नेपालमा महाभूकम्प यस कारण गयो

काठमाडौ, वैशाख २६,

महाभूकम्प र त्यसपछिका पराकम्पन नरोकिएपछि धेरैलाई धेरै जिज्ञासा छन् । अनेकखाले हल्ला र अड्कलबाजी त्यत्तिकै छन् । आखिर के भएर आयो महाभूकम्प ? अब के होला ? 

‘युरेसियन (तिब्बतियन) र इन्डियन प्लेटको कडा घर्षणको परिणाम हो यो’, भूगर्भशास्त्रका सहप्राध्यापक डा. तारानिधि भट्टराईले भने, ‘अहिले इन्डियन प्लेट तिब्बतियन प्लेटमुनि छिरेको छ । तर अघि जान सकेन । दुवै प्लेट आपसमा रगडिए । त्यसले चट्टानमा चाप पर्‍यो । त्यही कारण भूकम्प आयो ।’ 

पराकम्पन (पटक–पटक आउने साना झड्का) कै कारण नआत्तिन पनि विज्ञहरूले सल्लाह दिएका छन् । ‘ठूलो भूकम्पपछिको कम्पन राम्रो हो,’ भूगर्भविद् डा. कृष्ण देवकोटाले भने, ‘यसले अर्को ठूलो भूकम्प जाने खतरा कम गर्छ ।’

इन्डियन र तिब्बतियन प्लेट मिलेर हिमालयन शृंखला बनेको छ । भूगर्भशास्त्रीका अनुसार यो पूर्वको म्यानमारदेखि पश्चिमको अफगानिस्तानसम्म २४ सय किलोमिटर तल छ । तैपनि यो सबै इलाकामा भूकम्प जाँदैन । आउने ठाउँमा पनि ठूलो भूकम्प सय वर्षको हाराहारीमा मात्र आउने विगतले पुष्टि गर्दै आएको छ । 

भूगर्भविद्हरूका अनुसार इन्डियन प्लेट र युरेसियन प्लेट चलायमान छन् । हाल एसियामुनिको भागमा सक्रिय छन् । जापानमा छुट्टै प्लेट छ । त्यसले भूकम्प गराइरहन्छ । इन्डोएसिया र चिलीका प्लेट पनि फरक हुन् । कुनै एउटा प्लेटमा अर्को प्लेट छिरेपछि तलको भाग भित्र जान्छ, माथिल्लो भाग माथि उठ्छ । त्यही कारण भूकम्प जान्छ । भूगर्भशास्त्रका प्राध्यापक विशालनाथ उप्रेतीका अनुसार इन्डियन प्लेट मुनि गएपछि शक्ति सञ्चय भई थाम्न नसकेपछि विस्फोट भएको हो । 

भूकम्प मापन केन्द्रका प्रमुख भूगर्भविद् लोकविजय अधिकारीका अनुसार संसारको भूखण्डको दुई तिहाइ भागमा भूकम्पीय खतरा छ । एक तिहाइ मात्र सुरक्षित छ । ‘कुन ठाउँमा भूकम्प जान सक्छ भनेर अनुमान गर्न त सकिन्छ,’ उनले भने, ‘तर कहाँ, कत्रो र कतिखेर भनेर थाहा पाउन सकिन्न ।’ 

उनका अनुसार प्लेटहरू तीन प्रकारले चलायमान हुन्छन्— १. एउटा प्लेट अर्को प्लेटबाट टाढा जानु । २. एउटा प्लेट अर्को प्लेटको नजिक आउनु । ३. एउटा र अर्को प्लेट दायाँ–बायाँ सर्नु । 

नेपालको गत १२ गतेको महाभूकम्प दुई प्लेट आपसमा नजिक आएर गएको हो । इन्डियन प्लेट दक्षिण र युरेसियन उत्तरमा छ । यो प्रतिवर्ष करिब ५ सेन्टिमिटर मुनि छिर्छ । त्यसमध्ये दुई सेन्टिमिटर नेपालतिर पर्छ । 

‘पृथ्वीको सतहभन्दा सय किलोमिटर तलको भागलाई लिथोस्पेयर भनिन्छ । यसको माथिल्लो भाग त्यहाँको तापक्रमले गर्दा टुक्रा–टुक्रामा विभाजित हुन्छ,’ अधिकारीले भने, ‘चट्टान फुट्छन् । ती पड्केर तरंग पृथ्वीको सहतमा आउँछ । त्यो भूकम्प हुन्छ ।’ विज्ञहरूका अनुसार प्लेटको सक्रियता जारी नै रहे पनि एउटा ठूलो भूकम्प गएपछि अर्को आउन लामो समय लाग्न सक्छ । ‘कुनै पनि भूकम्प गएपछि पराकम्पन एक डेढ महिनासम्म हुन सक्छ । यो घट्दै जान्छ,’ उप्रेतीले भने, ‘अब ७.६ रेक्टरको वा ठूलोचाहिँ नआउन सक्छ ।’ 

एसियन डिजास्टर प्रिपरेसन सेन्टर, बैंककका भूगर्भविद् देवकोटाले शुक्रबार संसद्को विकास समितिमा भूकम्पबारे सांसदहरूलाई विशेष सामग्री प्रस्तुत गरे । ‘अब ठूलो भूकम्प नजान सक्छ’ भन्ने उनको कथनसँगै सांसदहरूको अनुहार उज्यालियो । 

‘ठूलो भूकम्पपछि धेरै ओटा पराकम्पन गइसके,’ उनले भने, ‘त्यसले गर्दा कोही पनि भयभीत हुनु आवश्यक छैन । स–साना पराकम्पनले ठूलो भूकम्प आउने खतरा हुँदैन ।’

यसैबीच विज्ञहरूका अनुसार महाभूकम्पले नुवाकोट ककनीको उचाइ दक्षिणतर्फ एक मिटर ८२ सेन्टिमिटर सरेको छ । एक मिटर २८ सेन्टिमिटर माथि उठेको छ । जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) बाट यसको पुष्टि भएको हो ।

स्रोत : भूगर्भविद् कृष्ण देवकोटाको प्रस्तुति

इकान्तिपुर ; जगदीश पाण्डे/अखण्ड भण्डारी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com