गोरखा बजार जेठ १०,
हालै गएको विनाशकारी भूकम्पले जिल्लाभरका ८३ मध्ये ७५ वटा स्वास्थ्य संस्था क्षतिग्रस्त छन् ।
औषधि तथा अन्य उपचार सामग्रीसमेत पुरिएपछि उपचार सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।
उनका अनुसार कतिपय स्वास्थ्य चौकीले भने गाविसको भवनमा रहेर सेवा प्रवाह गरिरहेका छन् । कतिपय अझै खुल्न सकेका छैनन् । बाहिर जिल्लाबाट आएका स्वास्थ्यकर्मीको टोलीले शिविर सञ्चालन गरेर उपचार सेवा दिइरहेको उनले बताए ।
‘कुनै स्वास्थ्य चौकीले गाविसको भवनमा रहेर सेवा दिइरहेका छन्, कतिपयले पालभित्रबाट सेवा दिइरहेका छन्’ अधिकारीले भने, ‘अब तुरुन्तै घर बन्ने सम्भावना पनि छैन । अझै कतिसमय त्रिपालभित्रबाट स्वास्थ्य सेवा दिनुपर्ने हो थाहा छैन ।’ अहिलेसम्म क्षतिको विस्तृत विवरणसमेत आउन सकेको छैन ।
बारपाक गाविसभन्दा माथिका लाप्राक, गुम्दा, उहिया, लापु, केरौंजा, कासीगाउँ, सिर्दिबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो, सामागाउँ गाविसको अवस्था अझै नआएको उनले बताए ।
मोटरबाटो नभएका ती गाविसमा गोरेटो र घोडेटो बाटो समेत पहिरिएर औषधि ढुवानीमा समस्या भएको छ । काम विशेषले सदरमुकाम आएका स्वास्थ्यकर्मी फर्कन सक्ने अवस्था पनि नभएको उनले बताए । रासस: