी उनी पर्सीपल्ट यस्तो ठाउँमा जागिर खान्न भन्दै रुदै रुदै फर्किइन् । हुन पनि कान्दा पुग्न जोकोहीलाई पनि कठिन छ । चितवनको भरतपुरबाट २५ किलोमिटर पार गरेपछि आउने भण्डाराबाट झण्डै १७ किलोमिटर कच्ची हिडेपछि धात्तीधाप पुगिन्छ । त्यो हात्तीधापबाट झण्डै आठ घण्टा ठाडो उकालो हिडेपछि बल्ल कान्दा पुगिन्छ ।
कँडेल मात्र होइन, शिक्षक/शिक्षिकाको रुपमा कान्देश्वरी पुग्नेहरुको पीडादायी कथा धेरै छन् । कँडेल अघि त्यहाँ तराईमुलका रामलखन यादव विद्यालय पढाउन पुगेका थिए । गत भदौमा कान्दा पुगेका उनले त्यसपछि पटक पटक सरुवा खोजे । १० मंसीरमा सरुवा भएका उनी कान्दा बसेञ्जेल ‘मेरो भाग्य फुटेको, कर्म लुटेको’ भनेर आफैलाई गाली गर्थे । अति टाढा र आउन जान कठिन भएकोले यहाँ आउने शिक्षकहरु हत्तपत्त घर फर्कदैनन् । २०६८ साल पुसमा कान्दा पुगेका चितवनकै सहदेव पाठकले गाउँमा बसेर राम्रै पढाएँ तर कान्दा बस्दा बस्दै श्रीमती अर्कोसँग विवाह गरेर गएपछि उनी स्कूलै छोडेर जापान हान्निएँ ।

हालै विद्यालयमा रहेका अर्का शिक्षक लीलाधर लामिछाने पनि विद्यालय छोडेर हिडे । भर्खर अर्को शिक्षक बाबुराम चौधरी आएका छन्, उनी पनि कतिञ्जेल बस्ने हुने ठेगान छैन । हरेक शिक्षक यहाँ आउने वित्तिक्कै सरुवाका लागि सोर्सफोर्समा दौडिन्छन् । प्रअ थपलियाका अनुसार, पछिल्ला १० बर्षमा ६÷८ जना शिक्षक आएर पनि सरुवा भैसकेका छन् । अर्काे शिक्षक पनि विद्यालयले खोजिरहेको छ । पढाउने शिक्षक÷शिक्षिका त पाउन मुश्किल यो विद्यालयका लागि कान्दाका चेपाङ विद्यार्थीले पाउने शिक्षा दीक्षा त परैको कुरा भो । तर यो विद्यालयमा २०५८ सालमा स्थापना भएको विद्यालयमा २०५९ सालमा शिक्षकको रुपमा पढेका थपलिया हालसम्म निरन्तर पढाईरहेका छन् । ‘सीतिमीति कोही शिक्षक यहाँ बस्दैनन्, अति विकट भएकोले विद्यालयमा शिक्षककै अभाव छ ।’–प्रअ थपलियाले भने–‘कति शिक्षक आए गए, कोही सरुवा भएर आएपनि आउने वित्तिक्कै अन्त सरुवाका लागि सोर्सफोर्सका लागि दौडिहाल्छन्, सधै विद्यालयलाई समस्यै समस्या छ ।’
१२ बर्ष अघि प्रअ बालकृष्ण कान्दा आउँदाको अवस्था अतिनै दयनीय थियो । अधिकांश खरका छाना, कतिपय ओढारमा बस्ने, खाली खुट्टा, बोरा बेरेर नग्नता ढाग्ने बालबालिका र अभिभावक, जेनतेन ६ महिना खान पुग्ने र बाँकी समय गिठ्ठाभ्याकुर खानुपर्ने अवस्था । यी सबै पीडासँग साक्षात्कार थपलियाकालागि यहाँको अवस्था आफ्नो दयनीय पारिवारिक अवस्थाभन्दा झन पीडादायी लाग्यो । ‘म सुरुमा विद्यालय विद्यार्थी बोलाउन जाँदा सबै डराएर भाग्थे ।’–उनले विगत सम्झँदै भने–‘हालसम्म बल्ल लोथर गाविस–९ र कोराक गाविस–४ का गरी १ सय ६ जना विद्यालयमा भर्ना गर्न सफल भएका छौ ।’ उनका अनुसार, पहिला विद्यालय पढाउनुपर्छ भन्नेमा चेतना नभएका अभिभावकमा पढाउनुपर्छ भन्ने चेतना जागृत भएको छ तर खान नपुग्ने, धेरै टाढाबाट विद्यालय आउनुपर्ने पीडा अझै छ ।

५ बर्ष अघिभन्दा चेपाङ गाउँमा केही चेतनामा वृद्धि भएपनि कपडाकै अभावमा शरीरको तल्लोभाग जेनतेन ढाक्ने कपडा भएपनि माथिल्लोभाग नांगै देख्न सकिन्थ्यो तर अहिले त्यो अवस्था छैन । २०६७ साल जेठमा कान्दामा जंगलको च्याऊ खाएर एकै परिवारका आठ जनाको मृत्यु भएपछि त्यहाँ सञ्चारकर्मीदेखि सामाजिक संघसंस्था पुग्नेक्रम सुरु भयो । त्यसपछि पुगेको मितेरी फाउण्डेसन चितवन र सुरुमा फाउण्डेसनकै सहयोगमा पुगेको लक्ष्मी प्रतिष्ठानले चेपाङहरुका लागि राहत कार्यक्रम अघि बढाए । ‘चेपाङको लागि आङढाक्ने कपडानै नभएपछि उनीहरुका लागि धेरै कपडा संकलन गर्यौ र वितरण गर्यौ ।’–प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम भन्छन्–‘सुरुमा जाँदाजस्तो नांगा चेपाङ अहिले देख्न पाइदैन, बालबालिकाले समेत विद्यालय जाने ड्रेस पाएका छन् ।
फाउण्डेसन र प्रतिष्ठानले बालबालिकाका लागि खाजा र बेला बेलामा खानको व्यवस्था समेत गर्दै आएका छन् । विद्यालयमा खाजाको व्यवस्था नहुँदा १ सय ६ विद्यार्थीमध्ये मुश्किलले १५÷२० जना मात्र विद्यालय आईपुग्थे तर अहिले ५० विद्यार्थी विद्यालय आउँछन् । अति टाढा भएकोले विद्यार्थी विद्यालय आउन नसकेका हुन् । ‘पानी परेको बेला त दैनिक नौ जना मात्र विद्यार्थी पनि आएका छन् तर खाजाको व्यवस्था भएपछि त्यो खानाका लागि पहिलाभन्दा धेरै विद्यार्थी बढेका छन्, ५० जनासम्म आउन थालेका छन् ।’–प्रअ थपलियाले भने । परिवार नियोजनबारे जानकारी नभएको यो गाउँमा एउटा चेपाङले १० जनासम्म बच्चा जन्माएका छन् तर अधिकांश विद्यालय आउँदैनन् । आउने विद्यार्थीहरुले समेत धेरै हिडेर विद्यालय आईपुग्छन् । विद्यालय भर्ना भएर वीचमै छोड्ने पनि धेरै छन् । लोथर गाविसभरि माध्यामिक विद्यालय नभएकोले कक्षा ५ पढीसकेपछि मावि र उच्च मावि पढ्न जाने उनीहरुको आर्थिक हैसियत पनि छैन ।

यहाँ भौगोलिक अवस्था यति विकट छकि एउटा घरबाट अर्को घर पुग्न सबैभन्दा नजिकमा एक घण्टादेखि चार घण्टासम्म लाग्ने गरेको छ । कक्षा ५ सम्म पढाई हुने विद्यालय आउनका लागि भने विद्यार्थीलाई तीन घण्टासम्म लाग्ने गरेको छ । यही कारण प्रायः विद्यार्थी बिहान ११ बजेतिर मात्र आईपुग्छन् । तीन घण्टा हिडेर ज्यारमाङकी सोल्टीमाया प्रजा प्रत्येक दिन ११ बजेतिर मात्र स्कूल आईपुग्छिन् । ‘तीन घण्टा लाग्छ, स्कूलमा खाजा खान दिन्छ, त्यही भएर हिडेर आउँछौ ।’–उनी भन्छिन् । उनी मात्र होइन, ८५ घरधुरी रहेको कान्दाभरि टन्न खान पुग्ने चेपाङ छैनन् । यही कारणले लक्ष्मी प्रतिष्ठानले कोही बालबालिका विद्यालय शिक्षाबाट बञ्चित नहुन भनेर निर्माण सुरु गरेको कुमार–बलराम स्मृति छात्रावासको निर्माण सम्पन्न भएको छ ।

कान्देश्वरी प्राविमा हाल तीन शिक्षक मात्र छन् । दरबन्दी भएपनि विकटताको कारण विद्यालय आउन नमान्दा चेपाङ बालबालिकाले पढ्न पाएका छैनन् । चार कोठा मात्र रहेकोले कार्यालयदेखि सबै कक्षा एकै ठाउँमा राखेर सञ्चालन गर्नुपर्ने अवस्था छ । कक्षा १ र २ तथा ३ र ४ लाई एक\एक कोठामा राखेर हाल संयुक्त पढाईरहेका छन् । शहरमा सबैका लागि शिक्षा, बालमैत्री, मनोवैज्ञानिक लगायतका गुणस्तरीय शिक्षा धेरै नारा सुनिन्छन् । सरकारले यही कार्यक्रम पनि अघि बढाएको छ तर यहाँका बालबालिकाले केही पाएका छैनन् । शिक्षक त नपाएको विद्यालयमा गुणस्तरीय शिक्षा त धेरै टाढाको कुरा बनेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com