मलाइ कुनै पछुतो छैन

काठमाडौ, असार ३ ,

नायिका प्रीति जिन्टा कुनै बेला बलिउडमा जल्दीबल्दी नै थिइन् । बलिउडकी डिम्पल नायिका यति बेला भने फिल्म क्षेत्रबाट पूरै ओझेलमा छिन् । सन् २०१३ मा ‘इश्क इन पेरिस’ पछि त उनका फिल्म नै रिलिज भएनन् । 

बरु फिल्म छायांकन छोडेर क्रिकेट टिमको मालिक हुनमा मज्जा मान्न थालिन् । त्यही पनि यसपटक त उनकै टिम पञ्जाब ११ ले आईपीएलमा राम्रो नतिजा दिन नसकेपछि त प्रीतिलाई औडाहा भइरहेको छ । ‘वीर जारा’ की नायिकालाई छँदाखाँदाको फिल्म करिअरलाई किनारा लगाएर क्रिकेटतर्फ लाग्दा यति बेला कत्तिको गुनासो होला ? भन्छिन्, ‘पिँधमा पुगेपछि मात्रै किन छोड्नुपर्‍यो ? चलिरहेकै बेलामा छोड्दा पनि राम्रै हुन्छ । 

मैले जे गरें ठीकै गरें । कुनै पछुतो छैन । हो, म अझै पनि आफूलाई हिरोइन भन्नमै बढी गर्व गर्छु र यात्रा भनेको कहिल्यै पनि रोकिन्न र सकिन्न पनि ।’ उमेरमा ४० पुगिसकेकी प्रीति अझै अविवाहित नै छिन् । त्यसो त यति बेला उनी कसैको प्रेममा परेको गाइँगुइँ हल्ला पनि चल्न थालेको छ । तर उनी भने यस मामिलामा चुप बस्नुमै बेस ठान्छिन् । ‘म सम्बन्धहरू आफूमै सुरक्षित होस् भन्ने चाहन्छु । 

मलाई प्रेमी वा प्रेमिकाको बारेमा विज्ञापन गरेर उसका निजी जीवनमा दख्खल दिन ठीक लाग्दैन,’ प्रीतिले सर्तकपूर्ण जवाफ दिँदै भनिन् । त्यसो त उनी पनि अरू जस्तै सेटल भएर बस्ने रहर पलाएको भने बताउँछिन् । रमाइलो के भने, प्रीतिलाई उनको स्वभाव र व्यवहारका कारण युवतीपनामा कमजोर रहेको पनि टिप्पणी चलाउँछन् । 

‘मलाई केहीले पुरुषजस्तो देखिन्छौं भन्छन् । त्यस्तो पनि कम्प्लिमेन्ट ? म महिलाजस्ती देखिनुमा नै खुसी हुन्छु । हो म केही बोल्ड छु तर यो हैन कि म केटा हुँ,’ यसो भन्दा चाँहि प्रीति स्वयं हाँसिन् । एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com