सिटामोल किन्न एक दिन

जाजरकोट जेठ २९,

यहाँका दर्जनभन्दा बढी दुर्गम बस्तीमा सिटामोल लिनका लागि मात्र पनि दिनभरि हिँड्नुपर्ने बाध्यता रहेको छ । जुम्लाको सिमानासँग जोडिएको जाजरकोट जिल्लाको रोकायगाउँ–१ पहाडा मुल्सामका स्थानीयलाई सिटामोल लिन मात्र एक दिन लाग्ने गरेको हो । यहाँका स्थानीयलाई सामान्य रुघाखोकी लागे पनि औषधि लिने ठूलै चिन्ताले सताउने गरेको छ । 

सिटामोल लिन जान पनि एक दिन पैदलदूरी हिँड्नुपर्ने भएपछि उनीहरू सामान्य औषधि पनि खान नपाउने अवस्थामा छन् । मुल्सामबाट दिनभरि हिँडेपछि रोकायगाउँ–९ मा रहेको लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा पुगिन्छ । प्राथमिक स्वास्थ्य केन्द्र कहिले खुल्छ र बन्द हुन्छ ठेगान हुन्न । त्यसकारण कर्णाली अञ्चलको जुम्ला जिल्लासँग सिमाना जोडिएको रोकायगाउँको वडा नं १ र २ का बासिन्दा औषधि खान नपाउने बाध्यतामा परेका हुन् । 

सरकारले उपलब्ध गराउने निःशुल्क स्वास्थ्य सेवा ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भएको मुल्सामका स्थानीय प्रेम शाहीले पिरलो पोखे । ‘स्वास्थ्य संस्था टाढा छ, गाउँमा कोही बिरामी परे धामीझाँक्रीको भर पर्नु यहाँको प्रचलन नै बनेको छ,’ शाहीले भने, ‘गाउँबाट प्राथमिक स्वास्थ्य केन्द्र जान एक दिन लाग्छ, बिरामी बोकेर जाँदा त झन धेरै समय लाग्छ ।’ यो समस्या जाजरकोटका दुर्गम गाउँको साझा रहेको छ । जिल्लाका कतिपय स्थानमा सामान्य रोगको उपचारका लागि एक दिनभन्दा बढी हिँड्नुपर्ने बाध्यता छ । 

स्वास्थ्य संस्था निकै टाढा हुने भएकाले दुर्गमका बासिन्दाले यस्तो नियति भोग्नुपरेको हो । दुर्गमका बासिन्दाले बालबालिकाको नियमित खोप, महिलाको गर्भ जाँच र सुरक्षित सुत्केरी सुविधा पनि पाउने गरेका छैनन् । ‘बिरामीले त उपचार पाउने सम्भावना छैन, खोप र गर्भ जाँचको कुरा त टाढाको विषय हो,’ मुल्सामका वीरबहादुर रोकायले भने, ‘हाम्रा लागि सबै देउताले हेर्छन्, डाक्टर कसरी उपचार गर्छन्, त्यो हामीलाई थाहा छैन ।’ रोकायगाउँजस्तै जिल्लाका दुई दर्जन गाविसका दुर्गममा बस्ने स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित छन् । 

भगवतीको सिउन, खगेनकोटको मंसिरी, पजारुको टीकाचौर, दहको जुर्कनिपाने, नायकवाडाको जिरी, लिम्क, धुम, पैंकको चाल्नलगायतका ठाउँका स्थानीयले स्वास्थ्य सुविधा पाउन सकेका छैनन् । भौगोलिक विकटता र यातायात सुविधाको अभावले दुर्गमका स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन् । स्थानीयको स्वास्थ्य संस्थासम्म सहज पहुँच नभएका कारण सामान्य रोग पनि महामारीका रूपमा फैलने गरेको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com