दलाल देखि सजक हुन सुझाव

सोमबार जेठ २५,

अचेल भूकम्प प्रभावित जिल्लाका चेलीबेटी दलालको प्रलोभनमा पर्न थालेको पाइएको छ ।

भूकम्प प्रभावित दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा, धादिङलगायत जिल्लाबाट अवैध तरिकाले इलामका अवैध सीमा नाका हुँदै दलालले भारतका कोठीहरूमा पुर्‍याउने गरेको रहस्य खुलेको छ । भूकम्पबाट अभिभावक गुमाएका किशोरी दलालको प्रलोभनमा पर्ने गरेका छन् ।

भूकम्प प्रभावित जिल्लाबाट चेलीबेटीलाई ललाइफकाई, जागिरको प्रलोभन देखाउने, आफन्तसँग भेट गराइदिने भन्दै पूर्वी नाका पशुपतिनगरबाट भारतको दार्जिलिङ, सिक्किम, मुम्बइलगायत क्षेत्रका कोठी, होटलमा लैजाने गरेको पाइएको पशुपतिनगरस्थित माइती नेपालको सम्पर्क कार्यालयले जनाएको छ ।

भूकम्पयता मानव तस्करी फैलन थालेपछि माइती नेपालले सीमावर्ती क्षेत्र पशुपतिनगर, श्रीअन्तु, समालबुङ, गोर्खे, जोगमाई, जिर्मलेलगायतका गाविसमा उच्च सतर्कता अपनाउन थालेको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले बताए ।

“यतिबेला दलालले विभिन्न बहाना बनाएर नेपाली चेली भारततर्फ लैजान थालेका छन्, भूकम्पको मौका छोपी मानव तस्करी बढ्न थालेको छ, ढकालले भने, “यो बुझेर माइती नेपालले विभिन्न सङ्घसंस्थाको सहयोगमा नियन्त्रण सुरु गरेको छ ।”

माइती नेपाल पशुपतिनगरका अनुसार जनवरीदेखि मे महिनासम्ममा ३५ जनालाई सीमावर्ती क्षेत्रमा रोकेर आवश्यक परामर्श दिइएको छ । विगतको तुलनामा यो सङ्ख्या अत्यन्तै बढी हो, ढकालले भने, “उच्च जोखियुक्त क्षेत्र भएकाले उच्च निगरानी बढाएका छौँ ।” यही समयमा हराएका ११ जनामध्ये चार जना फेला परेको र बाँकी सात जनाको कुनै पत्तो नभएको माइती नेपालले जनाएको छ ।

हराउनेमा भूकम्प प्रभावित जिल्ला र इलाम, पाँचथरका समेत रहेको जनाइएको छ । हराउनेमा १५ देखि २० वर्ष उमेर समूहका युवती रहेका छन् । दलालले इलामका आठ गाविसका दर्जनौँ अवैध नाकालाई प्रयोग गर्न थालेपछि माइती नेपालले ती गाविसमा गठित चेलीबेटी बेचबिखनविरुद्ध सक्रिय महिला समूहलाई परिचालन गर्न थालेको छ ।

अरुबेला त्यति सक्रिय नबन्ने समूह यतिबेला गाउँ–गाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, माइकिङ, पोष्ट पम्प्लेटिङका साथै गाउँमा कोही नौलो व्यक्ति आएको छ भने उसको समेत सोधीखोजी गर्न शुरु गरेको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com