गजुरी (धादिङ) जेठ ७,
भूकम्पपीडित गर्भवती र सुत्केरी महिलालाई सहयात्री समाज र महिला मानवअधिकार रक्षकको जिल्ला सञ्जालले स्नेह केन्द्र सञ्चालन गरी स्याहार गर्ने व्यवस्था मिलाएको छ ।
विनाशकारी भूकम्पबाट पीडित भएका गर्भवती, सुत्केरी र विशेष अवस्थाका महिलालाई स्याहार गर्ने व्यवस्था मिलाएको हो । स्नेह केन्द्रमा मनोसामाजिक परामर्श सञ्चालन गर्ने, उनीहरुका लागि खाना र आवासको व्यवस्था मिलाइएको केन्द्र व्यवस्थापनमा खटिएकी राधिका सापकोटाले बताए ।
मूलपानी, त्रिपुरेश्वर, नीलकण्ठ, भूमेस्थान र नलाङमा यस्तो केन्द्र सञ्चालनमा ल्याइएको छ । महिला तथा बालबालिकालाई समेत परामर्श सञ्चालन गरी उनीहरुलाई सामान्य जनजीवन अँगाल्न सक्ने अवस्थामा ल्याउने गरी स्नेह केन्द्र सञ्चालन गरिएको हो ।
यसैगरी सहयात्री समाजले २४ घन्टे हटलाइन सेवा सञ्चालन गरेको छ । फोन नम्बर ०१० ५२०५४४ मा आफ्नो गुनासो, समस्या राख्न सकिने र समाधानको प्रयास गरिने समाजकी गायत्री खतिवडाले जानकारी दिए । रासस