भारत, तातोहावाको कारण ४३० भन्दा बढीको मृत्यु

सोमबार जेठ ११,

भारतका दुई वटा सहरमा तातोहावाको कारण ४३० भन्दा बढी व्यक्तिको मृत्यु भएको समाचार छ । ती सहरमा तापक्रम ५० डिग्री पुगेको सोमबार प्राप्त एक समाचारमा जनाइएको छ । विगत केही दिनदेखि ती सहरमा यस्तो हावा चलेको थियो । 

सो तातो हावाको कारण अत्यन्त प्रभावित सहर तेलङ्गाना राज्यमा मारिएका व्यक्तिको तथ्याङ्क अझै सङ्कलन भइरहेको हुनाले अधिकारीहरुले सो सङ्ख्या बढ्न सक्ने बताएका छन् । मौसमविदहरुले पनि यो अवस्था अझै केही दिन रहनसक्ने भन्दै खतराको चेतावनीसमेत दिएका छन । 

भारतको राजधानी दिल्लीलगायत हालका दिनहरुमा भारतको ठूलो भागमा तातो हावाले प्रभावित बनाएको छ । केही दिनअघिबाट सुरु भएको तातो हावाको अवस्था पछिल्ला केही दिनयता आएर भने दक्षिणी क्षेत्रहरु तेलङ्गना र छिमेकमा पर्ने आन्ध्र प्रदेशमा सर्दै गएको बताइएको छ । 

पछिल्ला दिनहरुमा तेलङ्गना र आन्ध्रमा तापक्रम अनायास बढ्न थालेको बताइएको छ । यसका कारण सर्वसाधारणमा निकै ठूलो असर पर्ने भन्दै बिजुली आपूर्तिमा कुनै कठिनाइ उत्पन्न नगर्न सरकारलाई आग्रह गरिएको छ । आन्ध्र प्रदेशमा त्यहाँका मजदुर एवम् कामदारहरुलाई धेरै लामो समयसम्म दिउसोको घाममा काम नगर्न आग्रह गरिएको छ । सो प्रदेशमा मात्र २४६ जनाको ज्यान गएको छ । 

ती सबैको उक्त क्षेत्रमा बहेको तातो हावाका कारण नै ज्यान गएको पुष्टि स्वास्थ्य अधिकारीहरुले गरेका छन् । कतिपय मारिनेमा मजदुरहरु नै रहेका छन् । उनीहरु लामो समयसम्म दिउसोको कडा घाममा काम गरेकोले प्रभावित भएको पनि समाचारमा जनाइएको छ । स्वास्थ्य अधिकारीहरुले दिउँसको घाममा सकेसम्म यात्रा नगर्न, छाता ओढेर हिँड्न, पानी प्रशस्तमात्रामा पिउन र चिसो खाद्य पदार्थहरुको सेवन गर्न सुझाव दिएका छन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com