कविता By, रिना बम्जन 'तामाङ


कविता By, रिना बम्जन 'तामाङ

"मृत्यृलाई जितेकी छु"
शालीन धर्तीमाता
जब, अचानक
थर्थराउदै काँप्न थाल्छन्
अनि
सृष्टि र सिर्जना
निमेषमै
भताभुङ्ग भएर
भग्नावशेषमा परिणत हुन्छ
र,
कायल बन्छ धरमर
बाँकी अंशहरू ।

हो,
त्यहि बाँकी अंशभित्रको
लाचार/ घायल मान्छे हुँ 'म',
अचेल,
मृत्यृले हरघडी जिस्काइरहन्छ,
मनमर्जी खेलाईरहन्छ
भूकम्प बनेर
तर्साइरहन्छ ।

जब मेरो मानव
जीवनअस्तित्व
मेटिदिन खोज्छ
भूकम्प बनेर मृत्यृहरू
म,
जीवनलीलाको अन्तिम
दस्तावेजमा
निशङ्कोच
हस्ताक्षर गर्न राजि हुन्छु
आत्माविश्वास/ आत्मासमर्पणकासाथ
तर
अँह !
ऊ,मार्दैन मलाइ ।
अन्तिममा,
फ्यात्त फ्याकिदिन्छ
च्यातेको/फाटेको धर्तीमाथि
म, फेरि
जीवन मोहले
तड्पिन्छु/ छट्पटिन्छु,
मृत्यृ भयले
आँतिन्छु र भाग्न खोज्छु कतै ।

मृत्यृ ताण्डवले निमोठेका
कयौं अबोध जीवनहरू
बिस्कुनसरी
यत्रतत्र लम्पसार छन्
बेग्र शरिर, बिक्षिप्त छाती, शिथिल आँखा
बाँधेर साहसका किलाहरूमा
लड्छु भन्छु-
यो प्रकृति बदशालाभित्र
ऊ, पुन:भूकम्प बनेर हल्लिदै
लडाउन खोज्छ/ मार्न खोज्छ
मेरो भरोसा र आँटहरूलाई ।
उ,,, त्यो प....रको
भग्नावशेषबाट
यौटा चित्कार
गुन्जयमान भैरहेछ
बचाउ बचाउ...!,
म केहि गर्न सक्दिन्
जीवनको भीख मागिरहेकोहरूलाई ।
टेकेको धर्ति फाटिदिन्छ/हल्लिदिन्छ
वरिवरि, जताततै सारालाई
मृत्यृ नङ्ग्राले कोतर्न खोजिरहन्छ
मृत्यृ दाराले चपाउन खोजिरहन्छ
बस, यतिखेर
म मृत्यृ, मृत्यृ देखिरहेछु ।

हो, मैले मृत्यृलाई
यसरी
नजिकबाट चिहाएकी छु
कयौं पटक सम्झौता गरेकी छु
लडेकी छु मृत्यृसँग
र फेरि उठेकोछु
चोमोलुङ्मा भएर
अब,
बिस्तारै बिस्तारै
मृत्यृ भयलाई पचाएकी छु
मैले मृत्यृलाई जितेकी छु,
हो,
म, अब मर्न डराउदिन ।
मैले मृत्यृलाई जितेकी छु ।

रिना बम्जन 'तामाङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com