मदिरा बेच्न नदिएको भन्दै प्रहरी चौकीमा आक्रमण

संग्रामपुर, वैशाख २३,

सर्लाही समाचारदाता : राती मदिरा पसल खोलेर विक्री वितरण गर्न नदिएको एवं पिउन नदिएको भन्दै सर्लाहीको संग्रामपुर स्थित प्रहरी चौकीमा स्थानीय बासिन्दाले आक्रमण गरेका छन् । 

मंगलबार विहान ९ बजेतिर ४०÷५० जनाको संख्यामा आएका गाउँलेहरुको ढुंगामुढाबाट प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक राजकुमार महतो र अर्का एकजना प्रहरी हबल्दार घाईते भएको प्रहरी उपरीक्षक सुरेश बस्नेतले जानकारी दिए । टाउकोमा चोट लागेर गम्भिर घाईते भएका प्रनानी महतोलाई मंगलबार दिउँसै थप उपचारका लागि भरतपुर मेडिकल कलेज पठाईएको प्रहरी उपरीक्षक बस्नेतले बताए । 

सोमबार राती ११ बजेसम्म मदिरा विक्री वितरण गरिरहेको पसल बन्द गराएको आक्रोशमा गाउँलेहरुले मंगलबार विहान प्रहरी चौकी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘स्थानीय एक घरमा विवाहको कार्यक्रम रहेको र राती ११–१२ बजेसम्म बजारको पसलमा मदिरा विक्री वितरण भईरहेपछि चौकीको टोलीले पसल बन्द गराएको थियो ।’ 

प्रहरी उपरीक्षक बस्नेतले भने, ‘राती पसल बन्द गराएको आक्रोशमा गाउँलेहरुले चौकीमा ढुंगामुढा गर्दा दुईजना सुरक्षाकर्मी घाईते भएका छन् ।’ घाईते हबल्दारको भने जिल्ला अस्पताल मलंगवामा उपचार भईरहेको छ । लगतै संग्रामपुर स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट र नेपाल प्रहरीको टोलीले आक्रमण गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । 

राती पसल खोलेर मदिरा विक्री एवं पिउने काम भईरहेको पाईएपछि संग्रामपुर प्रहरी चौकीको टोलीले पसल बन्द गर्न भनेपछि राती नै केही युवा र प्रहरी टोलीबीच विवाद भएको थियो । विवादका क्रममा प्रहरीले युवाहरुलाई उनीहरुको घरसम्मै लखेटेको थियो । 

सोही आक्रोशमा मंगलबार विहानै आएको समूहले कुनै कुरै नगरी एक्कासी चौकी वरीपरी रहेको ढुंगा उठाएर प्रहार गर्न सुरु गरेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com