कालाजारले पत्नी र नातिनीलाई लग्यो अब म र छोराको पालो

विराटनगर, ३ असार,

चारैतिर अग्ला बाँसको घारीका बीचमा मुसहर जातिको बस्ती । बस्तीभित्र ससाना परालका छाप्राहरु । हेर्दा नै अति विपन्न परिवार बस्ने थलो । अचेल सो बस्तीमा कालाजार रोगी देखिन थालेका छन् ।

विराटनगर उपमहानगरपालिकासँग जोडिएको पूर्वी भागमा अवस्थित वैद्यनाथपुर गाविस–५ अन्तर्गत खाप टोलको वस्तुस्थिति हो यो । सो टोलामा मुसहर जातिका ६४ परिवारको बसोबास छ । सबै सुकुम्बासी हुन् । दिनभरि मजदुरी गरेर घरखर्च टार्ने अवस्था छ, उनीहरुको ।
सोही बस्तीमा ६५ वर्षीय शिवा ऋषिदेवको अवस्था कहालिलाग्दो छ । उनले आफ्नी श्रीमती गुलोदेवी र नातिनी सुमित्रालाई वर्ष नबित्दै कालाजार रोगका कारण गुमाइसकेका छन् । यतिखेर, शिवा र उनका ११ वर्षीय छोरा राजन कालाजार रोगबाट पीडित छन् ।

“पत्नी र नातिनीको मृत्यु भइसक्यो, अब मेरो र छोराको पालो छ”, उनी भन्छन्, “खानका लागि केही छैन । उपचार कहाँबाट गर्नु ।” कालाजार रोगबाट पीडितलाई आराम गर्नुपर्ने आवश्यकता हुन्छ । तर उनीहरु दिनभर बनिबुतो गरेर घरखर्च धान्न बाध्य छन् । घरमा अरु कोही छैनन्, आफैँ खाना पकाएर खानु पर्दछ, पकाउन नसके भोकै सुत्नुपर्ने हुन्छ । रातको समयमा ज्वरोले छटपटाउनुबाहेक अरु कुनै विकल्प नरहेको बताउँदै उनी भन्छन्–“हामी गरिबको उपचारको व्यवस्था अविलम्ब हुनुपर्छ ।”
सोही टोलाका अर्का कालाजार रोगी बनारस ऋषिदेव एक वर्षभन्दा बढी समयदेखि बिरामी हुनुहुन्छ । कोसी अञ्चल अस्पतालमा उपचार गराएको उहाँ बताउनुुहुन्छ । “सित्तैमा औषधि पाइन्छ, गाविस जानु भनेर अस्पतालले गाविस पठाइदियो । गाविसमा पुगेर पूर्जा थमाएपछि औषधि त दिएन, मलाई त्यहाँ बताइयो ‘नो टेन्सन’, यसको अर्थ के हो, पत्रकारजी ?” उनकी श्रीमती टुप्कीले सोधीन् ।

अशिक्षित बस्तीका उनीहरुलाई कालाजार रोगको उपचारका लागि सरकारले निःशुल्क रुपमा औषधि उपचारका साथै आवतजावतका लागि रु एक हजार नगद र सुपानेट झुल उपलब्ध गराउँछ भन्ने विषयमा जानकारी नरहेको देखिन्छ ।
सोही बस्तीमा ६० वर्ष नाघेका देवु ऋषिदेव हुनुहुन्छ । खेतमा काम गरिरहेका बेलामा ढुङ्गामाथि लडेपछि कम्मरमा गम्भीर असर परेकाले थला पर्नु भएको छ । क्षमताअनुसार उपचार त गराउनुभयो तर निको भएन । एक वर्षदेखि हिँड्डुल गर्न नसक्ने उहाँलाई अपाङ्ग परिचयपत्र प्राप्त गरेर मासिक आर्थिक भत्ता पाउने विषयमा थाहा पनि नरहेको देखिन्छ ।

निर्वाचनका बेलामा मेरो बस्तीमा निकै चहलपहल हुन्छ, नेताहरु आइरहेका हुन्छन्, अहिले गाउँदेखि जिल्लास्तरका कुनै नेता हामीहरुको अवस्था बुझ्न बस्तीमा नपसेकोमा देवु ऋषिदेवले नेताहरुमाथि पटक–पटक आक्रोस पोखे ।
जिल्ला जनस्वास्थ्य कार्यालयले कालाजार रोगीको खोजपडताल कार्यक्रम सुरु गरेको छ । सो कार्यक्रमअन्तर्गत जेठ २२ गते सो बस्तीका मानिसको रगत परीक्षण गर्दा सात जनामा कालाजारका लक्षण देखापरेको सो कार्यालयले जनाएको छ ।

मोरङ जिल्लामा विगत नौ महिनामा ८२ जना नयाँ कालाजारका रोगी फेला परेका छन् । पुरानोसमेत गरी १८९ जना बिरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङले जनाएको छ । आव २०६७/०६८ मा १७५ जना बिरामीमध्येबाट तीन जनाको मृत्यु भएको थियो । आव २०६८/०६९ मा ९२ जना रोगी रहेका थिए ।
यस जिल्लाका ववियाविर्ता, मझारे, भातिगछ, सिसवनीजहदा, कटहरि, दुर्वैसा, टङ्कीसिनुवारी र वैद्यनाथपुर गाविसमा रोगी फेला परेका हुन् ।
सेन्डफ्लाइ नामक भुसुनाबाट यो रोग लाग्ने गर्छ । यो रोगलाई निको पार्नका लागि प्रयोग हुँदै आएको मिल्टोफ्फोसिन नामक औषधिलाई सो रोगको जिवाणुले पचाइसकेका छन् । सो कारणले रोग निको नहुन थालेपछि नेपाल सरकारले अब एमप्रोटिसन ‘बी’ नामक भाइल प्रयोगमा ल्याएको सो कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर रामकुमार लामाले जानकारी बताए ।
अस्पतालमा भर्ना गरी बिरामीको उमेर र रोगको अवस्थाका आधारमा सिरिन्ज माध्यमबाट औषधि दिने गरिएको बताए । मोरङका अधिकांश कालाजार रोगीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाउने गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कालाजारबाट प्रभावित ठाउँमा कीटनाशक औषधि छर्ने काम सम्पन्न भइसकेको र नयाँ पत्ता लागेका वैद्यनाथपुर र पानीट्याङ्की गाविसमा चाँडै नै औषधि छर्कने भेक्टर कन्ट्रोल सुपरभाइजर लामाले बताए । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com