आरुघाट (गोरखा) जेष्ठ ३,
वैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाक आसपासका १० गाउँ पहिरोको उच्च जोखिमले अन्यत्रै सार्नुपर्ने देखिएको छ। भूकम्पले ठूला चिरा परेको र माथिबाट पहिरो आएका कारण गाउँ सार्नुपर्ने स्थानीय बासिन्दाले बताए।
'हामी त पुरानो थलोमा बस्दै-बस्दैनौं', गुम्दा-४ यमगाउँका साने गुरुङ भन्छन्, 'माथिबाट पहिरो आएर गाउँका नौजना पुरिए, तीनजनाको शव फेला पर्यो, ६ जना अझै बेपत्ता छन्। त्यस्तो गाउँमा कसरी बस्नु?' भूकम्पले यमगाउँका सबै ४३ घर जगैदेखि भत्केका छन्। गाउँमाथिको जुङगाङकोट र भीरकोटको डाँडाबाट पहिरो आएर गाउँ पुरेको गुरुङले बताए।
करिब पाँच सय ५० घरधुरी भएको लाप्राक गाउँ पनि विस्थापित हुने भएको छ। २० वर्षअघिको पहिरोले चिराचिरा पारेको लाप्राकका सबै घर अहिले भूकम्पले भत्काएपछि गाउँले गुप्सीडाँडामा सरेका छन्।
'गाउँको तलमाथि, दायाँबायाँ सबैतिर पहिरो छ। गाउँभित्र पनि धाँजा फाटेको छ', लाप्राक गाविसका पूर्वअध्यक्ष सन्तोष गुरुङ भन्छन्, 'पहिल्यै बस्न नहुने थियो। अहिले घरबारविहीन भएपछि त झन् कोही पनि फर्कने अवस्था छैन।
पूर्वपट्टिको केही समथर जग्गामा नयाँ बस्ती बसाल्नुपर्ने उनको सुझाव छ। एक गाविस एक गाउँका रूपमा चिनिएको लाप्राकमा भूकम्पका कारण २० जनाको मृत्यु भएको छ।
६६ घरधुरी भएको गुम्दा-५ माछाखोला बजार पनि विस्थापित हुने अवस्थामा छ। १८११ सालमा ६० घरधुरी रहेको स्याङ्युगाउँ बगेर माछाखोला गाउँ बनेको स्थानीय टेकबहादुर गुरुङले बताए। 'पहिले राइजोखोला १७ दिन थुनिएर आएको पहिरो केरौंजाको पहरामा ठोक्किएर फर्केको माटोले माछाखोला बनेको हो।
अहिले पनि पहिरोले पुर्यो', उनले भने, 'अहिले यही गाउँलाई पहिरोले पुर्यो। यहाँ फेरि बस्ती बस्न सक्दैन।' माछाखोला मनास्लु पर्यटन पदमार्गमा पर्ने बजार हो। मनास्लु क्षेत्रमा पर्यटक बढ्न थालेपछि यहाँ एक दर्जनभन्दा बढी स्तरीय होटेल बनेका थिए। ती सबै संरचना भूकम्पले नष्ट गरेको छ।
त्यस्तै लापु-६ खानीगाउँ, त्यसभन्दा तलको खानीबेसी, लापु-६ भीरकुना, गुम्दा-५ लप्सीबोट, लापु-३ लापुबेसी, केरौंजा-१, २, ३ र ४ मा रहेको केरौंजा गाउँमा पनि बस्ती बसाल्न नसकिने गाउँलेले बताए। स्थानीय बासिन्दाका अनुसार उहिया-१, २ र ३ स्थित खोर्ला गाउँ र खोर्लाबेसीका दुई सय ३० घरधुरी पनि साबिककै ठाउँमा राख्न नसकिने अवस्था छ।
केरौंजा गाउँका चार सय ५० घरपरिवार र गुम्दा-५ लप्सीबोटका ८६ घरपरिवार गाउँ छाडेर अन्यत्रै सरेको स्थानीय टेकबहादुर गुरुङले बताए। लापुबेसीका ७० घर, खानीगाउँका ७० घर, खानीबेसीका ३५ घर, भीरकुनाका एक सय घर, खोर्लागाउँ र खोर्लाबेसीका दुई सय ११ घर पनि सार्नुपर्ने अवस्था छ। गाउँको जमिन चिरिएको स्थानीय डिलबहादुर गुरुङले बताए।
'खोर्लागाउँ र खोर्लाबेसीमा बस्ती राख्न लायक छैन', उनले भने, 'घर पनि भत्कियो, अन्यत्र बस्ने ठाउँ नपाएपछि गाउँका तासबहादुर गुरुङ सबै परिवार लिएर भारततिर जान लागेका छन्।' उनले भारत जानका लागि सदरमुकाम आएर शनिबार नाता प्रमाणितसमेत गरिसकेको बताए।
केरौंजा गाउँ यसअघि पनि पहिरोले दुई भागमा विभाजन गरेको थियो। अहिलेको भूकम्पले गाउँलाई चिराचिरा बनाएका कारण गाउँले विस्थापित हुनुपर्ने अवस्थामा पुगेका हुन्। शिवप्रसाद उप्रेती-अन्नपूर्ण :