भूकम्पबाट प्रभावित सुत्केरी र गर्भवतीलाई प्राथमिकता

काठमाडौँ, १६ जेठ ,

समाजकल्याण परिषद्ले भूकम्पबाट प्रभावित सुत्केरी र गर्भवतीलाई प्राथमिकता दिन आग्रह गरेको छ । भूकम्पपछि सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्ग भएका व्यक्ति अझै पनि त्रिपालमुनि बस्न बाध्य भएकाले सा समुदायलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम सञ्चालन गर्न परिषद्सँग आबद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग अनुरोध गरिएको हो । 

परिषद्का निर्देशक मदनप्रसाद रिमालले भने–“अहिले सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित भएका अवस्थामा हामीले परिषद्सँग आबद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई आगामी कार्यक्रम भूकम्प प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित हुनुपर्ने भनी आग्रह गरेका छौँ ।” भूकम्पका समयमा विभिन्न सङ्घसंस्थाद्वारा सञ्चालित उद्धार एवम् राहतबारे परिषद्को वेबसाइटमा राखिएको ढाँचाबमोजिम विवरण अनिवार्य रूपमा उपलब्ध गराउन समेत परिषद्ले आग्रह गरेको छ । 

परिषद्सँग ४१ हजार गैरसरकारी संस्था आबद्ध छन् । तीमध्ये करिब पाँच प्रतिशत मात्र सक्रिय रूपमा सञ्चालनमा रहेका छन् । त्यसैगरी दुई सय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आबद्ध छन् । तीमध्ये करिब ४० मात्र सक्रिय रूपमा सञ्चालनमा आएका छन् । भूकम्पपछि करिब ५० सङ्घसंस्थाले भूकम्पका समयमा गरेको उद्धार तथा राहतको विवरण परिषद्मा उपलब्ध गराइसकिएको योजना तथा कार्यक्रम विभागका निर्देशन सुभद्रा दाहालले जानकारी दिए । 

परिषद्सँग आबद्ध सङ्घसंस्था भूकम्प प्रभावित क्षेत्रमा सक्रिय भएको हुँदा विवरण बुझाउन ढिला भइरहेको उनको भनाइ छ । भूकम्पपछि भूकम्पसम्बन्धी कार्य गर्नका लागि पाँच नयाँ गैरसरकारी संस्था परिषद्मा आबद्ध हुन आएको निर्देशक रिमालले जानकारी दिए । अन्य क्षेत्रमा कार्य गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थालाई भूकम्पका क्षेत्रमा काम गर्नसमेत परिषद्ले अनुरोध गरेको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com