बागलुङ, बिहुँ स्वास्थ्य चौकीमा चौबीसै घण्टा सेवा

बागलुङ आषाढ १६,

बागलुङको बिहुँ गाविसस्थित बिहुँ स्वास्थ्य चौकीमा चौबीसै घण्टा सेवा दिने गरी प्रसूति केन्द्र सञ्चालनमा आएको छ । आमा र नवजात शिशुको स्वास्थ्य रक्षा र स्याहारका लागि केन्द्र खोलिएको हो । केन्द्रले चौबीसै घण्टा प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्यचौकी प्रमुख शितेशकुमार कर्णले बताए । 

गाउँमै सुविधासम्पन्न प्रसूति केन्द्र खुलेपछि घरमै हुने प्रसूतिको दर घट्ने ठानिएको छ । स्वास्थ्यचौकीमा पूर्वाधार, जनशक्ति तयारी र उपकरण जडान गरेपछि प्रसूति केन्द्रले पूर्णता पाएको हो । केन्द्र खोल्न गाविस र स्थानीयवासीले पहल बढाएका थिए । मर्मतसम्भार र उपकरण खरिदमा ‘वन हार्ट’ नामक संस्थाले रु सात लाख सहयोग गरेको हो । 

‘प्रसूति केन्द्र ग्रामीण क्षेत्रका महिलालाई बरदाननै सावित हुनेछ’, प्रमुख कर्णले भने, ‘प्रसूतिका बेला हुने जोखिम न्यूनीकरण गर्न केन्द्र सञ्चालनमा ल्याइएको हो ।’ मातृशिशु स्वास्थ्यमा प्रसूति केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताए । उनले जिल्लाका सबै स्वास्थ्य संस्थामा प्रसूति केन्द्र चलाउने योजना रहेको उल्लेख गरे । 

‘अहिलेसम्म ३६ वटा स्वास्थ्य संस्थामा प्रसूति केन्द्र सञ्चालनमा आएका छन्, स्थानीयवासीको तदारुकता भयो भने केन्द्र खोल्न समस्या छैन’, प्रशासक श्रेष्ठले भने । स्वास्थ्य संस्थालाई समुदायकै आडभरोसा बढी चाहिने उनको भनाइ छ । प्रशासक श्रेष्ठले स्वास्थ्य संस्थामै प्रसूति हुनको लागि परिवारका सदस्य र समुदायले समेत प्रोत्साहन गर्नुपर्ने धारणा राखे । स्वास्थ्य संस्थामा प्रसूति हुने महिलालाई प्रोत्साहन रकम, शिशुको लागि न्यानो झोला समेत दिने गरिएको छ । 

स्वास्थ्य संस्थामा प्रसूति हुनेलाई यातायात खर्चबापत रु एक हजार र ४, ६ र ८ महिनामा गर्भजाँच गरेबापत रु चारसय उत्प्रेरणा भत्ता प्रदान गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । घरमै प्रसूति हुँदा आमा र शिशुको ज्यानै जोखिममा पर्ने हुँदा गाउँ–गाउँमा प्रसूति केन्द्र सञ्चालनमा आउन थालेका हुन् । 

तालिम प्राप्त स्वास्थ्यकर्मीसहित सुविधायुक्त प्रसूति केन्द्र खुलेपछि स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलाको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सन् २०१५ भित्र स्वास्थ्य संस्थामा हुने प्रसूतिको दरलाई ६० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com